गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि फेरि वाम गठनबन्धनकै सरकार बनाउन एमालेले प्रस्ताव गरेको छ।
एमाले सांसद धनञ्जय दवाडीले मुख्यमन्त्रीले राजीनामा दिएपछि अविश्वासको प्रस्ताव ल्याउन बनेको विपक्षी गठबन्धन भत्किएको दाबी गरे।
‘अब अविश्वासको प्रस्ताव ल्याउन बनेको अलोकतान्त्रिक गठबन्धन भत्किएको छ’, दवाडीले सेतोपाटीसँग भने, ‘अब नयाँ चिराबाट समिकरण बनाएर फेरि वाम सरकार बनाउनुपर्छ।’ मुख्यमन्त्री विरुद्ध ल्याएको अविश्वास प्रस्ताव राजीनामासँगै निष्क्रिय भएको भन्दै उनले अब नयाँ सरकार गठन गर्न सबै वामपन्थी दलहरु एकै ठाउँमा उभिनुपर्ने बताए।
एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले पनि अब नयाँ सरकार गठन गर्न सबै दलले आफ्नो पक्षमा बहुमत जुटाउन प्रयास गर्नुपर्ने बताए। ‘सरकार कसको नेतृत्वमा बनाउने छलफल गर्न सकिन्छ’, उनले भने, ‘अब जसले बहुमत जुटाउँछ, उसैले सरकार बनाउने हो।’
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा लागेका दलहरु माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले नयाँ गठबन्धनका लागि प्रयास थाल्नुपर्ने एमाले सांसदहरुको तर्क छ।
यता, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले भने अविश्वास प्रस्ताव ल्याउन बनाएको गठबन्धन तत्काल नभत्किने बताए । ‘प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विपक्षमा उभिने दलहरु एक ठाउँमा जुटेका हौं, यो तत्काल भत्किँदैन’, उनले भने, ‘प्रधानमन्त्रीकै कारण एमाले नेतृत्वको प्रदेश सरकार भत्किएको हो।’
अविश्वास प्रस्तावमा प्रस्तावित मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीकै नेतृत्वमा नयाँ सरकार गठन गर्न गृहकार्य शुरु भइसकेको चुमानले जानकारी दिए।
६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेको २७, काँग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सांसद छन् ।