गण्डकी प्रदेशका मुख्यमन्त्री पदबाट राजीनामा दिएका एमाले नेता पृथ्वीसुब्बा गुरूङले माओवादी केन्द्रको कडा आलोचना गरेका छन्।
माओवादी केन्द्रको समर्थनमा आफ्नो नेतृत्वमा सरकार बनेको र एमाले–माओवादी एकतापश्चात एउटै दल भएपछि पनि दलको नीति र नेतृत्व नमानेको गुरूङले टिप्पणी गरेका छन् ।
‘एउटै दल भएपछि दलको नीति र नेतृत्वको रक्षा गर्नुपर्दैन?’ गुरूङले वक्तव्यमा सोधेका छन्, ‘आफ्नै नेतृत्वको सरकार विरुद्धमा सडकदेखि सदनसम्म गरिएका अराजनीतिक गतिविधिलाई लोकतन्त्र भनेर छुट दिन सकिन्छ र?’
वक्तव्यमा उनले ठूलो दलको हैसियतले एमालेले सरकारको नेतृत्व गर्ने र कांग्रेस प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट भएको समेत बताएका छन्। तर जनअपेक्षा अनुसार व्यवहार नभएको उनको भनाई छ । ‘एउटै चुनावी मोर्चाबाट लड्ने, एउटै घोषणा पत्रबाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने प्रवृत्ति लोकतन्त्र, संघीयता र गणतन्त्रका लागि हानी पुर्याउने प्रवृत्ति हो,’ माओवादी प्रति लक्ष्य गर्दै उनले भनेका छन्।
‘स्थिरता र विकास विरोधी तत्वको अराजनीतिक चलखेलका कारण सहकार्य गरेका र एउटै घोषणा पत्र मार्फत निर्वाचनमा गएका दलबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतमा काम गर्ने वातावरण नभएको कारण राजीनामा दिनुपरेको’ उनले वक्तव्यमा उल्लेख गरेका छन्।
मुख्यमन्त्रीका रुपमा काम गर्दा उनले प्रदेशका जनताले महशुस गर्ने गरी काम गरेको समेत राजीनामा वक्तव्यमा दाबी गरेका छन् । प्रदेशले हासिल गरेका उपलब्धि लोभलाग्दा भएको भन्दै उनले ती उपलब्धि संघीयताका लागि कोशेढुङ्गा बनेको दाबी गरे ।
गुरुङले आफ्नो कार्यकालका गरेको भन्दै ५० बुँदे उपलब्धि प्रस्तुत गरेका छन्। प्रदेशको नामाकरण र राजधानी तोक्नेदेखि बजेट खर्च, विभिन्न संरचनाहरु निर्माण र विकास निर्माणका योजना उनले उपलब्धिका बुँदामा समेटेका छन्।
‘समृद्ध प्रदेश र सुखी नागरिक’ को आकांक्षा पुरा गर्न अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन सोच, प्रतिवद्धता, दिगो विकासका लक्ष्य, प्रदेशका नागरिकको विकासको चाहना पुरा गर्न विज्ञ र सरोकारवालाले दिएको सुझावमा आधारित भएर उक्त उपलब्धि हासिल गरेको गुरुङले दाबी गरेका छन्।
(हेर्नुहोस्, वक्तव्यको पूर्ण पाठ)