प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने अघिल्लो दिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई पत्र लेखेका छन् ।
विश्वासको मत लिने दिन नजिकिएसँगै एमालेमा बढेको विवाद समाधानभन्दा थप जटिल बन्दै गएको अवस्थामा एमाले वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पत्र पठाएका हुन्।
पटक-पटकका छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपालले सामूहिक राजीनामाको चेतावनीसहित आइतबार बेलुका ओलीलाई पत्र पठाएका हुन्।
यसअघि माधव समूहका योगेश भट्टराईले आफूहरूले ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको बताएका थिए ।
नेता नेपालले लेखेको पत्रमा सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पुरानै अवस्थामा पुर्याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनुपर्ने सर्त राखेका छन्।
त्यसयता ओलीले एमालेमा गरेका केन्द्रीय कमिटी विघटन तथा नेताहरूलाई गरिएको कारबाही र सांसदहरूलाई सोधिएको स्पष्टीकरण लगायत निर्णय खारेज गर्न माग गरेका छन् ।
पत्रमा छ बुँदे सर्त राख्दै उनले ती सर्त पूरा नभए सांसद पदबाट सामूहिक राजीनामा दिनेसम्मको चेतावनी दिएका छन्।
पत्रमा उल्लिखित ६ सर्त :
- १) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनु पूर्वको अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसङ्गठन र पेसागत गठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने।
- २) नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने ।
- ३) पार्टीलाई विधि, विधान र पद्धति अनुरूप सञ्चालन गर्ने ।
- ४) पार्टीमा उत्पन्न अन्तर्विरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एक अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।
- ५) सरकार र पार्टीको बिचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।
- ६) उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने ।
‘हाम्रा जायज आवाजलाई बेवास्ता गरियो भने तपाईँ पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ,’ उनले भनेका छन्, ‘त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ। यसका लागि पनि जिम्मेवार तपाईँ नै हुनुहुनेछ।’