गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको जनमोर्चाले हस्ताक्षर बुझाउन आनाकानी गरेको छ। पार्टीको केन्द्रीय कमिटीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने र कांग्रेस नेतृत्वमा बन्ने नयाँ सरकारलाई समर्थन गर्ने निर्णय गरेर पठाएको थियो। पार्टीले पठाएको निर्देशनमा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने भनिए पनि जनमोर्चा भने सरकारमा सहभागी नहुने निर्णय गरेको थियो।
अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री गुरूङले पदबाट राजीनामा दिएपछि परिस्थिति फेरिएको जनमोर्चाका सांसदहरूले बताएका छन्।
‘मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ स्थिति आइहाल्यो’, जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले भने, ‘यसमा मसिनो गरी छलफल गर्न पाएको छैन, छलफल गरेर निर्णय गर्छौं।’
संसदको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरूद्ध टेबुल भएको अविश्वास प्रस्तावमा सोमबार मतदान गर्ने कार्यसूची थियो। उक्त कार्यसूचीमा अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्ने पार्टी निर्देशन मान्ने जनमोर्चाका सांसदहरूले बताउँदै आएका थिए।
वैशाख १५ गतेको कार्यसूचीमा समेत अविश्वास प्रस्ताव मतदानमा लैजाने उल्लेख थियो। सोही दिन जनमोर्चा सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सदन कार्यसूचीमा अघि बढेन, अनिश्चितकालका लागि स्थगित हुन पुग्यो। जनमोर्चाका सचेतक पियारी थापाले संसद सचिवालयमा आफ्ना सांसद शाही बेपत्ता भएको भन्दै संसद स्थगित गरेर शाहीको जीवनरक्षा र सार्वजनिक गर्न माग राख्दै निवेदन दिएकी थिइन्।
सोही निवेदनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक कार्यसूचीअनुसार अघि नबढाई अनिश्चितकालका लागि स्थगित गरेका थिए। सम्पर्कविहीन बनेका सांसद शाही सोही दिन बेलुका कोरोनाभाइरस संक्रमण भएको भन्दै पोखराको चरक अस्पतालको आइसियुमा भेटिएका थिए।
जनमोर्चा सचेतक थापाले संसद सचिवालयमा दिएको निवेदनप्रति संसदीय दलका नेता कृष्ण थापा भने असन्तुष्ट छन्। संसद बैठक सुचारू गर्न सभामुख अधिकारीले बोलाएको बैठकमा समेत थापाले संसद अनिश्चितकालका लागि स्थगित गरेको घटनाको आलोचना गरेका थिए।
उक्त घटनाक्रममा मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा बहुमत जुट्न नदिन जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाही लागेका थिए। जनमोर्चाकै अर्का सांसद थापा भने विपक्षी गठबन्धनलाई सघाउन कम्मर कसेर लागेकी थिइन्।
अहिले नयाँ सरकार गठन गर्न पनि यी दुई सांसद थापा र शाही सकेसम्म कांग्रेस नेतृत्वलाई असहयोग गर्ने रणनीतिमा छन्। यद्यपी, उनीहरूको दल जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन जनाउने तर सरकारमा सहभागी नहुने निर्देशन जारी गरिसकेका छन्।
जनमोर्चा संसदीय दलका नेता थापाले मुख्यमन्त्रीबाट गुरूङले राजीनामा दिएसँगै राजनीतिको नयाँ कोर्स सुरू भएको बताएका छन्। कांग्रेस नेतृत्वमा सरकार बनाउन अहिलेसम्म हस्ताक्षर नदिएका जनमोर्चाले मंगलबारसम्म बैठक बसेर निर्णय गर्ने थापाले बताए।
संसद चलिरहेका बेला सम्पर्कविहीन बनेका सांसद खिमविक्रम शाही ९ दिन अस्पताल बसेपछि अहिले कोरोनामुक्त भएका छन्। कोरोनामुक्त भएपछि सांसद शाहीले आफू बिरामी हुँदासमेत कांग्रेसले गलत अफवाह फैलाएको भन्दै आक्रोश पोखेका थिए।
सांसद पियारी थापा कोरोना संक्रमित भएर अहिले होम आइसोलेसनमा छिन्। कोरोनाका सामान्य लक्षण देखिएको र अहिले निको हुँदै गएको थापाले बताइन्। हस्ताक्षरका विषयमा साथीहरूले तयारी गरिरहेको भन्दै उनले आफ्नो हस्ताक्षर लिन आइसोलेसनमै आउने बताइन्।
जनमोर्चाको हस्ताक्षर पर्खेर बसेको कांग्रेस नेतृत्वको गठबन्धन सोमबार संसदमा हुने भनिएको मतदानमा आफ्ना सांसदलाई फ्लोर क्रस गर्न नदिन पोखराकै एक रिसोर्टमा राखेका थिए। मुख्यमन्त्रीबाट गुरूङले राजीनामा दिएपछि नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका २ गरी २९ जना सांसदले हस्ताक्षर गरेर राखेका छन्।
अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्ताव गरिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन अब ३ मत आवश्यक छ। उक्त मत राष्ट्रिय जनमोर्चाका ३ जना सांसदले दिनुपर्छ। यता, नेकपा एमालेको २७ र स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेकै पक्षमा पनि २८ मत छ। उसको नेतृत्वमा सरकार बनाउनुपर्यो भने पनि जनमोर्चाकै ३ सांसद अवश्यक पर्छ।
सत्ता राजनीतिमा निर्णायक भूमिकामा रहेको जनमोर्चाका २ सांसद थापा र शाहीले कांग्रेस नेतृत्वलाई समर्थन जनाउन भने आनाकानी गरिरहेका छन्। सांसद पियारी थापा भने कांग्रेस गठबन्धनमै सरकार बन्नुपर्ने पक्षमा छिन्।
जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले कांग्रेस गठबन्धनले कालो कर्तुत गर्ने भन्दै त्यही भएर रिसोर्टमा बस्नु परेको आरोपसमेत लगाए। कांग्रेसको पक्षमा सजिलै हस्ताक्षर नदिने बताउँदै थापाले भने, ‘जसले कालो कर्तुत गर्छ त्यसलाई डर लाग्छ। एक पटक मर्ने हो हेर्नुस्, हामी रिसोर्टमा पनि बस्दैनौं। सरकार बनाउने अरू, मन्त्री बन्ने अरू, हामी खोज्दै गएर किन सही दिने? हामी गएर उहाँहरूलाई हस्ताक्षर बुझाउँदैनौं। जसलाई तिर्खा लाग्छ, उही खोला धाउने हो, उहाँहरू नै हामीकहाँ आउनुपर्छ।’
यता, जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट विगत केहीदिन यता पोखरामै छन्। काँग्रेस नेतृत्वमा सरकार बनाउन सघाउन आएका भट्टले आफ्ना सांसदको हस्ताक्षर लगेर बुझाउने कांग्रेस नेतृत्वलाई आश्वासन दिएका छन्। जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले पनि गण्डकीमा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन दिने पार्टी निर्णय कायमै रहेको बताइरहेका छन्।
यता, जनमोर्चा संसदीय दलका नेता थापाले भने मुटुमा लात्ती राखेर कांग्रेस बोक्नु पर्ने अवस्था आइपरेको बताए। उनले सेतोपाटीसँग भने, ‘हामीलाई कांग्रेस बोक भनेर बुढाहरूले भने। कांग्रेस बोक्न असाध्यै गाह्रा भा’छ हेर्नुस्। मुटुमा लात्ती राखेर कांग्रेस बोक्नुपर्ने भा’छ। भित्रभित्र मन मानेको छैन, कुरा त्यत्ति हो।’