राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले ह्वीपबारे आफूलाई जानकारी नभएको बताएका छन्।
‘कसको अध्यक्षतामा बैठक बसेर ह्वीप जारी गरेको हो, जारी गर्नेलाई सोध्नुस्,’ थापाले सेतोपाटीलाई भने, ‘मलाई थाहा छैन।’
जनमोर्चा गण्डकीका सचेतक पियारी थापाले आइतबारको मिति राखेर सोमबार दलका नेता थापा र अर्का सांसद खिमविक्रम शाहीलाई ह्वीप जारी गरेकी थिइन्। उनले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री समर्थमा हस्ताक्षर गर्न निर्देशन दिएकी थिइन्।
उनले निर्देशनमा ह्वीप पत्र फेसबुक, म्यासेन्जर, इमेल, संसदीय दल कार्यालयको सूचना पाटीमा टाँसिएको र हुलाकद्वारा सांसद थापा र शाहीको ठेगानामा पठाएको उल्लेख गरेकी छन्। तर अहिलेसम्म ह्विप पत्र आफूले नपाएको नेता थापाले बताए।
‘उहाँ (सचेतक पियारी थापा) त कोरोना लागेर आइसोलेसनमा बसेको मान्छे, कसरी ह्वीप जारी गर्नुभयो?’ थापाले भने, ‘भोलिसम्म विचार गर्छौँ।’ सचेतकले संसदीय दलका नेतालाई निर्देशन दिएको भन्दै थापाले असन्तुष्टि जनाए।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएका थिए। गुरुङको राजीनामा लगत्तै प्रदेश प्रमुख सीताकुमारी पौडेलले आइतबार नै ३ दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आह्वान गरेकी थिइन्।
प्रदेश प्रमुख पौडेलले दिएको समयसीमा मंगलबार सकिँदैछ। उता, विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्ना २८ जना सांसदको हस्ताक्षर संकलन गरेर राखेका छन्। सरकार गठन गर्न उनीहरुले जनमोर्चाका ३ सांसदको हस्ताक्षर पर्खेर बसेका छन्।
यता, ह्वीपबारे जनमोर्चा सचेतक पियारी थापाले कांग्रेस नेता नेपालीको पक्षमा मत दिन वैशाख १२ गते नै निर्णय भइसकेको बताइन् । ‘विपक्षी गठबन्धन सरकारलाई समर्थन गर्न ह्वीप जारी गर्ने निर्णय पहिल्यै भएको हो’, उनले भनिन्, ‘मैले ह्वीप जारी गरेर त्यही निर्णय मात्रै कार्यान्वयन गरेकी हुँ ।’
दलका नेता कृष्ण थापा र सांसद शाहीले ह्वीप मान्लान् त भन्ने प्रश्नमा सचेतक थापाले भनिन्, ‘त्यो त उहाँहरुको कुरा हो, मैले मेरो बारेमा भन्न सक्छु, उहाँहरुको बारेमा सक्दिनँ।’