राष्ट्रिय जनमोर्चाका एक सांसद तयार नहुँदा गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना कमजोर हुँदै गएको छ।
जनमोर्चा संसदीय दलका नेतासमेत रहेका सांसद कृष्ण थापा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा सहमत देखिएका छैनन्।
थापाले मुख्यमन्त्रीमा नेपालीलाई चयन गर्ने दाबी पत्रमा हस्ताक्षर गर्न मंगलबार अपरान्हसम्म मानेका छैनन्।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता दीपक कोइरालाले जनमोर्चाका सांसद थापा तयार नहुँदा नयाँ सरकार गठन गर्ने दाबी पत्रमा हस्ताक्षर हुन नसकेको बताउँछन्।
‘जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर गर्दिनँ भन्नुभयो, हामी अझै छलफल गर्दैछौं। हेरौं भोलिसम्म के हुन्छ’, कोइरालाले सेतोपाटीसँग भने।
कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले नेपालीलाई मुख्यमन्त्री बनाउने गरी मंगलबार प्रदेश प्रमुखलाई दाबीपत्र पेश गर्ने योजना बनाएको थियो।
जनमोर्चाका ३ सांसदमध्ये खिमबिक्रम शाही र पियारी थापाले भने नेपालीलाई मुख्यमन्त्री बनाउने दाबी पत्रमा हस्ताक्षर गरिसकेका छन्।
गण्डकी प्रदेशमा मुख्यमन्त्री चयन गर्न आवश्यक बहुमत ३१ पुर्याउन जनमोर्चाका ३ नै जना सांसदको समर्थन आवश्यक पर्छ।
कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन बनाएका छन्।
जनमोर्चाका केन्द्रीय समितिले गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न निर्देशन दिएको थियो। पार्टी निर्देशन विपरीत संसदीय दलका नेता थापाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न नसक्ने जानकारी गराएको माओवादी सांसद कोइरालाले बताए।
गण्डकी प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र १ गरी ६० सदस्य छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षी गठबन्धनले सरकार बनाउन बहुमत जुटाउने प्रयास जारी राखेको छ।
प्रदेशमा सरकार गठन गर्न प्रदेश सभामा ३१ जना सांसदको समर्थन चाहिन्छ।
बुधबारसम्म पनि जनमोर्चा नेता थापाले कांग्रेस नेतृत्वलाई समर्थन गरेनन् भने ठूलो दलका नेताका हैसियतले मुख्यमन्त्रीमा एमाले नेता पृथ्वीसुब्बा गुरुङ नै फेरि नियुक्त हुनेछन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको सरकार बनाउन दिएको समयसीमा बुधबार सकिँदैछ।