राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको संसदीय दलका नेताबाट कृष्ण थापालाई हटाएको छ।
जनमोर्चा महासचिव मनोज भट्टले संसद सचिवालयलाई उक्त जानकारी दिएका हुन्।
गत वैशाख १० गते थापासहित बसेको जनमोर्चा केन्द्रीय समितिको बैठक र १२ गते दलका नेताको हैसियतमा थापाकै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय पालना नगरेका कारण दलको नेताबाट हटाएको भट्टले जनाएका छन्।
उक्त बैठकले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउने निर्णय गरेको थियो। पार्टी निर्णय र निर्देशन विपरित काम गरेको भन्दै जनमोर्चाले थापालाई बुधबार स्पष्टीकरण सोधेको थियो।
थापाले स्पष्टीकरण दिन अटेरी गरेको जनमोर्चा केन्द्रीय सचिवालयको बुधबार नै बसेको जुम बैठकबाट तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको महासचिव भट्टले संसद सचिवालयमा दर्ता गरेको पत्रमा उल्लेख छ।
थापालाई संसदीय दलको नेताबाट हटाए पनि अर्को नेता भने चयन नगरेको जनमोर्चाले जनाएको छ।
जनमोर्चाले थापालाई दलको नेताबाट हटाए पनि सांसद पदबाट नहटाएकाले कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई तत्काल बहुमत पुग्दैन। थापालाई सांसद सदस्य नरहने गरी कारवाही गर्दा मात्रै विपक्षी गठबन्धनलाई बहुमत पुग्छ।
यता, सांसद थापाले भने आफूलाई स्पष्टीकरण सोधेको विषयमा जानकारी नभएको बताए। बुधबार बागलुङको जैमिनीस्थित घरमा पुगेको भन्दै उनले स्पष्टीकरण सोधिएको विषय पार्टीले जानकारी नै नगराएको बताए।