गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकारको दाबी गर्न चार दलका नेताहरू प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यालयमा पुगेका छन्।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन भन्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू प्रदेश प्रमुखकोमा पुगेका हुन्।
नेपालीको नेतृत्वमा नयाँ सरकार निर्माणको दाबी गर्न चारै दलका नेताहरू प्रदेश प्रमुखकोमा आइपुगेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए।
'हामी चारै दलका नेता प्रदेश प्रमुखकोमा नयाँ सरकार दाबीका लागि आएका छौं। अहिले सरकार बनाउने बेला समर्थन गर्ने दलको पत्र बुझाए हुन्छ,' उनले भने, 'कांग्रेससहित सरकार बनाउन अरू तीन दलको समर्थनको पत्र बोकेर हामी यहाँ आएका हौं।'
गण्डकीमा सरकार बनाउन ३१ मत जरूरी हुन्छ। यी चार दल मिले ३१ मत पुग्छ। तर जनमोर्चाका एक सांसद कृष्ण थापाले कांग्रेस सरकालाई समर्थन नदिने भनेका थिए।
पार्टीले कांग्रेसलाई समर्थन गर्ने निर्णय नमानेपछि संसदीय दलका नेता रहेका थापालाई जनमोर्चाले नेताबाट हटाएको छ। तर उनी सांसद भने अझै छन्। उनले मत दिएनन् भने नयाँ सरकारलाई चाहिने ३१ मत पुग्दैन।
तर सरकार बनाउन भने सांसदको हस्ताक्षर नचाहिने समर्थन गर्ने पार्टी निर्णयको पत्र भए पुग्ने माओवादी नेता चुमानले बताए।
'नयाँ सरकार गठनमा पार्टीले समर्थन गरेको पत्र भए पुग्छ। सांसदको हस्ताक्षर चाँहिदैन। पछि विश्वासको मत लिने बेला ३१ मत पुर्याउनु पर्ने हो,' उनले भने।
केही दिन अघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएका थिए।
त्यसपछि प्रदेश प्रमुख पौडेलले बुधवार ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन आह्वान गरेकी थिइन्।
यसैबीच जनमोर्चाका सांसद कृष्णबहादुर थापाले आफूलाई गैरकानूनी कारवाही गरेको बताएका छन्।
आफू कामको सिलसिलामा बागलुङमा रहेको उनले बताए। सरकार निर्माणमा आफू तटस्थ रहेको उल्लेख गर्दै उनले प्रदेश प्रमुखलाई पत्र लेखेका छन्।