नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न मागसहित चार दलले गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पत्र दर्ता गरेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले आज अपरान्ह बहुमतको दावीसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पत्र दर्ता गरेका हुन्।
कांग्रेस संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्री बनाउन भन्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू प्रदेश प्रमुखकोमा पुगेका थिए।
गण्डकीमा सरकार बनाउन ३१ मत जरूरी हुन्छ। यी चार दल मिले ३१ मत पुग्छ। तर जनमोर्चाका एक सांसद कृष्ण थापाले कांग्रेस सरकारलाई समर्थन नदिने भनेका थिए।
पार्टीले कांग्रेसलाई समर्थन गर्ने निर्णय नमानेपछि संसदीय दलका नेताबाट थापालाई जनमोर्चाले हटाएको थियो। तर उनले आफू तटस्थ बस्ने बताएका छन्।
आफूहरूले नयाँ सरकार गठनको दाबी गर्दै समर्थनको पत्र बुझाएको कांग्रेसका मुख्यमन्त्री उमेदवार कृष्णचन्द्र नेपालीले बताए।
'संसदका पाँच दलमध्ये हामीसँग चारदलको समर्थन छ। बहुमत देखाउने प्रदेश प्रमुखकोमा होइन संसदमा हो जो हामीले एक महिनाभित्र विश्वासकोमत लिने संवैधानकि व्यवस्था अनुसार बहुमत सिद्ध गर्छौं,' उनले भने, 'प्रदेश प्रमुखले मलाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्छ।'