गण्डकी प्रदेशका पुनःनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा राजनीतिक अस्थिरताको अन्त्य भएको दाबी गरेका छन्। मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अस्थिरताको अन्त्य भएको बताएका हुन्।
‘बिनाकारण, बिनाआधार गण्डकी प्रदेश सरकार हटाउनका लागि अस्थिरताको खेल खेलिरा’थ्यो, अब अस्थिरताको अन्त्य भा’छ,’ उनले भने।
गण्डकी प्रदेशको विकास, समृद्धि र सुशासनको निरन्तरताको काम फेरि कार्यान्वयनमा आएको उनले दाबी गरे।
विपक्षी दलले बहुमत जुटाउन दिएको समयसीमाभित्र बहुमत जुटाउन नसकेको उनको टिप्पणी छ। उनले भने, ‘म डेमोक्रेसीमा विश्वास गर्ने मान्छे। ७२ घण्टा उहाँहरूलाई समय दिएको हुँ। उहाँहरूले बहुमत छ भनेर दाबा गरेर अविश्वासको प्रस्ताव राख्नुभएको थियो। मैले राजीनामा दिएर उहाँहरूलाई सबैलाई पारदर्शी तरिकाले आउनका लागि मौका दिएको हो।’
यसअघि आफू मुख्यमन्त्री नियुक्त हुँदा संविधानको धारा १६८ को उपधारा २ अनुसार भएकाले अहिले उपधारा ३ अनुसार सिधै पुनःनियुक्त हुन सक्ने भए पनि सबै प्रक्रिया पूरा गरेको उनको दाबी छ। ‘एउटा स्कुल अफ थटले के भन्छ भने सिधै उपधारा ३ अनुसार पनि सरकार गठन गर्न सक्छ। धेरै कानुनविद्हरुको राय यो छ। गण्डकी सरकारले त्यो कदम पो चाल्छ कि भन्ने धेरैलाई थियो। तर, किन लुकेर भाग्नुपर्यो भनेर हामीले सबै प्रक्रिया पूरा गरेको हो,’ उनले भने।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको संसदीय दलका नेताको हैसियतमा पुनः गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने गरी कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी प्रदेश प्रमुख पौडेललाई मुख्यमन्त्री दाबी गर्न पुगेका थिए।
जनमोर्चाका सांसदद्वय कृष्ण थापा र खिमविक्रम शाहीले कांग्रेस नेतृत्वको गठबन्धनलाई आफूहरूको समर्थन नभएको भन्दै विज्ञप्ति निकालेका थिए। मुख्यमन्त्रीमा पुनः नियुक्त भएका गुरुङले अबको एक महिनाभित्र विश्वासको मत लिनुपर्छ।
बहुमत कसरी जुटाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हेर्नुहोला नि, अहिले नै किन भन्ने?’