नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारको दाबी गर्ने सम्भावना न्युन भएको नेताहरूलाई बताएका छन्।
आफ्नै निवास बुढानिलकण्ठमा आज पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएर देउवाले बहुमत पुग्ने अवस्था नदेखिएकोले सरकारको दाबी नगर्ने निष्कर्षमा आफू पुगेको बिफ्रिङ गरेका छन्।
‘माधव नेपालले निर्णय गर्न सकेनन्। जसपा पनि एकजुट भएर आएन,’ देउवाले गरेको बिफ्रिङबारे कांग्रेसका एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘बहुमत नै नपुग्ने अवस्थामा सरकारको दाबी गर्दै राष्ट्रपतिसमक्ष गएर काम छैन, यो झन्झटमा नलागौं।’
एमाले नेता नेपाल पक्षका कम्तिमा २० बढी सांसदले राजीनामा दिए नयाँ सरकार बनाउन बहुमत पुग्ने अपेक्षामा कांग्रेस थियो।
गत सोमबार नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएका थिए।
त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दलहरूलाई समय दिएकी थिइन्।
आज बेलुकी ९ बजे उक्त समय सकिँदैछ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएका एमाले नेता नेपाल पक्षका २८ सांसदको निर्णय कुरेर बसेका देउवाले आफूलाई सहयोग गर्ने संकेत नपाएपछि नयाँ सरकारको दाबी नगर्ने निकर्ष सुनाएका हुन्।
नेता नेपालले प्रधानमन्त्री ओलीसँग आज चपलीहाइटस्थित रामेश्वर थापाको घरमा झन्डै चार घण्टा छलफल गरेका थिए। त्यहाँबाट निस्कँदै नेता नेपालले दुई/चार दिनका लागि राजीनामा टरेको र पार्टीभित्रका विवाद हल गर्न कार्यदल बनाएर जाने सुनाएका थिए।
आजै देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए। ठाकुरले जसपाको भर परेर सरकारको दाबी नगर्न देउवालाई सुझाएका थिए। लगत्तै ठाकुर पक्षले आफ्ना सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको थियो।
प्रतिनिधि सभामा ४८ सांसद रहेको नेकपा माओवादी केन्द्रले देउवालाई नयाँ सरकार बनाउन समर्थन गरेको थियो।
दुई निलम्बितसहित ६३ सांसद रहेको कांग्रेसले दुई निलम्बितसहित ३४ सांसद भएको जसपाको महन्थ ठाकुर पक्षको सहयोग नपाउने निश्चित भएपछि सरकारको दाबी नगर्ने मनस्थितिमा पुगेको हो।
जसपाका ठाकुर पक्षमा कम्तिमा १५ सांसद देखिएका छन्।
यसो हुँदा देउवालाई प्रतिनिधि सभामा बहुमत (१३६) सांसद पुर्याउन गाह्रो हुने देखिएको थियो। प्रधानमन्त्री ओलीालई विश्वासको मतको प्रस्तावको विपक्षमा गत सोमबार जम्मा एक सय २४ मत आएको थियो।
बहुमत नपुग्ने प्रष्ट अवस्था देखिएकोले कांग्रेसले सरकारको दाबी नगर्ने निश्कर्ष निकालेको हो।
पदाधिकारी बैठकपछि सेतोपाटीसँग कुराकानी गर्दै सहमहामन्त्री प्रकाशशरण महतले पनि बहुमत पुग्ने अवस्था नरहेको बताए।
‘ओलीजीको विपक्षमा जान जसपाका महन्थजीहरू तयार हुनु भएन, उपेन्द्रजीहरू मात्रै तयार भएर भएन,’ महतले भने, ‘हामीले त बहुमतको सरकार बनाउन पहल गरेकै हो।’
साथै जसपाका केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव सभापति देउवालाई भेट्न अहिले बुढानिलकण्ठ पुग्दैछन्।