मन्त्री नियुक्त गरिसकेका तीन वटा मन्त्रालय कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफैसँग राखेका छन्। नियुक्त भएका मन्त्रीहरुको सपथ ग्रहण स्थगित गरी मुख्यमन्त्रीले आफैसँग राखेका हुन्।
बुधबार मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र जलस्रोत मन्त्रालयमा मन्त्री नियुक्त गरेका थिए। बिहीबार बिहान ११ बजे तोकिएको सपथग्रहण कार्यक्रम मुख्यमन्त्रीले एक्कासी स्थगन गरेका थिए।
मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार मन्त्रालय फूटाएर ८ वटा मन्त्रालय बनाई मन्त्रिपरिषद् विस्तार गरेका थिए। उनले तीनवटै मन्त्रालयमा माओवादीका मन्त्री बनाएका थिए।
जसमा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा विन्दमान विष्ट, आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र भौतिक पूर्वाधार मन्त्रालय फूटाएर बनाइएको जलस्रोत मन्त्रालयमा सिता नेपालीलाई नियुक्त गरेका थिए।
सत्ता साझेदार दलसँग कुरा नमिल्दा मुख्यमन्त्रीले मन्त्री नियुक्त गरिसकेका मन्त्रालय समेत आफैसँग राख्नुपरेको हो। मुख्यमन्त्री निकट स्रोतका अनुसार सत्ता साझेदार दल नेपाली कांग्रेसले दावी गरेका मन्त्रालयहरुमा कुरा नमिलेपछि नियुुक्त भएका माओवादी मन्त्रीको सपथ रोकिएको हो।
‘राजनीतिमा धेरै कुरा मिलाउनुपर्ने हुन्छ, अहिले पनि सत्ता साझेदार दललाई मिलाएर लैजाने विषयमा छलफल भइरहेको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘कुरा मिल्यो भने सँगै सपथग्रहण गराउने भनेर मुख्यमन्त्री ज्यूले आफैंसँग मन्त्रालयहरु राख्नुभएको हो।’
मुख्यमन्त्री शाहीले मन्त्रालय फूटाएर मन्त्री नियुक्त गर्दासम्म सामाजिक विकास मन्त्रालय खाली छोडेका थिए। खाली रहेको यो मन्त्रालय सत्ता साझेदार दल कांग्रेसलाई दिने कुरा थियो।
नेपाली कांग्रेसले भने तत्काल सरकारमा नजाने बताएको छ। ‘अहिले कोेरोना महामारीका बेला मन्त्रालय फुटाएर जानु उपयुक्त होइन भन्ने हाम्रो ठम्याइ हो, हामीले कुनै मन्त्रालय दावी गर्ने कुरा छैन,’ नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवन शाहीले भने, ‘सरकारमा जाने विषयमा कुनै छलफल पनि भएको छैन। उहाँहरुले आउनुपर्यो भन्नु भएको छ। तर हामी तत्काल सरकारमा जाने सोचमा छैनौं।’
सर्वोच्च अदालतको फैसलासँगै चैत २४ गते एमालेका तीन जना मन्त्रीले राजीनामा दिएका थिए। सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका थिए।
पछि चैत ३ गतेको संसद्मा मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन चार जनाले फ्लोर क्रस गरेका थिए। फ्लोर क्रस गर्नेमा मन्त्री पदबाट राजीनामा दिएका ज्वाला र बुढा पनि हुन्। उनीहरुसँगै अम्मर थापा र कुर्मराज शाहीले पनि फ्लोर क्रस गरेका थिए।
फ्लोर क्रस गरेका बुढालाई मुख्यमन्त्रीले भोलिपल्ट सोही मन्त्रालयमा नियुक्त गरेका थिए। यस्तै थापालाई भौतिक पूर्वाधार र शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाएका थिए।
आफूलाई विश्वासको मत दिलाउन साथ दिएका सांसदलाई मन्त्री बनाउन यसअघिकी कृषि मन्त्री विमला केसीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको थियो।
बुधवार बिहान आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र कृषि पछि अर्थ मन्त्रालयको जिम्मेवारी पाएकी विमला केसीलाई मुख्यमन्त्रीले राजीनामा दिन लगाएका थिए। उनीहरु दुवैजना माओवादी केन्द्रका हुन्।