नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यमाथि कारवाही गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारबाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई जानकारी दिए।
खनाल, नेपाल, रावलसहित ११ जना पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको ती सदस्यले जानकारी दिए।
बैठकले झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो।
यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
यस्तै बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ।
आज रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।
विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका थिए।
यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढाले हस्ताक्षर गरेका थिएनन्। यस्तै अघिल्लो पटक हस्ताक्षर नगरेकी कलिला खातुनले भने यसपालि हस्ताक्षर गरेकी छन्।
आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालत गएका थिए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह), राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हालेका हुन्।
रिटमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका थिए।
यसअघि गत शुक्रबार विपक्षी गठबन्धनका १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए।
क्र.सं. | नयाँ हस्ताक्षर | यसअघिका हस्ताक्षर | कैफियत |
१ | कल्याणी खड्का | कल्याणी खड्का | |
२ | कृष्णलाल महर्जन | कृष्णलाल महर्जन | |
३ | घनश्याम भुसाल | घनश्याम भुसाल | |
४ | जीवनराम श्रेष्ठ | जीवनराम श्रेष्ठ | |
५ | झपट रावल | झपट रावल | |
६ | झलनाथ खनाल | झलनाथ खनाल | |
७ | दीपकप्रकाश भट्ट | दीपकप्रकाश भट्ट | |
८ | नारायण खतिवडा | नारायण खतिवडा | |
९ | निरादेवी जैरू | निरादेवी जैरु | |
१० | पुष्पाकुमारी कर्ण कायस्थ | पुष्पाकुमारी कर्ण कायस्थ | |
११ | भवानी प्रसाद खापुङ | भवानी प्रसाद खापुङ | |
१२ | भीमबहादुर रावल | भीमबहादुर रावल | |
१३ | माधवकुमार नेपाल | माधवकुमार नेपाल | |
१४ | मुकुन्द न्यौपाने | मुकुन्द न्यौपाने | |
१५ | मेटमणि चौधरी | मेटमणि चौधरी | |
१६ | यज्ञराज सुनुवार | यज्ञराज सुनुवार | |
१७ | रामकुमारी झाँक्री | रामकुमारी झाँक्री | |
१८ | लक्ष्मीकुमारी चौधरी | लक्ष्मीकुमारी चौधरी | |
१९ | विरोध खतिवडा | विरोध खतिवडा | |
२० | सरलाकुमारी यादव | सरलाकुमारी यादव | |
२१ | सुरेन्द्र पाण्डे | सुरेन्द्र पाण्डे | |
२२ | सोमप्रसाद पाण्डे | सोमप्रसाद पाण्डे | |
२३ | कलिला खातुन | | नयाँ थपिएको |
२४ | | गणेश पहाडी | हस्ताक्षर नगर्ने |
२५ | | गोकर्ण विष्ट | हस्ताक्षर नगर्ने |
२६ | | पवित्रा निरौला खरेल | हस्ताक्षर नगर्ने |
२७ | | राजबहादुर बुढा | हस्ताक्षर नगर्ने |