गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ अझै कोरोना संक्रमणमुक्त भइसकेका छैनन्। वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिए। संक्रमणका सुरूका साता उनी होम आइसोलेसनबाट बाहिर निस्केनन्। कोरोनाका लक्षणले उनलाई गालेको थियो।
होम आइसोलेसनबाटै वैशाख २६ गते मुख्यमन्त्री पदबाट गुरूङले राजीनामा दिए। ठूलो दलको नेताको हैसियतमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैशाख २९ गते फेरि गुरूङलाई मुख्यमन्त्री नियुक्त गरेर सपथ खुवाइन्। यतिबेलासम्म पनि गुरूङ कोरोनामुक्त भएका थिएनन्।
सपथ लिएको एक सातासम्म उनले एक जना पनि मन्त्री नियुक्त गरेनन्। संक्रमण निको हुने आसमा उनी होम आइसोलेसनमै बसे। जेठ ५ गते मुख्यमन्त्री गुरूङले पुरानै क्याबिनेटका ५ जना मन्त्री नियुक्त गरे। मन्त्रीको सपथ ग्रहणमा आफैं उपस्थित भए। उक्त दिन सपथ खान छुटेका दीपक मनाङेलाई आइतबार सपथ खुवाउँदा पनि मुख्यमन्त्री गुरूङ छुटेनन्।
मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद् बैठक राखेका गुरूङ त्यसपछि होम आइसोलेसनबाट बाहिर निस्कन थालेका छन्।
राजनीतिक नियुक्ति लिएका व्यक्तिको सपथ खुवाउनेदेखि शिलान्यास र उद्घाटनमा पनि उनी पुग्न थालेका छन्।
कोरोना संक्रमण निको नहुँदै उनले प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएका छन्। त्यसको जिम्मेवारी आफैंले सम्हालेका छन्। यसअघि उक्त मन्त्रालय सामाजिक विकास मन्त्रालय मातहत थियो। मुख्यमन्त्री गुरूङ शुक्रबारमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्न पुगेका थिए, जहाँ उनले कर्मचारी भेला गराएर मास्क पनि नलगाई भाषण गरेका थिए।
कोरोना संक्रमित भएकै अवस्थामा मुख्यमन्त्री गुरूङ आइतबार पनि उद्घाटन र शिलान्यासमा व्यस्त भए। प्रदेश सरकारले गत वर्षदेखि स्वामित्व लिएर खोलेको संक्रामक तथा सरूवा रोग अस्पताल पुगेर २ वटा उद्घाटन र एउटा शिलान्यास गर्न भ्याए।
मुख्यमन्त्री गुरूङले संक्रामक तथा सरूवा रोग अस्पतालमा बनाउन लागिएको जनस्वास्थ्य प्रयोगशाला भवन र बेड विस्तार गर्न नयाँ भवनको शिलान्यास गरे।
सोही अस्पतालमा बनाइएको १० बेड क्षमताको आइसियू कक्षको समेत उनले उद्घाटन गरे।
उक्त अस्पतालमा अहिले ५० बेड छन्, जहाँ अहिले ५४ जना बिरामी कोरोना संक्रमित छन्।
कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न अहिले गण्डकी प्रदेशका सबै जिल्लामा लकडाउन छ। अन्य जिल्लाको तुलनामा कास्कीमा धेरै संक्रमित भएका र मृत्यु समेत भएकाले पोखरामा लकडाउन कडा छ। लकडाउनमा पनि उनी भीडभाड जम्मा गरेर उद्घाटन र शिलान्यास गर्न भने छाडेका छैनन्।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै गण्डकीमा २० जना संक्रमितको मृत्यु भएको छ। योसहित गण्डकीमा ५५१ जना कोरोना संक्रमितले ज्यान गुमाइसके। अहिले पनि गण्डकीमा १० हजार ३५५ जना कोरोनाको सक्रिय संक्रमित छन्।
अधिकांश संक्रमित अहिले होम आइसोलेसनमै छन्। जो परिवारका सदस्य समेत नभेटी बसेका छन्।
यता, मुख्यमन्त्री गुरूङ भने कोरोनाको लक्षण निको हुनासाथ बाहिर निस्केर भीडभाड हुने उद्घाटन, शिलान्यास र भाषणमा केन्द्रित भएका छन्।
नेपाल सरकारले कोरोनाको दोस्रो लहर रोक्न कुनै पनि सभा, सम्मेलन, गोष्ठी जस्ता भीडभाड रोक्न निर्देशन दिएको थियो। जिल्ला प्रशासन कार्यालय कास्कीले भीडभाड हुने यस्ता गतिविधि मात्रै होइन, ‘मर्निङ वाक’ समेत रोकेको छ।
अत्यावश्यक सेवाका पसल समेत समय तोकेर बिहान र बेलुका मात्र खोल्न दिएको छ।
मुख्यमन्त्री गुरूङ आफै संयोजक रहेको प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण निर्देशक समितिले समेत भीडभाड हुन नदिने निर्णय गरेको थियो। उनी आफैंले गरेको निर्णय आफैं संक्रमित हुँदा समेत पालना गरेनन्।
कोरोनाको लक्षण हराए पनि उनमा अझै कोरोना संक्रमण यथावत् छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पुगेर उनले आइतबार स्वाब दिएका थिए। स्वाब परीक्षण गर्दा रिपोर्ट फेरि पोजेटिभ आएको छ।
लेखनाथ पुगेर उद्घाटन र शिलान्यास कार्यक्रम सकेर फर्केपछि उनको रिपोर्ट आएको थियो।
मुख्यमन्त्री गुरूङले यी सबै निर्णय लत्याएर उद्घाटन र शिलान्यासमा हिँडेपछि आलोचित बनेका छन्।
‘आफू भने होम आइसोलेसनमै डाक्टर राखेर उपचार गर्ने, अरूलाई घरभित्र थुन्ने ?’ उनको उद्घाटन कार्यक्रममै पुगेका लेखनाथस्थित संक्रामक अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘संक्रमित आफैं यसरी हिँड्दा संक्रमण झन् फैलिन सक्छ, ठूलो मान्छेलाई कस्ले रोक्ने ?’
स्वास्थ्यकर्मीको समस्या अनदेखा
लेखनाथस्थित संक्रामक तथा सरूवा रोग अस्पताल पुगेर उद्घाटन र शिलान्यास गरेका मुख्यमन्त्री गुरूङले स्वास्थ्यकर्मीको समस्याबारे केही बोलेनन्।
लेखनाथ लायन्स सामुदायिक अस्पतालबाट साउन १ गतेदेखि प्रदेश सरकारले स्वामित्व लिएर उक्त अस्पताललाई संक्रामक तथा सरूवा रोग अस्पताल बनाएको थियो।
अहिले उक्त अस्पताल कोरोना संक्रमितको उपचार गर्ने प्रदेश सरकारको अस्पताल बनेको छ। जहाँ ५० बेड क्षमता भए पनि ५४ जनाको उपचार भइरहेको छ। यतिका संक्रमितको उपचार गर्न अस्पतालमा डाक्टरसहितको टोली अस्पतालमै बस्छन्। संक्रमितलाई २४ घण्टा नै सेवामा खटिएका छन्।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भने नेपाल सरकारका कर्मचारी होइनन्। उनीहरू सामुदायिक अस्पताल हुँदादेखि नै कार्यरत थिए।
प्रदेश सरकारले नै उनीहरूलाई अस्पतालमा काम गर्न लगाएका हुन्। प्रदेश सरकारले लिएको १ वर्ष पुग्न लाग्दा समेत अस्पतालका डाक्टरसहितको स्वास्थ्यकर्मीले अझै नियुक्ति पाएका छैनन्।
नियुक्ति नपाउँदा उनीहरूले सरकारी कर्मचारीले पाउने सबै सुविधाबाट बञ्चित बनेका छन्।
गत वर्ष कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीले शत प्रतिशतसम्म भत्ता पाएको थियो। प्रदेश सरकारले नै गत वर्षदेखि कोरोना विशेष अस्पतालका रूपमा चलाए पनि त्यहाँका स्वास्थ्यकर्मीले अहिलेसम्म कुनै भत्ता पाएनन्।
तर मुख्यमन्त्री गुरूङले अन्य प्रदेशभन्दा गण्डकी प्रदेश १ नम्बर भएको दाबी गरे।
गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रको अब्बल प्रदेश बनाउने दाबी गरेका उनले उक्त अस्पताल नेपालकै राम्रो बनाउन चाहेको बताए।
आफैं संक्रमित मुख्यमन्त्री गुरूङले भने, ‘क्रिटिकल केसको उपचार गर्ने जनशक्ति हामीसँग रहेनछ।’