‘जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौं, जुन रुखलाई हामी अक्सिजन दिन्छौं, त्यही रुख रहेन भने के हुन्छ?’
मन्त्रीमा नियुक्त भएको केही समयपछि यस्तो अभिव्यक्ति दिएर वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले चर्चामा आएका थिए।
झुक्किएर उल्टो बोल्दा फेसबुक, ट्वीटरदेखि टिकटिकसम्म उनी मजाकको पात्र बने। त्यसपछि पनि उनी उल्टोपाल्टो बोलेर चर्चामा आइरहे।
मन्त्री आले अहिले फेरि चर्चामा छन्। जिल्ला अस्पताल डोटीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेर अक्सिजन सिलिन्डर दिएपछि सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ।
सोमबार मन्त्री आले एउटा निजी हेलिकप्टरमा सुरूमा दीपायल पुगेका थिए। त्यसपछि कैलाली फर्के।
दीपायलमा ६० वटा र कैलालीमा उनले ५० वटा अक्सिजन सिलिन्डर बाँडेका थिए। डोटीमा बाँडेका सिलिन्डरमा उनको फोटोसहितको स्टिकर टाँसिएको थियो।
अक्सिजन सिलिन्डर भने ट्रकमा उनले केही दिनअगाडि नै पठाइसकेका थिए।
डोटी सदरमुकाम दीपायलस्थित जिल्ला अस्पतालमा उनले ६० वटा अक्सिजन सिलिन्डर बाँडेका थिए।
कैलाली आएपछि उनले सेती प्रादेशिक अस्पताललाई ५० थान सिलिन्डर दिएका थिए। ती सिलिन्डरमा भने उनको फोटोसहितको स्टिकर टाँसिएको थिएन।
मन्त्रीको हैसियतमा आफ्नो निर्वाचन क्षेत्रको सरकारी अस्पताललाई उनले अक्सिजन सिलिन्डर दिएको कुरा जति प्रचार भयो, त्यसभन्दा बढी भने सिलिन्डरमा टाँसेको उनको आफ्नै फोटोले चर्चा पायो।
अक्सिजन औषधीजन्य वस्तु हो। त्यसैले औषधीजन्य वस्तुमा औषधीको प्रयोग उपयोगबारे लेखिएकोबाहेक अन्य प्रचार गर्नु ‘गैरकानुनी’ हो। यस्तो गर्नेलाई दण्डनीय अपराध मानेर कारबाही गर्नुपर्ने पूर्वमुख्यसचिव लीलामणि पौडेल बताउँछन्।
पौडेल भन्छन्, ‘अक्सिजन सिलिन्डरमा त्यसलाई प्रयोग गर्ने विधिबाहेक अरू चिज टाँस्न पाइँदैन, जे पायो त्यही टाँस्ने/उप्काउने गर्दा दुर्घटना भयो भने यसको जिम्मेवारी कसले लिन्छ?’
तर, औषधी ऐनले भने यसलाई नियमन गरेको छैन। जब औषधी ऐनले नै नियमन नगरेपछि अक्सिजनमा मनपरी हुने नै भयो।
केही समयअघिसम्म कोरोना महामारीमा अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको थियो।
जतिबेला अक्सिजन सिलिन्डरमा विद्यमान भन्सार शुल्क, अन्त शुल्क र मूल्य अभिवृद्धि कर बढी रहेको भन्दै व्यवसायी खरिद गर्न मानिरहेका थिएनन्।
सरकारले ती सबै कर हटाउने निर्णय गर्यो। यसपछि व्यवसायीहरूले पनि अक्सिजनका सिलिन्डर खरिद गर्न थाले।
सरकारले आफ्नै पहलमा चीनबाट अनुदानमा सिलिन्डर ल्यायो। ती नीलो रंगका थिए।
आलेले पनि निलो रङकै अक्सिजन सिलिन्डर अस्पताललाई बाँडेका थिए। यी अक्सिजन सिलिन्डरमध्ये ६० वटा बानेश्वरस्थित विध म्यानेजमेन्ट प्रा.लि.ले मन्त्री आलेलाई बेचेको थियो।
उसले चीनबाट सिलिन्डर ल्याउने गरेको बतायो। तिनै सिलिन्डर मन्त्रीले किनेर लगेको बताएको विधले बताएको छ।
‘हामीले चीनबाट अक्सिजन सिलिन्डर ल्याएका हौं, उहाँले किन्ने भनेपछि बेचेका हौं,’ विधका कर्मचारी सुशन धितालले भने।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार अनुदानमा यस्ता स्वास्थ्य सामग्री कति आए/आए। ‘पन्ध्र अर्बका स्वास्थ्य सामग्री अनुदानमा आए, कुनैमा स्टिकर टाँसेको याद छैन, यी सबैमा फोटो टाँस्ने?,’ ती अधिकारीले भने।
मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार स्वास्थ्य सामग्रीमा वा औषधीमा स्वास्थ्य सामग्री प्रयोगको विधि राखिने गरिएको छ।
‘औषधीजन्य सामानमा पोस्टर, फोटो टाँस्ने गरेको याद छैन, यस्तो गर्न पाइन्छ पाइँदैन भनेर कतै उल्लेख पनि छैन,’ अधिकारीले भने।
स्वास्थ्य सेवा विभागका एक अधिकारीका अनुसार उत्पादित स्वास्थ्य सामग्री औषधीको प्रचार गर्न पाइन्छ। तर, त्यसका लागि पनि अनुमति लिनुपर्छ।
स्वास्थ्य सामग्रीमा कुनै व्यक्तिको फोटो नै टाँसेर वितरण गर्नु ‘गैरकानुनी’ नै हुने उनले बताए।
‘कानुनमा केही छैन, जब कानुनले नै नियमन नगरेपछि यस्तो काम व्यक्तिले गर्ने नै भए,’ उनले भने, ‘तैपनि नेता-मन्त्री त कानुनभन्दा माथिका भए, कानुन लाग्ने उनीहरूलाई होइन।’
वन मन्त्री आलेको यो कदम कति सही कति गलत सन्दर्भमा राज्यका निकायहरूले भने मुखामुख गरेका छन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले यस्तो विषयमा औषधी व्यवस्था विभागलाई जानकारी हुने बताए।
‘औषधी व्यवस्था विभागलाई नै थाहा हुन्छ, केही पर्यो भने हामीले उतैबाट आइडिया लिने हो,’ सिंहले भने।
औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले आलेले गरेको कामबारे ‘कमेन्ट’ गर्न नचाहने भन्दै स्वास्थ्य सेवा विभागलाई नै थाहा हुने बताए। ‘स्वास्थ्य सेवा विभागलाई सोध्नु न, उतै थाहा हुन्छ,’ भट्टराईले भने।
मन्त्री आलेले व्यक्तिगत लगानीमा किनिएका अक्सिजन सिलिन्डर त्यसरी वितरण गरिएको बताए।
उनले बाँडेका सिलिन्डरमा ‘व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको थियो।
‘आफैं किनेर, भरेर, ढुवानी खर्च पनि आफैंले व्यहोरेर सिलिन्डरमा फोटो टाँसिएको हो,’ उनले भने।
आफ्नो निर्वाचन क्षेत्रका जनतालाई थाहा दिन अक्सिजन सिलिन्डरमा फोटो टाँसिएको दाबी उनको सचिवालयले गरेको छ।
‘डोटीमा आफ्ना नागरिकलाई जानकारी दिन सचिवालयले फोटो टाँसेको हो। ६० थान सिलिन्डर, मास्कको डब्बा र कन्सन्टेटरमा पनि फोटो टासिँएको छ, सेतीमा वितरण गरिएका सिलिन्डरमा टाँस्न फोटो पुगेन,’ उनका स्वकीय सचिव हेमन्त रेग्मीले भने।
डोटीमा अरू १५ थान अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभागले मन्त्री आलेमार्फत् दिएकोमा ती पनि भरेर डोटी जिल्ला अस्पताललाई दिइएको उनले बताए।
उनले चीनबाट आएको सबै निलो रङको सिलिन्डर हुनाले अनुदानको सिलिन्डरमा फोटो टाँसिएको भनेर भ्रम फैलाउन खोजिएको बताए।
मन्त्री आलेले आफैंले किनेर डेढ लाख मास्क डोटीमा र ५० हजार मास्क सेती प्रादेशिक अस्पताल धनगढीलाई दिएको रेग्मीले बताए।
साथै ३ थान अक्सिजन कन्सन्ट्रेटर डोटी जिल्ला अस्पताललाई र एक थान त्यहीँको पूर्वीचौकी गाउँपालिकालाई दिइएको रेग्मीले बताए।
‘हामीले स्वास्थ्य सेवा विभागलाई माग गरेर डोटीका प्रत्येक पालिकामा २/२ का दरले ९ स्थानीय तहमा १८ र जिल्ला अस्पताललाई १२ ओटा बेड पनि दिएका छौं,’ उनले भने।
यस्तै, एक सय पिस रेम्डेसिभिर, सय वटा एन्टिजेन किट र २० वटा पिपिई सेट जिल्ला अस्पताल डोटीलाई स्वास्थ्य सेवा विभागबाट प्राप्त भए अनुसार दिइएको उनले बताए।
मन्त्री आलेले आफैंले किनेर वितरण गरिएका स्वास्थ्य सामग्री ४० लाखको हाराहारीमा रहेको उनले जानकारी दिए।
सोमबार मन्त्री आले चढेको हेलिकप्टर डोटीबाट आएर सुदूरपश्चिम प्रदेश प्रहरीको ग्राउन्डमा ल्याण्ड गरिएको थियो। सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर बाँड्दाबाँड्दै रात परेपछि आले मंगलबार बिहान मात्रै काठमाडौं फर्किएका थिए।