नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको छ।
गत सोमबार बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले माओवादीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
केन्द्रमा सुदूरपश्चिम सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेपछि बुधबार बिहान एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बसेको थियो।
सोही बैठकले तत्काललाई सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको सासंद पूर्णा जोशीले बताइन् ।
उनले समर्थन फिर्ता लिए पनि तुरुन्तै नयाँ सरकार गठन गर्न कठिन हुने भएपछि यस्तो निर्णय गरेको बताइन्।
सासंद जोशीका अनुसार बैठकले कोरोना महामारीसँग जुझ्न सरकारलाई सघाउने निर्णय पनि गरेको छ।
बुधबार बसेको बैठकमा २१ जना सासंद सहभागी थिए। सभामुखबाहेक अरू तीन जना सांसद बैठकमा उपस्थित थिएनन्।
धनगढीभन्दा बाहिर रहेकोले बैठकमा ओली पक्षका रतन थापा, गेल्बुसिह बोहोरा र लीलाधर भट्ट सहभागी भएका थिएनन्।
प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ।
एमालेले सरकार बनाउन चाहेमा सभामुखबाहेक तीन मत कम हुन्छ। जसपाले समर्थन गर्नेमा एमाले सुदूरपश्चिम ढुक्क छ।
यदि त्यसो भएमा कांग्रेस माओवादी गठबन्धनको २५ र एमाले जसपा गठबन्धनको २६ मत हुन आउँछ ।
प्रदेश सभामा कांग्रेसका १२ र माओवादी केन्द्रका १३ सांसद छन् । सुरूमा १४ सांसद रहेको माओवादीमा झपट बोहरा एमालेमा गएपछि पदमुक्त भएका छन्।