सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
उनले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
‘शुक्रबार मन्त्रिमण्डल विस्तार हुन्छ होला, एमाले र माओवादी केन्द्रबाट मन्त्री थप हुँदैछन्,’ स्रोतले भन्यो।
मुख्यमन्त्री भट्टले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्ने तयारी गरेका हुन्। अहिले रिक्त रहेका दुई मन्त्रालयमा मन्त्री थप्ने मुख्यमन्त्रीले तयारी गरेका हुन्।
केन्द्रको निर्णय नमानेर प्रदेशमा सरकारको समर्थन फिर्ता नलिएको एमालेबाटै माधव नेपाल पक्षले थप सांसदलाई सरकारमा सहभागी गराउन लागेको बताइएको छ।
अहिले सरकारमा नेता माधव नेपाल पक्षका तीन मन्त्री छन्।
माधव नेपाल पक्षका एक सांसदले संसदीय दलको नेतालाई यसबारेमा निर्णय लिनसक्ने अधिकार बुधबार बसेको बैठकले प्रदान गरिसकेको बताए।
एमाले सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह माधव नेपाल पक्षका हुन्।
ओली पक्षको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सरकारबाट फिर्ता नआएको भन्दै तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
प्रदेशमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका प्रकाश शाह, सामाजिक विकास मन्त्री रहेका कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री रहेकी माया भट्टलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन गरिएको छ।
उनीहरूमाथि पटक पटक पार्टीको निर्णय अवज्ञा गरेको, पार्टी एकताविरूद्ध र विखण्डनको पक्षपोषण गरेको अरोप लगाइएको छ।
अन्यथा विधान अनुसार कारबाही गर्न सकिने प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताएका छन्।
प्रदेश सभामा २५ सांसद रहेको एमालेमा १८ जना माधव नेपाल पक्षका छन्। बाँकी ७ जना केपी ओली पक्षका छन्।