झापाको विर्तामोड नगरपालिकाका मेयर धुब कुमार सिवाकोटीले एक टेलिभिजन कार्यक्रममा ‘सुनले भाइरस तान्छ’ भनेर दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
उक्त कार्यक्रममा बोल्दै मेयर सिवाकोटीले भनेका छन्, ‘सबै आमाबुवा, दाजुभाइ, दिदिबहिनीले सुनका औंठीहरू, चेनहरू लगाउनुभएको छ भने भरे नै खोल्दिनुस्। किनभने यसले भाइरसलाई छिटो लिने गर्छ। मेरो पनि औंठीहरू, चेनहरू सबै मैले राखेको छु।’
यसबारे बुझ्न मेयर सिवाकोटीलाई फोन गर्दा उनले धातुले भाइरसलाई तान्ने भन्दै उही अभिव्यक्ति दिए। उनले सेतोपाटीसँग भने, ‘धातुले स्वाभाविक रूपमै भाइरसलाई तान्छ। सुनको औंठीहरूमा बाहिर स्यानिटाइजर लगाउँछौं तर भित्रपट्टी त लाग्दैन नि।'
तर उक्त अभिव्यक्तिप्रति मेयर सिवाकोटी नै विश्वस्त छैनन्। किनभने उनले यो कुनै विज्ञ वा अध्ययनबाट जानेर बोलेका कुरा होइनन्। मेयर सिवाकोटी भन्छन्, ‘मैले कतैबाट सुनेर हैन आफ्नै अनुभवबाट भनेको हो। कुनै डाक्टरलाई पनि सोधेको हैन।’
अघिल्लो कोरोना लहरमा आफूले औंठी लगाएकै कारण संक्रमण भएको सुनाउँदै मेयर सिवाकोटीले भने, ‘पहिलो कोभिडको बेला एकदम सुरक्षित भएर बसेको थिएँ। तर चार वटा औंठी लगाएको थिएँ। त्यसैले त्यो बेला कोभिड लाग्यो।’
औंठी लगाएकै कारण कोरोना लागेको अनुमान भएपछि मेयर सिवाकोटीले अहिले औंलामा लगाएको सबै औंठीहरू फुकालेर राखेका छन्। चेन, घडी केही पनि लगाएका छैनन्। यति मात्र हैन उनले आफ्ना नगरवासीलाई समेत औंठी, चेन, घडी केही पनि नलगाउन आग्रह गरेका छन्।
तर विज्ञहरू भने भाइरस र धातुबीच कुनै सम्बन्ध नरहेको बताउँछन्। भाइरोलोजिष्ट डा. लुना भट्ट भन्छिन्, ‘भाइरस र धातुको कुनै सम्बन्ध हुँदैन। भाइरसलाई कसैले तान्दैन। तान्यो भने नाकले तान्ने हो। किनभने नाकको कोषहरूमा भाइरसलाई तान्ने 'रिसेप्टर' धेरै हुन्छ। त्यसैले मास्कको प्रयोग गर्ने भनिएको हो।’
डा. भट्टले बरू धातुको सम्बन्ध ब्याक्टेरियासँग रहने बताइन्। उनका अनुसार भ्याक्टेरिया सुन, चाँदी जस्तो कुनै गह्रुँगो धातुमा पर्यो भने निश्चित समयपछि ब्याक्टेरिया हराएर जाने वा मर्ने गर्छ। ‘ब्याक्टेरियामा टक्सिक भन्ने हुन्छ र त्यो धातुमा पर्यो भने वृद्धि हुन सक्दैन। त्यसैले धातुमा छिर्यो भने ब्याक्टेरिया कि त हराएर जान्छ कि मर्छ।’
मेयर सिवाकोटीले दिएको अभिव्यक्तिमा कुनै तथ्य नरहेको भन्दै त्यस्तो कुरामा विश्वास नगर्न डा. भट्टको आग्रह छ। ‘उहाँले भन्नुभएको कुरा अफवाह मात्र हो। जनप्रतिनिधिले टिभीमा गएर हाकाहाकी त्यसरी हावा गफ दिनु भनेको वेसारको गफभन्दा पनि डरलाग्दो भयो,' उनले भनिन्।
यस्तो संवेदनशील घडीमा बिना तथ्य जथाभावी बोल्नेप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने डा. भट्टको भनाइ छ। सरकारले अफवाह फैलाउनेलाई मतलब नगर्ने तर तथ्यसहित बोल्ने विज्ञलाई भने बोल्नबाट सधै कस्न खोजेको उनी बताउँछिन्।
‘यहाँ विषय विशेषज्ञको मुख थुन्न खोजिन्छ तर नेता, जनप्रतिनिधिहरूले चाहि बेसार, गुर्जो, अम्बाको पात खानू भनेर बोल्दा पनि हुने र सुन नलगाउनुस् भन्न पनि हुने,' उनले भनिन्, ‘हामीले बोल्यो भने तिमीहरू धेरै धेरै नबोल है’ भन्ने।'
स्वास्थ्य मन्त्रालयले गत जेठ १८ गते जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायरहले सञ्चारमाध्यममा बोल्ने र टिप्पणी गर्दा त्यसले द्विविधा बनाउने काम गरेको भन्दै त्यस्ता विषयमा मन्त्रालयले तोकेको पदाधिकारी र निकायले मात्र बोल्ने गरी व्यवस्था गर्न सरकारसमक्ष अनुरोध गरेको थियो।