सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फूर्लकोट)मा प्रधानन्यायाधीशले पेश गरेको वरिष्ठताका आधारमा संवैधानिक इजलास गठनसम्बन्धी संशोधनको प्रस्ताव अहिलेलाई अघि नबढ्ने भएको छ।
एक न्यायाधीशका अनुसार, शुक्रबार भएको उक्त बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने गरी उक्त इजलासको नियमावली संशोधन गर्ने प्रस्ताव ल्याएका थिए। तर न्ययाधीशहरूले वरिष्ठताका आधारमा न्यायाधीश छान्न प्रधानन्यायाधीशलाई नियमावलीले कुनै बाधा नपारेको भन्दै संशोधन गर्न नपर्ने सुझाव दिए।
त्यसपछि यो पाटो अहिलेलाई बन्द भएको छ।
'हामीहरूले वरिष्ठताका आधारमा इजलास गठन गर्न नियमावली संशोधन आवश्यक नभएको भन्यौं। बरू गर्नै परे पछि अदालतसम्बन्धी अरू नियमावलीसँगै गरौंला भन्ने कुरा भयो,' ती न्यायाधीशले भने, 'संवैधानिक इजलास वरिष्ठताकै आधारमा तोक्न, कसैगरी वरिष्ठ पाँच न्यायाधीशमध्ये कसैले हेर्न मिलेन वा विदा बसेको दिन भए रोष्टरमा भएकामध्ये त्यसपछिका वरिष्ठलाई समावेश गरे भैहाल्छ भन्ने कुरा भयो।'
प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दा हेर्न तोकिएको संवैधानिक इजलास विवादित भएको थियो। अब भने वरिष्ठताकै आधारमा संवैधानिक इजलास तोक्न प्रधानन्यायाधीश राणा राजी भएका छन्।
'हामीले नियमावली संशोधन नगरे पनि वरिष्ठताकै आधारमा संवैधानिक इजलास तोक्न भनेपछि उहाँले ल त्यसै गर्नुपर्ला भन्नुभएको छ,' ती न्यायाधीशले भने।
दुईदिनअघि संवैधानिक इजलासको रोष्टरमा भएका न्यायाधीशहरू प्रधाननन्यायाधीशलाई भेट्न गएका थिए। उनीहरूले वरिष्ठताकै आधारमा संवैधानिक इजलास गठन गर्न सुझाएका थिए।
आजको बैठकमा भने प्रधानन्यायाधीश राणा 'ल त नि त्यसै गर्नुपर्ला' भनेर वरिष्ठताकै आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएको देखिन्छ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० रिट हेर्न उनले गठन गरेको संवैधानिक इजलास विवादित भएको थियो। त्यसपछि नै बरिष्ठताका आधारमा संवैधानि इजलास गठन हुनुपर्ने बहस चर्कोरूपमा उठेको हो।
रिट निवेदकमध्ये शेरबहादुर देउवाका वकिलहरूले उक्त इजलासका न्यायाधीशमध्ये तेजबहादुर कार्की र वमकुमार श्रेष्ठको निष्पक्षतामाथि प्रश्न उठाएका थिए। नेकपाको नामसम्बन्धी विवाद भएको रिटमा फैसला गरेकाले न्यायाधीश श्रेष्ठ र उक्त फैसला पुनरावलोकन नहुने आदेश गरेकाले केसीले प्रतिनितिसभा विघटनको मु्द्दा हेर्न नमिल्ने उनीहरूको भनाइ थियो। नेकपालाई छुट्याउने आदेशकै प्रभावले प्रतिनिधिसभा विघटनसम्म राजनीतिक परिस्थिति आइपुगेकाले त्यो फैसला र आदेश गर्ने न्यायाधीशहरू इजलासबाट अलग हुनुपर्ने उनीहरूको जिकिर थियो।
त्यसमाथि मंगलबार सर्वोच्च बारका पदाधिकारीले पनि इजलास विवादित नबनाउन बरिष्ठताका आधारमा इजलास गठन गर्नुपर्ने सुझाएका थिएथिए। उनीहरूसँग प्रधान्यायाधीश राणाले संवैधानिक इजलास कार्यसञ्चालन नियमावली संसोधन गरेर बरिष्ठताकै आधारमा गर्न सहमत भएका थिए।
तर त्यस्तो प्रश्नको आधार नभएको भन्दै केसी र श्रेष्ठले नछोड्ने भएपछि उक्त इजलासमा तोकिएका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई आफै अलग भएका थिए। उनीहरूले नेकपाको नामसम्बन्धी विवादकै बाइप्रडक्ट प्रतिनिधिसभा विघटनको मुद्दा भएको भन्दै सहकर्मीहरू अलग हुनुपर्ने धारणा राखेको नभएपछि इजलासको निष्पक्षतामाथि प्रश्न उठ्नुभन्दा आफै अलग हुने लिखित राय लेख्दै उनीहरू अलग भए।
अदालतभित्र र बाहिरबाटै बरिष्ठताका आधारमा संवैधानि इजलास गठन गर्न प्रधानन्यायाधीशलाई दबाव थियो।
यस्तो अवस्थामा जेठ २३ गते आइतबार प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्न उनले कसरी गर्लान भन्ने आम चासो छ।
संवैधानिक इजलासको रोष्टरमा प्रधाननन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन्।
यीमध्ये वरिष्ठ पाँच प्रधाननन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ छन्।
आइतबार पेशी रहेको प्रतिनिधि सभा विघटनको मुद्दा हेर्ने संवैधानिक इजलासमा को-को पर्लान् त भन्ने अहिले आमचासो छ। केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता रहेकाले उनैले गरेको विघटनको मुद्दामा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भन्दै पहिलो विघटनमा प्रश्न उठेको थियो। प्रश्न उठेपछि कार्की बाहिरिए। अहिलेको मुद्दामा पनि आफूलाई त्यही प्रश्न आउने भन्दै उनले बस्दिनँ भनेदेखि वरिष्ठ पाँचपछिको छैठौं वरीयता क्रमका न्यायाधीश खतिवडा संवैधानिक इजलासमा पर्छन्। वरिष्ठ पाँचमध्ये न्यायाधीश विश्वम्भर श्रेष्ठ बिरामी भएकाले आइसोलेसनमा छन्। उनी पनि अनुपस्थित भए सातौं वरीयताका आनन्दमोहन भट्टराई पर्ने छन्।
त्यसरी इजलास गठन गरे प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईलाई राख्नु पर्नेछ।