प्रदेश नम्बर २ सरकारले कोरोना संक्रमणको महामारी नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाले रोजगारीमा पारेको असरबारे अध्ययन सुरू गरेको छ।
प्रदेश सरकारले कोरोनाबाट रोजगारमा परेको असरहरूका साथै भावी योजना तथा अवसरहरूबारे पनि अध्ययन सुरू गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको पिएलजिएसपीको संयोजनमा सुरू भएको अध्ययनको आधार र यसबाट प्राप्त हुने उपलब्धीबारे परामर्शदाता तथा सरोकारवालाहरूबीच शुक्रबार भर्चुअल सम्वाद गरिएको छ।
प्रमुख सचिव गोकर्णमणि दुवाडीको अध्यक्षता एवं मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा भर्चुअल सम्वाद सम्पन्न भएको थियो।
त्यस सम्वादमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, प्रदेश सरकारका सचिवहरू तथा विज्ञहरुले अध्ययनको आधार र त्यसमा सुधार गर्नुपर्ने विषयमा आ-आफ्नो सुझावहरु राखेका थिए।
सरोकारवालाहरूको सुझावपछि मुख्यमन्त्री राउतले अध्ययनबाट आउने सुझावहरूले प्रदेश सरकारलाई आगामी दिनमा नीति निर्माण गर्न सहायक हुने विश्वास व्यक्त गरे।