मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि प्रदेश नम्बर २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सरकारी निवास छाडेका छन्।
आइतबार मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षधरका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए।
बर्खास्तमा परेपछि सोमबार बिहानै सोनल सरकारी मधेश भवनबाट बाहिरिएका हुन्। सोनलसहित तत्कालीन राजपाबाट मन्त्री भएका चार जनालाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए।
आइतबार नै राउत जसपाको प्रदेश संसदीय दलका नेता चयन भएका थिए। राउत जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षका हुन्।
सरकारी निवासबाट बाहिरिएका सोनलको हातमा एउटा सुटकेस र झोला थियो। मन्त्रालयका कम्प्युटर अपरेटर राजु साहको मोटरसाइकल चढेर उनी सरकारी निवासबाट बाहिरिएका हुन्।
उनले सबै पक्षले आफूलाई यसअघि मन्त्रालयका कामकारवाहीमा सहयोग गरेकोले धन्यबाद भनेका थिए।
उनले प्रदेशमै रहेर जनता र पार्टीका हितमा काम गर्ने पनि बताए।
‘मन्त्री भए पनि नभए पनि देश र जनताका हितमा काम गरिरहन्छु,’ सरकारी निवास छाड्नुअघि उनले भने।