गण्डकी प्रदेशका विपक्षी चार दलीय गठबन्धनले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर सचेत गराएका छन्।
सरकार गठन गर्न आफूहरु बहुमत सांसद र पार्टीको निर्णय पत्र बोकेर आउने भन्दै विपक्षी गठबन्धनले यसअघि जस्तो जालझेलमा नलाग्न आग्रह गरेका हुन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले आह्वान गरेको समय सीमाभित्र चार दलले सहमति लिएर गएका थिए। तर जनमोर्चाका सांसद कृष्ण थापा र खिमबिक्रम शाहीले विज्ञप्ति जारी गरेर विपक्षी गठबन्धनलाई आफूहरुको समर्थन नरहेको बताएका थिए।
जनमोर्चा सांसद शाहीले भने आफूले विज्ञप्ति ननिकालेको र उक्त विज्ञप्ति फर्जी भएको बताएका थिए। ‘संविधानले दल चिन्छ, व्यक्ति चिन्दैन’, भेटवार्ताका क्रममा काँग्रेस सांसद कुमार खड्काले प्रदेश प्रमुख पौडेललाई भने, ‘यस्तो विज्ञप्तिलाई आधार मान्नुभएन, त्यसमाथि किर्ते विज्ञप्ति आएको छ, कम्तीमा सम्वन्धित सांसदलाई सोध्नुभएको भए हुन्थ्यो नि।’
खड्काले भविष्यमा मुख्यमन्त्रीको राजीनामा भनेर कसैले पत्र ल्याउँछ भने त्यसलाई मान्यता दिएर स्वीकार गर्नुहुन्छ? भनेर प्रश्न गरेका थिए। प्रदेश सभामा चार दलीय गठबन्धन रहेको र उक्त गठबन्धनमा बहुमत छ कि छैन भनेर प्रदेश सभामा विश्वासको मत लिन दिनुपर्ने उनले बताए।
‘सरकार दाबी गर्न दलको निर्णय भए पुग्छ, विश्वासको मत लिँदा माननीयले मत दिए रहन्छ, नदिए रहन्न’, खड्काले भने, ‘पार्टीको समर्थन भयो भने त्यो पार्टीको सदस्यले पनि समर्थन गरेको मानिन्छ।’ प्रदेश प्रमुख सम्मानित पद भएको र निष्पक्ष रुपमा संविधानले गरेको व्यवस्था अनुसार निर्णय लिन आग्रह गरेको खड्काले बताए।
‘प्रदेश प्रमुख भनेको हाम्रो अभिभावक हो, संविधान भन्दा टाढा गइदिन भएन भनेर हामीले भन्यौं’, खड्काले सेतोपाटीलाई भने, ‘अब सरकार गठन गर्न आउँदा सांसद, हस्ताक्षर र पार्टीको निर्णयसहित आउँछौं।’
गण्डकीका मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिँदैछन्। विपक्षी चार दलीय गठबन्धनले आ–आफ्नो पार्टीमा ह्वीप जारी गरेर सरकारलाई विश्वासको मत नदिन निर्देशन दिइसकेका छन्। मुख्यमन्त्रीले विश्वासको मत नपाएमा गठबन्धनले बहुमतको सरकार बनाउने दाबी गरेको छ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुख पौडेलले सरकार गठनका लागि आह्वान गर्नेछिन्। उक्त धारामा विश्वासको मत पाउन सक्ने दाबी पेश गरेका सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
सोही व्यवस्था अनुसार आफूहरु सरकारको दाबी गर्न जाने तयारीमा रहेको काँग्रेस सांसद खड्काले बताए। ‘उपधारा ५ ले दल होइन, सांसदलाई मात्र चिन्छ’, खड्काले भने, ‘हामी बहुमत ३१ जनाको हस्ताक्षर, दलको सहमति र स्वयम् सांसद पनि उपस्थित भएर सरकारको दाबी गर्न जान्छौं, मिडियालाई पनि बोलाउँछौं।’ यस्तो सरकार बनाउन प्रदेश प्रमुखले १५ मिनेटको मात्रै समय दिएपनि समयमै उपस्थित हुने गरी तयारी गरेको खड्काले बताए।
मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएपछि काँग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनाउने बाटो खुल्ने खड्काले दाबी गरे। अहिले प्रदेश सभामा विपक्षी गठबन्धनसँग ३० र मुख्यमन्त्री गुरुङको पक्षमा २९ मत छ। तर गण्डकीमा बहुमत जुटाउन ३१ मत चाहिन्छ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएपछि काँग्रेस नेतृत्वमा सरकार बनाउने वातावरण बन्ने खड्काले बताए। उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि परिदृश्यमा परिवर्तन आउँछ, संविधान, व्यवस्था र प्रदेश सभा जोगाउनका लागि पनि हाम्रो पक्षमा बहुमत जुट्छ।’
काँग्रेस वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका खड्काले बहुमत जुटाउनका लागि सभामुखको राजीनामा गराउने कुरा हल्ला मात्र भएको जिकिर गरे। ‘सभामुख जस्तो जिम्मेवार पद पार्टीका नेता र सांसदले निर्देशन दिन मिल्दैन’, उनले भने, ‘नेपाली काँग्रेस सरकार बनाउनका लागि सभामुखको राजीनामा गराउने कुरा कल्पना पनि गर्दैन।’