युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आँपको संज्ञा दिएका छन्।
संसद विघटनविरुद्ध उभिएको भन्दै मनाङेले आँपको बोटमा अम्बा खोज्न नहुने बताए।
‘आँपको बोटमा आँप नै फल्छ, बोट केपी ओली भयो, फल यिनीहरू भए,’ मनाङेले भने, ‘हामीले आँपको बोटमा अम्बा खोजिरहेका थियौं।’
यस्ता विषयमा मुख्यमन्त्री नबोलेको भन्दै मनाङले आज जाने भएपछि अलिकति मात्र बोलेको बताए।
संसद विघटन प्रदेशमा पनि हुन लागेको भन्दै उनले आफ्नो काम संसद बचाउने भएको बताए।
केन्द्रको रोग प्रदेशमा आएको भन्दै मनाङेले भने, ‘कोरोना के हो र, भ्याक्सिन लगाए सकिन्छ। यो बिमारको त भ्याक्सिन पनि छैन। भ्याक्सिन भनिएको राजीव गुरुङ रहेछ।’
सिधै संसद भंग गर्छु भन्ने मान्छे राजनीतिज्ञ हुन नसक्ने बताउँदै मनाङेले संसद भंग गर्ने मान्छेले विश्वासको मत लिने आधार नरहने बताए।
‘यस्ता मान्छेलाई विश्वासको मत दिने पनि बेवकुफ हैन?,’ मनाङले सञ्चारकर्मीहरूलाई भने, ‘त्यहाँका २७ जना पनि हैन, पाँच जनाले बाँडेर खाने हो।’
संसदमा भएका केपी ओलीका मान्छे २६ जना संसद विघटनको पक्षमा रहेको भन्दै उनले इन्द्रलाल सापकोटा (माधव नेपाल पक्षका) मात्रै विघटनको विपक्षमा रहेको बताए। उनीहरूलाई एक भोट पनि दिन नहुने उनको भनाइ छ।
संसद विघटनको योजना बनाउनेहरूलाई मुद्दा लगाउनुपर्ने मनाङेले बताए। उनले भने, ‘यिनीहरूलाई के मुद्दा लगाउने नयाँ सरकारले गर्ला। यिनीहरूले एक महिना तयारी गरेका हुन्। जानीबुझी संसद फाल्नेलाई देशद्रोह लाउनुपर्यो कि प्रदेशद्रोह मुद्दा लगाउनुपर्यो।’
यसअघि मुख्यमन्त्री गुरुङलाई सहयोग गरेको भन्दै मनाङेले अहिले पनि ३० मत पुग्छ भने आफूले मत दिने भनेको बताए। संसद विघटन गरेर चुनावमा जाने गैरकानुनी भएको बताउँदै मनाङेले संसद विघटन भएपछि मोज हुन्छ भनेर सत्तापक्षका सांसदले भनेको दाबी गरे।
‘एमालेका तीन जना सांसद अब संसद भंग हुन्छ, चुनावी सरकार हुन्छ। तपाईं त मन्त्री भइसक्नुभयो, मोज हुन्छ भन्छ बा। म मोज र्न मन्त्री हुन आएको होइन,’ उनले भने।
मुख्यमन्त्री गुरुङ अहिले पनि आफ्नो दाइ जस्तै भएको भन्दै मनाङले दुई पटक साथ दिएर हेरेको बताए।
उनले भने, ‘पृथ्वीसुब्बा मेरो अहिले पनि दाइजस्तो हो, जोगाउनुप¥यो भनेपछि मैले साथ दिए। तलब होला, चुनाव जितेर आएकाले बजेट लगेर काम गरेको होला। उहाँहरूले जसरी बहुमत पुर्याउँछौ भनेको थियो। पुगेन।’
दोस्रो पटक मनाङ र लमजुङको सम्बन्ध राम्रो रहेको भन्दै समर्थन जनाएको बताए। दोस्रो पटक मन्त्रीको सपथ खाएपछि यस्तो तालले भएन भनेर आफू बुधबारको मन्त्रिपरिषद बैठकमा नगएको बताए। बुधबार पनि बेलुका ७ बजेसम्म मन्त्रालयमै रहेको मनाङेले बताए।
मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिँदा मन्त्री मनाङे मतदानमा सहभागी नभई सम्पर्कविहीन भएका थिए। मोबाइल अफ गरेर मन्त्री मनाङे दिनभर पोखरा–मनाङ समाजमा रहेको र त्यहाँ मास्क लगायत वितरण गरेका थिए।