गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङले पदबाट बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराएको प्रेस संयोजक बिक्रम न्योपानेले सेतोपाटीलाई जानकारी दिए।
मुख्यमन्त्री गुरुङले बिहिबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित भएर सम्पर्कबिहिन भएका थिए। सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री पदबाट बर्खास्त भएपछि मनाङेले राजीनामा पत्र सार्वजनिक गरेका छन्। उक्त राजीनामा पत्र शुक्रबार मुख्यमन्त्री गुरूङलाई बुझाउने मनाङे निकट एक युवाले जानकारी दिए। राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिने बताएका छन्।
राजीनामा पत्रमा मनाङेले प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको उल्लेख गरेका छन्।
मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले पहिलो कार्यकालमै मन्त्री बनाएका थिए। त्यसलगत्तै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरूङले मनाङ्गेलाई सोही मन्त्रालयको जिम्मा दिएर मन्त्री बनाएका थिए ।
यसैबीच मनाङेले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्ने घोषणा गर्दै संसद बचाउने उद्घोष गरेका छन्।
मनाङ्गेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसद विघटन गर्ने योजना बनाएपछि संसद जोगाउनका लागि विपक्षी गठबन्धनमा उभिने योजना बनाएको बताएका हुन् ।
केन्द्रको रोग प्रदेशमा आएको भन्दै मनाङेले भने, ‘कोरोना के हो र, भ्याक्सिन लगाए सकिन्छ। यो बिमारको त भ्याक्सिन पनि छैन। भ्याक्सिन भनिएको राजीव गुरुङ रहेछ।’
सिधै संसद भंग गर्छु भन्ने मान्छे राजनीतिज्ञ हुन नसक्ने बताउँदै मनाङेले संसद भंग गर्ने मान्छेले विश्वासको मत लिने आधार नरहने बताए।
‘यस्ता मान्छेलाई विश्वासको मत दिने पनि बेवकुफ हैन?,’ मनाङले सञ्चारकर्मीहरूलाई भने, ‘त्यहाँका २७ जना पनि हैन, पाँच जनाले बाँडेर खाने हो।’
संसदमा भएका केपी ओलीका मान्छे २६ जना संसद विघटनको पक्षमा रहेको भन्दै उनले इन्द्रलाल सापकोटा (माधव नेपाल पक्षका) मात्रै विघटनको विपक्षमा रहेको बताए। उनीहरूलाई एक भोट पनि दिन नहुने उनको भनाइ छ।
संसद विघटनको योजना बनाउनेहरूलाई मुद्दा लगाउनुपर्ने मनाङेले बताए। उनले भने, ‘यिनीहरूलाई के मुद्दा लगाउने नयाँ सरकारले गर्ला। यिनीहरूले एक महिना तयारी गरेका हुन्। जानीबुझी संसद फाल्नेलाई देशद्रोह लाउनुपर्यो कि प्रदेशद्रोह मुद्दा लगाउनुपर्यो।’
मुख्यमन्त्री गुरुङ अहिले पनि आफ्नो दाइ जस्तै भएको भन्दै मनाङले दुई पटक साथ दिएर हेरेको बताए।
उनले भने, ‘पृथ्वीसुब्बा मेरो अहिले पनि दाइजस्तो हो, जोगाउनुप¥यो भनेपछि मैले साथ दिए। तलब होला, चुनाव जितेर आएकाले बजेट लगेर काम गरेको होला। उहाँहरूले जसरी बहुमत पुर्याउँछौ भनेको थियो। पुगेन।’
दोस्रो पटक मनाङ र लमजुङको सम्बन्ध राम्रो रहेको भन्दै समर्थन जनाएको बताए। दोस्रो पटक मन्त्रीको सपथ खाएपछि यस्तो तालले भएन भनेर आफू बुधबारको मन्त्रिपरिषद बैठकमा नगएको बताए। बुधबार पनि बेलुका ७ बजेसम्म मन्त्रालयमै रहेको मनाङेले बताए।
मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिँदा मन्त्री मनाङे मतदानमा सहभागी नभई सम्पर्कविहीन भएका थिए। मोबाइल अफ गरेर मन्त्री मनाङे दिनभर पोखरा–मनाङ समाजमा रहेको र त्यहाँ मास्क लगायत वितरण गरेका थिए।
यदि मनाङेले साथ दिएमा कृष्णचन्द्रको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन हुने निश्चित छ।
मुख्यमन्त्रीले सुब्बाले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए भने मनाङ्गे बैठकमा उपस्थिति भएका थिएनन् । सरकार बन्नका लागि विपक्षी गठबन्धनका लागि एक मत आवश्यक हुन्छ । मनाङ्गेले मत दिए विपक्षीको सरकार बन्ने छ ।
यस्तो छ, सार्वजनिक भएको राजीनामा पत्र