गण्डकी प्रदेशका विपक्षी गठवन्धनले सरकारको दाबी गर्न आजै प्रदेश प्रमुखको कार्यालय जाने तयारी गरेका छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार सरकारको दाबी गर्न आह्वान गर्ने वित्तिकै विपक्षी गठबन्धन सरकारको दाबी गर्न जाने तयारीमा लागेका हुन्।
विपक्षी गठबन्धनबाट प्रस्तावित मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आजै सरकारको दाबी गर्ने बताए।
‘हामी आजै सरकारको दाबी गर्छौ’, नेपालीले सेतोपाटीलाई भने, ‘माननीयहरु जुट्दै हुनुहुन्छ।’ प्रदेश प्रमुख पौडेलले सरकारको दाबी गर्न २४ घण्टा समय दिएकी छिन्।
संविधानको धारा १६८ उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका एमाले नेता पृथ्वीसुब्बा गुरुङले उपधारा ४ अनुसार बिहीबार विश्वासको मत पाएका थिएनन्।
संसद सचिवायले शुक्रबार उक्त जानकारी प्रदेश प्रमुखलाई दिए लगत्तै नया सरकार गठनको आह्वान गरिएको हो। माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि आजै सरकार गठनको प्रस्ताव लिएर जाने तयारी गरेको बताए।
‘सरकारको दाबी गर्न आजै प्रदेश प्रमुखको कार्यालय जान्छौं’, चुमानले सेतोपाटीलाई भने। गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकूद मन्त्री रहेका राजिव गुरुङ ‘दीपक’ मनाङे विपक्षी गठबन्धनलाई सघाउने घोषणा गरेर विश्वासको मत दिन गएका थिएनन्।
मनाङेको समर्थनबाट विपक्षी गठबन्धनलाई आवश्यक बहुमत ३१ पुग्छ। यता, आजै जनमोर्चाले प्रदेश सभा सदस्य कृष्ण थापालाई दोस्रोपटक पदमुक्त गरेको थियो।
पहिलोपटक पदमुक्त भएपछि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट सांसदमा पुनर्बहाली भएका थापाले पार्टी ह्विप उल्लङ्घन गरेको भन्दै जनमोर्चाले फेरी उनलाई पदमुक्त गरेको हो। यद्यपी थापालाई पहिलो पटक पदमुक्त गरेको मुद्धा अदालतमा विचाराधीन छ। थापाले पार्टी ह्विप विपरीत कांग्रेस नेतृत्वको सरकार गठन गर्न अस्वीकार गर्दै आएका छन्।