राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीकाे समर्थनको पत्रसहित गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् ।
गुरूङले जनमाेर्चाकाे कृष्ण थापाकाे पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका छन्। तर, जनता समाजवादीका सांसदहरूले भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन्। बाबुराम भट्टराई निकट ती सांसदहरूले आफूहरूले हिजै विपक्षीलाई साथ दिन भन्दै हस्ताक्षरसमेत गरिसकेको बताए।
यद्यपी जनता समाजवादीको महन्त पक्षको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो।
विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै दाबी पेस गरेका हुन्। पार्टीले आफूलाई गरेको कारबाही गैह्रकानुनी भएको भन्दै उनले मुख्यमन्त्रीमा गुरूङलाई समर्थन गर्ने बताएका हुन्।
२७ गते विश्वासकाे मत नपाएका गुरूङले अहिले फेरि दाबी गरेका हुन्।
यसअघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नाे पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा श-शरीर उपस्थित गराई मुख्यमन्त्रीकाे दाबी गरिसकेका छन्।
जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।
गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरे पनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन्।