कर्णाली प्रदेश सरकारले शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच हाँसिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता र रणनीतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
कोभिड महामारी न्यूनिकरण, रोकथाम, नियन्त्रण तथा उपचारको उचित व्यवस्था गर्दै आवश्यक औषधि एवम् औषधिजन्य सामग्रीको सहज आपूर्ति गरी नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकता दिने नीति तथा कार्यक्रममार्फत प्रतिबद्धता गरिएको छ।
कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा विश्वव्यापी रूपमा आक्रान्त बनाईरहेको कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
सुर्खेतमा ५०० शैय्याको कोभिड अस्पताल निर्माण, जिल्ला अस्पतालमा कम्तिमा एक भेन्टिलेटर र पाँच वटा आईसीयुसहित ५० शैय्याको कोभिड उपचार कक्ष, कर्णालीका सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था गर्ने, परीक्षणको दायरा बढाउने, हिमाली तथा दुर्गम जिल्लाका कोभिड संक्रमितलाई हवाई सेवा उपलब्ध गराउने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
अस्पताल भर्ना भएका कोरोना संक्रमितहरुको निःशुल्क उपचार तथा पोषिलो खानपानका लागि अस्पतालबाट नै व्यवस्था गर्ने, महामारी नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि स्वयम्सेवकहरु परिचालन गर्ने, कोभिड नियन्त्रणमा खटिएको स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र निःशुल्क उपचारको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
यसबाहेक कोभिडबाट पीडितहरुका लागि पनि छुट्टै कार्यक्रमहरु सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नागरिकको आधारभूत स्वास्थ्य सेवा उपलब्धतासँग सम्बन्धित मौलिक हक कार्यान्वयनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना पनि समावेश गरिएको छ ।
ज्येष्ठ नागरिकलाई लक्षित गरी प्रदेश प्रमुख दन्त उपचार सेवा तथा देशदर्शन कार्यक्रम सञ्चालन गर्ने, प्रदेशमा स्वास्थ्य सामग्री, औषधि एवम् उपकरणको सहज एवम् प्रभावकारी आपूर्ती गर्न प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र स्थापना गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
हेर्नुहोस् पूर्ण पाठ