सरकारको दाबीबाट एमाले नेता पृथ्वी सुब्बा गुरुङ पछाडि हट्नुमा माधव नेपाल पक्षले दिएको चेतावनी कारक मानिएको छ।
गण्डकी प्रदेशका नेपाल पक्षका एक मात्र सांसद इन्द्रलाल सापकोटाले प्रदेश सभा विघटनतर्फ गए आफ्नो समर्थन नरहने र विद्रोह गर्ने चेतावनी गुरुङलाई दिएका थिए।
गुरुङ आफू सत्ताबाट हट्नुपर्ने अवस्थामा सभा नै विघटन गर्ने मनस्थितिमा पुगिसकेको गाइँगुइ चलिरहेको थियो। यहीबीच माधव पक्षका सांसदले गुरुङमाथि दबाब बढाएका थिए।
‘मैले विश्वासको मत लिँदा पनि तपाईंलाई समर्थन जनाएकै हो, विघटनको बाटोमा लाग्नुभयो भने साथ दिन सक्दिनँ,’ सापकोटाले गुरुङलाई भनेका थिए, ‘प्रदेश सभा विघटन भयो भने तपाईंकै हाइट पनि घट्छ, असंवैधानिक पनि हुने भएकाले यस्तो बाटोमा नजानुस्, जानु भयो भने म विद्रोह गर्छु।’
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीमा दाबी गर्न दिएको समय सकिएर विपक्षी गठबन्धन सडकमा धर्ना बसिरहेका बेला सापकोटाले मुख्यमन्त्रीलाई आफ्नो धारणा बताएका थिए। उनले एमाले गण्डकीका संसदीय दलका मुख्य सचेतक मायनाथ अधिकारीलाई पनि उक्त जानकारी दिएको बताए।
‘केन्द्रमा जे भए पनि यहाँ मैले मुख्यमन्त्रीलाई साथ दिएकै हो, कहीं कतै अब्जेक्सन गरेको छैन,’ सापकोटाले सेतोपाटीलाई भने, ‘विघटनको बाटोमा जान नदिन मैले आफ्नो पोजिसन भन्नैपर्यो।’
प्रदेश सभा विघटन भए विपक्षी गठबन्धनसँगै आफू पनि आन्दोलनमा जान बाध्य हुने उनले बताएका थिए।
उक्त अडानमा आफूसहित चार जना एमाले सांसद रहेको दाबी गरे। सापकोटासँग उक्त अडानमा यसअघि ओली पक्षका सांसद मानिएका रोशन गाहा मगर र महेन्द्र थकाली पनि रहेको उनले बताए।
आफ्नै पार्टीभित्र बिग्रह देखिने भएपछि गुरुङले मुख्यमन्त्रीको दाबीबाट पछाडि हटेको बताइएको छ। त्यसपछि गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई फोन गरेर जबरजस्ती सत्तामा बस्न नचाहेको भन्दै संविधान अनुसार नै निर्णय गर्न आग्रह गरेको गुरुङको सचिवालयले जनाएको छ।
पौडेलले मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र नेपालीलाई नियुक्त गरेको पत्रमा तोकिएको समयभित्र मुख्यमन्त्रीको दाबीमा नेपालीको एक मात्र निवेदन परेको उल्लेख गरेकी छिन्। मुख्यमन्त्रीमा नेपालीको एकल दाबी परेका कारण उनलाई मुख्यमन्त्री नियुक्त गरेको पौडेलले दाबी गरेकी छिन्।
प्रदेश प्रमुखले शुक्रबार सरकार गठन गर्न आह्वान गरेपछि शुक्रबार नै नेपालीसहित विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेर मख्यमन्त्री दाबी गरेका थिए। शनिबार सत्तारुढ एमालेले पनि मुख्यमन्त्री दाबी गरेका थिए, जुन प्रदेश प्रमुखले उल्लेख गरिनन्।
एमाले संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्री दाबी गरेको खबर पाएपछि विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुख निवास अगाडी धर्ना बस्न पुगेका थिए।
गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले समर्थन गर्ने पत्रसहित मुख्यमन्त्रीमा दाबी गरेको उल्लेख गरेका थिए। जबकि, थापालाई जनमोर्चाले फेरि सांसद पदबाट मुक्त गरिसकेको छ भने जसपाका दुई जना सांसद नै विपक्षी गठबन्धनमा उत्रिएका थिए।
यही जेठ २७ गते मात्र संसदबाट विश्वासको मत पाउन नसकेका गुरुङले यसरी फेरि मुख्यमन्त्रीमा दाबी गरेको भन्दै विपक्षी गठबनधन आक्रोशित बनेका थिए। उनीहरुले सडकमा धर्ना दिएर असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक दाबी भनेर आलोचना गरेका थिए।
प्रदेश प्रमुख निवास अगाडी धर्नामा बसेका सांसदहरू समेत अब प्रदेश सभा विघटनतर्फ जान सक्ने भन्दै कानुनी लडाइँ लड्ने बताइरहेका थिए। प्रदेश प्रमुख पौडेलले पनि आवश्यक निर्णय दिन ढिलाइ गरिरहेको थियो। तर, साँझ विपक्षी गठबन्धनका कार्यकर्ताले नाराबाजी गर्न थालेपछि एक्कासी मुख्यमन्त्रीमा नेपालीलाई नियुक्त गरेको जानकारी प्रदेश प्रमुखले गराइन्।
उक्त जानकारी पाएपछि धर्नाबाट नवनियुक्त मुख्यमन्त्री नेपालीसहित सांसदहरु उठे। कार्यकर्ताले नाराबाजीका ठाउँमा नेपालीलाई बधाइ दिन थाले।
मुख्यमन्त्रीमा एमाले नेता गुरुङको दाबी के भयो त? गुरुङ निकट एमाले सांसद धनञ्जय दवाडीले मुख्यमन्त्रीमा आफ्नो पार्टीबाट दाबी नै नगरेको बताए। ‘हाम्रा सांसद यति जना छौं, भनेर हामीले प्रदेश प्रमुखलाई जानकारी गराएका हौं,’ उनले भने। जबकि, गुरुङकै मन्त्री विकास लम्सालले समेत सरकारमा आफूहरूको दाबी रहेको शनिबार दिउँसो जानकारी गराएका थिए।