प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कुनैबेला जसरी पनि सप्तकोशीमा रहेको खुवालुङ (पानीढुंगो) फुटाउने योजनामा लागेको प्रदेश १ सरकार अन्ततः त्यसको संरक्षणमा जुट्न नीतिगत रूपमै तयार भएको छ।
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा प्रदेश सरकारले खुवालुङ संरक्षण गरेर जल यातायात सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ। आइतबार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममा उठेका सवालमा जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले खुवालुङबाहेकका ढु्ंगा फु्टाउने तर खुवालुङ संरक्षण गरिने बताए।
‘खुवालुङ फुटाइन्छ भनेर भ्रम धेरै फैलाइयो’, मुख्यमन्त्री राईले भने, ‘हामीले नीति कार्यक्रममै त्यसको संरक्षणको योजना अघि सारेका छौं। संरक्षण हुन्छ, गरिनेछ।’
अहिले मुख्यमन्त्री र सरकारले संरक्षणमा लाग्ने प्रतिवद्धता जनाए पनि केही महिना अघिसम्म संघ र प्रदेश सरकार खुवालुङ फुटाउने जोडबलमै लागेको थियो। प्रदेश सरकारका मन्त्रीहरू नै विपक्षीले एउटा ढुंगा अघि सारेर राजनीति गरेको बताइरहेका थिए। किरात समुदायको आस्थाको केन्द्र र अलिखित अभिलेख मानिने खुवालुङलाई फुटाउने सरकारी योजनाको सर्वत्र विरोध भएको थियो।
सरकारी घोषणालाई यसको संरक्षणका पक्षमा लागेका अभियन्ताले स्वागत गरेका छन्। सरकारी घोषणा कार्यान्वयनको पाटो हेर्नुपर्ने उनीहरू बताउँछन्।
‘जसरी पनि फुटाउने भनेर लागेका प्रधानमन्त्री र मुख्यमन्त्री खुवालुङ संरक्षण गर्ने ठाउँमा आइपुग्नु सुखद् छ’, साँघुरीगढी गाउँपालिकाका राजकुमार राईले भने, ‘यसको कार्यान्वयन हेर्न बाँकी छ।’
राईको सुरूदेखि नै खुवालुङ संरक्षण अभियानमा सहभागी छन्।
गएको फागुनमा प्रधानमन्त्री ओलीले सरकारी आमसभामार्फत् घोषणा गरेको सप्तकोशीको खुवालुङ (ढुंगो) फुटाउने योजना नागरिक प्रतिरोधको बलमा त्यसबेला रोकिएको थियो। तर, मुख्यमन्त्री शेरधन राईले चैत ६ मा सेतोपाटीलाई दिएको संक्षिप्त अन्तरवार्तामा सरकारले तीन वटा विकल्पमा छलफल अघि बढाउने तयारी गरेको बताएका थिए।
‘हामी यसबारे दुई तीन वटा विकल्पमा छलफल गरिरहेका छौं’, मुख्यमन्त्री राईले सेतोपाटीसँगको कुराकानीमा भनेका थिए ‘पहिलो, त्यो ढुंगालाई क्रेनले सारेर, जस्ताको तस्तै उठाएर अन्यत्र राख्ने। दोस्रो, ढुंगाको खास भागलाई अर्को ठाउँमा सार्ने र त्यो क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने। तेस्रो, विकल्प हो नदीको वहावलाई नै परिवर्तन गर्ने।’
मुख्यमन्त्रीले अघि सारेका ती विकल्पको पनि सर्वत्र विरोध र आलोचना भयो। प्रदेशसभाका सांसदहरूको टोली, नागरिक आन्दोलनका अभियन्ता, संस्कृति संरक्षणका अभियन्ता खुवालुङ क्षेत्रमै पुगेर ढुंगा फुटाउने योजना गलत रहेको भन्दै प्रतिरोध गरेका थिए। सरकारी टोली पनि खुवालुङ पुगेर अवलोकन गरेर फर्केको थियो, जसको नेतृत्व मुख्यमन्त्री राईले नै गरेका थिए।
प्रदेश १ का तीन जिल्ला भोजपुर, उदयपुर र धनकुटाको सीमास्थलमा रहेको त्रिवेणीमा रहेको यो ढुंगो (खुवालुङ) सरकारी तारोमा परेपछि सुरू भएको प्रतिरोध श्रृंखलाकै बलमा यसपटक सरकारले त्यसको. संरक्षणको योजना नीतिगत रुपमै गर्न बाध्य भएको हो।
के हो खुवालुङ ?
किरात राई भाषामा ‘खुवा’ भनेको पानी हो भने ‘लुङ’ भनेको ढुंगा। कोसीको बीचमा भएको यो ढुंगालाई सोहीकारण खुवालुङ भनिएको हो। यसलाई पानीढुंगो पनि भन्ने गरिएको छ।
अनुसन्धाता एवम् लेखक भोगिराज चाम्लिङका अनुसार मुन्धुमी लोककथाअनुसार किरातीका पुर्खा खुवालुङ क्षेत्रबाट बाँडिएका हुन्।
‘उहिले किराती पुर्खाहरूले पार गर्ने बेला खुवालुङ बन्द थियो। पहिलो समूहले खुवालुङ खुलाउन जुरेली चराको भोग दियो। चराको रगत परेपछि खुवालुङ खुल्यो र पहिलो समूहले नदी पार गर्यो’, खुवालुङको ऐतिहासिक सन्दर्भ उप्काउँदै चाम्लिङ थप्छन् ‘त्यसपछि दोस्रो समूह आइपुग्यो र आफ्नै चेलीको औंला थोरै चोट पारेर खुवालुङलाई रगत पारिदियो। खुवालुङ खुल्यो। उनीहरू पनि कोसी तरेर पहाडतर्फ उक्लिए।’
एंव रितले किराती पुर्खाका थुप्रै समूहले पटकपटक खुवालुङ पार गरेको र खुवालुङ पार गरेपछिे किरातीहरू आ-आफ्नो बाटो लागेको चाम्लिङ बताउँछन्। सप्तकोसीका विभिन्न धार समातेर हिँड्नेहरू प्रकारान्तरले किरात समुदायका विभिन्न हाँगामा बाँडिएको उनी बताउँछन्। उनका अनुसार जसले तमोर पछ्यायो, उनीहरू अहिले लिम्बू भनेर चिनिन्छन्।
अरुण नदीको धार पहिल्याउँदै अघि बढ्नेहरू याम्फू, लोहरूङ, मेवाहाङ राई भनेर चिनिए। जुन समूहले दूधकोसी पछ्यायो, उनीहरू तिलुङ, चाम्लिङ, वाम्बुले, जेरोङ, बाहिङ/बायुङ, बान्तावा, साम्पाङ, दुमी, कोयी/कोयू, कुलुङ, खालिङ, नाछिरिङ, थुलुङ राई भनेर चिनिएको र सुनकोसी पछ्याउनेहरू कोँइच (सुनुवार), जिरेल, सुरेल, हायू, थामी भनेर चिनिएको उनी बताउँछन्। त्यस्तै खुवालुङ नतरीकन तराईमै बस्नेहरू थारू, धिमाल, मेचे, कोचे बनेर चिनिए।
‘मुन्धुमी मिथकले खुवालुङलाई किरातीहरूको साझा थलोका रूपमा व्याख्या गरेको छ’, चाम्लिङ भन्छन्, ‘मुन्धुमअनुसार खुवालुङभन्दा मुनि दक्षिणतिरको भूभाग थारू, धिमाल, मेचे, कोचेहरूको हो, उत्तरतर्फको भूभाग किरातीहरूको। त्यसैले खुवालुङ एउटा सांस्कृतिक सिमाना पनि हो।’
खसवालुङ किरात नछुङ (धामी) हरूले धेरै संस्कार गर्ने क्रममा पुकार्ने थलो पनि हो।
‘सांस्कृतिक यात्राको थालनी नियामा भन्ने आदिम थलोबाट सुरू भएर पैतिप, जोजिला, खैबर, जम्मु, योँला, थारू–बाजी–साप्ते, वराहा-चतरा हुँदै खुवालुङ आइपुग्छ,’ चाम्लिङ थप्छन्, ‘अर्को भाषामा भन्दा किरातीहरूको आदिम बसाइँसराइको वर्णनका क्रममा उल्लेख हुने एउटा महत्वपूर्ण थलो पनि हो खुवालुङ।’