गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट पदमुक्त भएका एमाले नेता पृथ्वीसुब्बा गुरुङले विपक्षी चार दलीय गठबन्धन बन्नुमा एमाले नेताहरूलाई नै दोष दिएका छन्।
एमालेका माधवकुमार नेपाल पक्षलाई संकेत गर्दे उनले भने, ‘हाम्रो दलका नेताले अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन नगएको भए यो गठबन्धन बन्ने थिएन। जमिरहेको दहीमा कागती निचोरेजस्तो भयो नि।’
मुख्यमन्त्रीबाट गुरुङलाई पदमुक्त गर्न नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले मोर्चाबन्दी गरेका थिए। एमाले बाहेकका दल र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा शनिबार कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री नियुक्त भएको थिए।
प्रदेश सरकार स्थापना भएपछि शून्यबाट काम सुरू गरेर अहिले गौरव गर्ने अवस्थामा पुर्याएको गुरुङले बताए। विपक्षी गठबन्धनका सांसदले देखाएको व्यवहारप्रति उनले असन्तुष्टि जनाए। प्रदेश प्रमुखलाई छलफल र विमर्श गर्नसमेत समय नदिएको भन्दै विपक्षी गठबन्धनले सडकबाट सत्ता मागेको बताए।
‘मुख्यमन्त्रीबाट गलहत्याएर हटाउनु पर्नेजस्तो जंगली व्यवहार गर्नुभयो, सत्ता प्राप्तिका लागि बल देखाउनुभयो’, उनले भने, ‘बल देखाएर सत्ता प्राप्ति हुँदैन।’
मुख्यमन्त्रीमा आह्वान भएपछि सदनमा रहेका सभामुखबाहेक ५९ जना सांसदले नै दाबी पेश गर्न सक्ने उनले बताए।
‘मुख्यमन्त्रीमा दाबी गर्ने कुरा अपराध हो? मेरो दलका २७ सांसदको लिष्ट दिएको हो, त्यो गर्दा अपराध हुन्छ?,’ उनले भने, ‘मुख्यमन्त्रीको दाबी नगरी हामी यति जना छौं भनेर नाम पेश गरेका हौं।’
विपक्षी गठबन्धन लामो समय टिक्न नसक्ने गुरुङको दाबी छ। उनले भने, ‘अप्राकृतिक गठबन्धन भन्दा प्रश्न उठाउँछन्। कुर्ची प्राप्तिमा केही तलमाथि हुनेबित्तिकै त्यहाँ झगडा हुन्छ।’
सरकार परिवर्तन भइरहने भन्दै प्रदेश सभा ५ वर्ष चल्नुपर्ने उनले बताए।
‘राजनीति भनेको निष्ठा र आदर्श हो, कोही विचलित हुन सक्छन,’ उनले भने, ‘म मुख्यमन्त्री हुन्छु कि हुँदिनँ भनेर हैन, यो प्रदेश सभा ५ वर्ष चल्नुपर्छ, चल्यो भने संघीयताले औचित्य पाउँछ।’
एमाले स्थायी कमिटी सदस्य समेत रहेका गुरुङले अब आफू प्रतिपक्षमा बसेर प्रभावकारी भूमिका खेल्ने बताए। मुख्यमन्त्री निवासमा आइतबार पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘विपक्षमा रहेर प्रभावकारी भूमिका खेल्छौं, पार्टी राजनीतिमा पनि भूमिका खेल्ने समय पाएको छु।’
नेपालको राजनीतिमा कुनै दल बलियो हुनेबित्तिकै ध्वंस पार्ने प्रवृत्ति रहेको उनले बताए। २०१७ सालदेखि नै दलहरू बलियो भएर सरकार सञ्चालनमा जाँदा पार्टी भित्रैबाट ध्वंस पार्ने प्रवृत्ति हट्न नसकेको उनको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विपक्षी गठबन्धन बनेको र त्यसको शिकार तपाई भएको हो? भन्ने प्रश्नमा उनले केपी ओली मात्रै समस्याको जड नभएको दाबी गरे।
‘यो सबै समस्याको जड केपी ओलीमात्र हो त? अरू नेताको भूमिका के रह्यो? प्रमुख प्रतिपक्षी दलको भूमिका के? सबै पार्टीमा झगडा छ, पार्टीहरू चिरा परेको छ,’ उनले भने।
गण्डकीमा पनि प्रदेश सभा विघटनको बाटोमा जान लागेको भन्दै विपक्षी दलले आरोप लगाएका थिए। प्रधानमन्त्री ओलीबाट संसद विघटन गर्न मुख्यमन्त्रीलाई दबाब आएको अस्वीकार गर्दै उनले आफू प्रधानमन्त्री ओलीले भन्दैमा निष्ठा नत्याग्ने दाबी गरे।
‘पृथ्वीसुब्बा केपी ओलीले भनेर आफ्नो निष्ठा त्याग्ने मान्छे होइन,’ उनले भने, ‘गलत हर्क गरेर मुख्यमन्त्री बन्ने चाहना हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि हुँदैन।’
विपक्षी गठबन्धनले सरकार गठन गरेपछि मुख्यमन्त्रीका बाधा कहाँ-कहाँ रहेछ भन्ने अब थाहा पाउने उनले बताए।
गुरुङ नेतृत्वकै सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका दीपक मनाङेले मन्त्रीकै हैसियतमा विपक्षी गठबन्धनलाई समर्थन गर्न पुगेकोप्रति उनले आक्रोश जनाए।
‘फोहोर मान्छे राजनीतिमा गयो भने फोहोर हुन्छ,’ मनाङेप्रति लक्षित गर्दै उनले भने, ‘सबै डाँकु वाल्मिकी हुँदैन रहेछ, धतुरोको बोट आँगनमा रोपेर अमृत पाइँदैन।’
मनाङे पहिला एमालेमा प्रवेश गरेको र एमालेकै समर्थनमा मनाङबाट निर्वाचन जितेको भन्दै गुरुङले आफूले मनाङेलाई सुधार्न चाहेको बताए। मनाङेलाई सांसदको सपथ खुवाउन सभामुख र विपक्षी गठबन्धनका सांसदहरू नमानेको स्मरण गर्दै उनले एमालेमा प्रवेश गरे पनि आफूले कारबाही नगरेको बताए।
मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएपछि ११ वटा मन्त्रालय बनाएका गुरुङले सरकार टिकाउनका लागि नभई प्रदेश सरकारलाई प्रभावकारी बनाउन मन्त्रालयको संख्या थप गरेको बताए।
‘सरकार टिकाउन मन्त्रालय थपेको भनेर मलाई भनेको थिए’, उनले भने, ‘अब हेरौं न उहाँहरूले के गर्नुहुन्छ।’