कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएका परिवारलाई आर्थिक सहयोग दिने गण्डकी प्रदेशले नीति लिएको छ।
प्रदेश सरकारले सोमबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा उक्त व्यवस्था गरेको हो।
कोरोना संक्रमणबाट अभिभावक गुमाएका बालबालिका, जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत आमनागरिकलाई आर्थिक सहायता उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेकी थिइन्।
नीति तथा कार्यक्रममा कोरोना महामारीका कारण मर्कामा परेका व्यवसायीलाई सहायता दिने जीवनरक्षा कर्जालाई निरन्तरता दिने जनाएको छ।
यस्तै, पर्यटन, यातायात, कृषि उत्पादन र सेवा क्षेत्रमा परेको क्षेती कम गर्न उक्त कर्जाको उपयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
शनिबारमात्रै गठन भएको कांग्रेस नेता कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले पहिलो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको हो।
नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्थापना गरेको संक्रामक तथा सरूवा रोग अस्पताल भवन बनाउने उक्त अस्पतालमा सबै प्रकारका सरूवा रोगको उपचार गराउने गरी स्तरवृद्धि गर्ने उल्लेख छ।
नीति तथा कार्यक्रमा प्रदेशका सबै निर्वाचन क्षेत्रमा आवासीय विद्यालय स्थापना गर्ने, दुर्गमका गर्भवती र नवजात शिशुलाई हेलिकप्टरमार्फत उद्धार गर्ने लगायतका कार्यक्रमलाई पनि निरन्तरता दिने उल्लेख छ।
यस्तो छ, प्रदेश सरकारका नीति तथा कार्यक्रम।