गण्डकीका सांसद पदबाट मुक्त भएका जनमोर्चाका कृष्ण थापाले आफूलाई १८ महिनाका लागिमात्र हराएको दाबी गरेका छन्। सर्वोच्च अदालतले अन्तिम आदेश दिँदै उनको सांसद पद खारेज भएपछि सेतोपाटीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘मैले साढे ३ वर्ष जितें, मलाई १८ महिनाका लागि हराए।’
सांसद पदमा निर्वाचित भएपछि आफूले साढे ३ वर्ष पार्टी र संसदको काम गरेको र बाँकी अवधि १८ महिनाका लागि मात्रै हारेको उनले भनाइ छ। अदालतले यसअघि दिएको अन्तरिम आदेशले आफ्नो सांसद पद पुनर्बहाली गरिदिएको भन्दै अहिले अन्तिम आदेशमार्फत् खारेज गरेको निर्णयले आफूलाई आश्चर्य लागेको थापाले बताए।
पार्टीले सांसद पद र पार्टी साधारण सदस्यबाट समेत निकालेको भन्दै थापाले राजनीति गर्ने बाटो थुनिए पनि जनताको सेवा गर्ने बाटो खुला रहेको बताए।
‘राजनीतिको बाटो थुनिए पनि जेलभित्र बस्न त पर्दैन नि’, उनले भने, ‘गाउँको, समाजको सेवा गर्ने बाटो बन्द छैन, मेरो जीवन अब त्यतै हुन्छ।’
जनमोर्चामा जीवनको ४० वर्ष बिताएको भन्दै उनले अब अर्को पार्टीमा जाने सोच आफ्नो नभएको उनले बताए। पार्टीले १ वर्षका लागि कारबाही गरेको भन्दै त्यसपछि फेरि जनमोर्चाकै राजनीतिमा फर्कने थापाले बताए। पार्टी कसैको पेवा नभएको उनको भनाइ छ।
पार्टी निर्णयविपरीत गण्डकीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थनका विषयमा भने आफूले आत्मआलोचना नगर्ने थापाको प्रष्टोक्ति छ।
उनले भने, ‘म आत्मआलोचना गर्दिनँ। मेरो एजेण्डा भनेको सामन्तवादी सोच भएको कांग्रेसलाई समर्थन नगर्नु नै हो। यो विषयमा जनताका अगाडि माफी माग्नु पर्दैन, मैले जनभावनामा कहिल्यै पनि कुठाराघात गरिनँ।’
सत्ता स्वार्थमा जनमोर्चालाई कांग्रेसले अग्रिम बुकिङ गरेको भन्दै उनले पार्टीलाई बधाई र अरूलाई शुभकामना दिए। सांसद पदमा अब उम्मेदवार बन्ने आफ्नो चाहना नरहेको भन्दै थापाले अरू कार्यकर्ताले अवसर पाउनुपर्ने बताए।
‘सांसदको टिकट पाएको ३ वर्ष भयो, अरूले पाएका छैनन्, हजारौं कार्यकर्ता भएको पार्टीले अरूलाई पनि अवसर दिनुपर्छ,’ उनले भने, ‘पद केही समयका लागि हो, नैतिकता, इमान र जमान सधैंका लागि हो।’
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि कांग्रेस नेतृत्वमा बनेको गठबन्धनलाई सघाउने जनमोर्चाले निर्णय गरेको थियो। उक्त निर्णयकाविरूद्ध गण्डकीमा एमाले नेतृत्वको सरकार टिकाउन थापाले भूमिका खेलेका थिए।
कांग्रेस नेतृत्वमा सरकार बनाउन पार्टी ह्विप उल्लंघन गरेको भन्दै जनमोर्चाले पार्टी साधारण सदस्यबाट निलम्बन गरेको थियो भने २ पटक सांसद पदबाट पदमुक्त गरेको थियो। थापालाई सांसद पदबाट निष्कासन गर्ने जनमोर्चाको निर्णय सर्वोच्चले सोमबार सदर गरिदिएको थियो।