बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी नामका अघि सधैं ‘प्राध्यापक डाक्टर’ लेख्छन्। तर, उनलाई धेरै समयदेखि चिन्नेहरू उनी प्राध्यापक भएकै कुरामा शंका गर्छन्।
चिकित्सकीय सेवाको लामो समय कोशी अस्पताल र केही निजी अस्पतालमा बिताएका उनी कहिले कुन विश्वविद्यालयका प्राध्यापक बने? नियुक्तिकै बेलादेखि सार्वजनिक वृत्तमा उठेको यो प्रश्नले अब प्रतिष्ठानभित्रै प्रवेश पाएको छ।
यसबारे डा. गिरीले अहिलेसम्म खण्डन गरेका छैनन्।
उनका विरोधमा आन्दोलनरत प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरूले उनलाई कहिले कुन विश्वविद्यालयबाट प्राध्यापक बनेको हो त्यसको प्रमाण देखाएर ‘सबैलाई गलत साबित गरिदिन’ सुझाव दिएका छन्।
उनैलाई समर्थन गरेको शैलीमा प्रचार सामग्री बनाएर उनीहरूले ‘प्राध्यापक बनेको प्रमाण देखाएर देशव्यापी रूपमा भइरहेको आलोचनाको जवाफ दिन’ सुझाव दिएका हुन्।
डा. गिरीसँगै कोशी अस्पतालमा लामो समय काम गरेका एक चिकित्सकका अनुसार गिरी पेशागत रूपमा राम्रै डाक्टर हुन्। कार्डियोलोजिष्ट गिरीले शैक्षिक अभ्यास गरेको आफूलाई कहिल्यै थाहा नभएको ती चिकित्सक बताउँछन्।
कुनै पनि विश्वविद्यालयबाट प्राध्यापक पदवी प्राप्त गर्ने लामो प्रक्रिया हुन्छ। विश्वविद्यालयले निश्चित मापदण्ड पूरा गरेर योग्यता पुगेपछिमात्र उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक नियुक्ति गर्छ।
पर्याप्त अनुभव, शैक्षिक अभ्यास, शोधहरू गरेर पनि विश्वविद्यालयले तोकेको परीक्षा पास गरेपछि मात्रै प्राध्यापकको उपाधि पाइन्छ।
‘यसका लागि कम्तीमा २० वर्ष त लाग्छ नै,' डा. गिरीका पूर्व सहकर्मी ती चिकित्सक भन्छन् ‘उहाँले ती सबै प्रक्रिया पूरा गरेको हामीलाई कहिल्यै जानकारी भएन।’
उनलाई नजिकबाट चिन्नेहरूले उठाइरहेको प्रश्न अहिले बिपी प्रतिष्ठानका चिकित्सक र विद्यार्थीले आन्दोलनका दौरानमा औपचारिक रूपमा उठाएका हुन्।
बिपी प्रतिष्ठानको उपकुलपति हुन प्राध्यापक नै हुनुपर्छ भन्ने बाध्यकारी कानुनी व्यवस्था भने छैन। प्रतिष्ठानको ऐनमा ‘चिकित्सा विज्ञान विषयका विशिष्ट विद्वानहरूमध्येबाट’ उपकुलपति नियुक्त हुने उल्लेख छ।
‘तर, प्रश्न उहाँ उपकुलपति हुन योग्य कि अयोग्य भन्ने नै होइन,' आन्दोलनरतमध्येका एक चिकित्सकले सेतोपाटीसँग भने, ‘बिपी प्रतिष्ठान एउटा शैक्षिक प्राज्ञिक संस्था हो, जसको कार्यकारी प्रमुख किर्ते उपाधिको विवादमा परेको छ। तर, त्यसबारे कहिल्यै प्रष्ट गर्दैन भने त्यो प्रतिष्ठानकै मर्यादाको विषय बन्छ। हाम्रो चासो त्यहाँ हो।’
उपकुलपति गिरी प्राध्यापक नभएको भन्दै सार्वजनिक रूपमा लगातार आलोचना भइरहेको छ।
यसले प्रतिष्ठानकै प्रतिष्ठामा आँच आएको र त्यसको खण्डन गर्न जरूरी भइसकेको बताउँदै चिकित्सक-विद्यार्थीहरूले प्राध्यापक भएको प्रमाण देखाइदिन उनलाई सुझाव दिएका हुन्।
प्रतिष्ठानमा भएका अनियमितताबारे मुखर बनेर लेख्दै बोल्दै आएका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपति गिरीले स्पष्टीकरण सोधेपछि चिकित्सक विद्यार्थी आन्दोलनमा छन्। त्यही आन्दोलनकै क्रममा संयुक्त संघर्ष समितिले उपकुलपतिलाई यस्तो आग्रह गरेको हो।
बुधबार बिहान झरीका बीचमा चिकित्सक,विद्यार्थी र कर्मचारीहरूले छाता ओढेर प्रदर्शन गरेका थिए।
प्रदर्शनका दौरान संयुक्त संघर्ष समितिले उपकुलपति गिरीलाई दुइटा प्रश्न गरेको छ, जसलाई उनीहरूले प्रचार सामग्री बनाएर सामाजिक सञ्जालमा र प्लेकार्डमा पनि राखेका छन्।
‘यस प्रतिष्ठानको उपकुलपति जस्तो गरिमामय पदमा रहनुभएका यहाँको नाम जोडिएर विभिन्न पत्रपत्रिकाले विभिन्न समयमा प्राध्यापक नै होइन भनेर उठाएका हरेक समाचारको हामी खण्डन गर्न चाहन्छौं,' प्रचार सामग्रीमा भनिएको छ, ‘त्यसैले सही कुराको प्रचार गर्न, यहाँ र प्रतिष्ठानको छवि उँचो राख्न आवश्यक जानकारी दिएर सहयोग गर्न आग्रह गर्दछौं।’
संयुक्त संघर्ष समितिले मागेको जानकारीमा दुइटा प्रश्न छन्। जसको पहिलो प्रश्नमा सोधिएको छ, ‘यहाँलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो?’
सो पत्रको फोटोकपी उपलब्ध गराउन अनुरोध गर्दै सो सामग्री प्रचार गरेर अहिले चलेको हल्ला चिर्न लाग्ने समितिको भनाइ छ।
दोस्रो प्रश्नमा सोधिएको छ, ‘यहाँका ‘शोध’हरू कुन–कुन जर्नलमा, कहिले–कहिले प्रकाशित भएका छन्? सम्पूर्ण ‘शोध’ हरूको डिओआईसहित उपलब्ध गराइदिन पनि समितिले अनुरोध गरेको छ।
‘यति उपलब्ध गराए हामी आफैं उहाँको प्रचार गरेर अहिलेका हल्लाहरू चिर्न लाग्छौं,' फ्याकल्टी वेलफेयर सोसाइटीका महासचिव डा. एसपी रिमालले भने, ‘त्यसले उहाँको र प्रतिष्ठानको मर्यादामा आँच आउनबाट रोक्छ।’
सेतोपाटीले यसबारे सोध्न डाक्टर गिरीलाई पटकपटक फोन गर्दा उनले उठाएनन्। उनको मोबाइलमा मेसेजमार्फत प्रश्न सोधेपछि उनका पिएले भने, 'उहाँ मिटिङमा जानुभएको छ। आएपछि तपाईंसँग सम्पर्क गर्न भनिदिन्छु।'
डा. गिरीलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिपीको उपकुलपतिमा नियुक्त गरेका थिए।
ढकालको चुनावी अभियानमा खुलेरै लागेका गिरी कुनैबेला कांग्रेस निकट थिए। कांग्रेसले उपकुलपति बनाउन सधैं अस्वीकार गर्दै आएपछि २०७४ को चुनाव अघि उनी एमाले प्रवेश गरेका थिए।
त्यसक्रममा उनी भानुभक्त ढकालको निर्वाचन क्षेत्र (मोरङ ६) मा खटिएका थिए, जहाँ कांग्रेसबाट उनका पुराना साथी डा. सुनिल शर्मा पनि लडेका थिए।
डा.शर्मासँग मिलेर नोबेल अस्पताल सुरू गर्नेमा उनी पनि सहभागी थिए। त्यसबेला उनी अस्पतालको प्रशासनिक काम हेर्थे। पछिल्लो समयमा उनी विराट मेडिकल कलेजमा कार्यरत थिए।