राजनीतिक पहुँचको आडमा रवाफ प्रदर्शन गर्दै आएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको बेवास्ताले सुरू भएको आन्दोलन चर्कँदै गएको छ।
प्रतिष्ठानभित्र मौलाएको अनियमिततालाई संरक्षण गरेको आरोप खेपेका उपकुलपतिले त्यसविरूद्ध आवाज उठाउने चिकित्सकहरूलाई तह लगाउन खोजेपछि बिपीमा पछिल्लो आन्दोलन उठेको हो।
‘हामी धेरै अघिदेखि यहाँका अनियमितताको विपक्षमा र चिकित्सक तथा शिक्षक, विद्यार्थीको पक्षमा आन्दोलित थियौं,’ फ्याकल्टी वेलफेयर सोसाइटीका महासचिव डा. एसपी रिमालले सेतोपाटीसँग भने, ‘अनियमितता जारी राख्दै त्यसविरूद्ध बोल्नेलाई धम्क्याउने नियत प्रकट भएपछि आन्दोलनको विकल्प भएन।’
आन्दोलनकै कारण प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीको दैनिकी चार दिनयता फेरिएको छ। अरू बेला शैक्षिक क्रियाकलापमा व्यस्त बन्ने मेडिकल विद्यार्थी र तिनका शिक्षक मंगलबारयता हरेक दिन बिहान जुलुसमा लामबद्ध हुन्छन्।
तिनको आन्दोलनमा अन्य चिकित्सक र कर्मचारीको सहभागिता लगातार बढिरहेको छ। नागरिक समाज, राजनीतिक दलहरू, सामाजिक अभियन्ताहरू यो आन्दोलनमा निरन्तर जोडिँदै र थपिँदै गएका छन्।
हरेक दिन प्रतिष्ठान परिसर र सिंगो धरान सहरले सेतो एप्रोन लगाएका चिकित्सक, विद्यार्थी र स्वास्थ्यकर्मीहरूलाई जुलुसमा देख्न थालेका छन्। तर, जसले उनीहरूका माग सुन्नु र देख्नुपर्ने हो, त्यही निकाय यसबारे बेखबरजस्तै बनिरहेका छन्।
उपकुलपतिसहितका पदाधिकारीले प्रदर्शन गरेको यही बेवास्ताले यहाँको आन्दोलन चर्कंदै गएको छ। यो आन्दोलन र यसको माग अन्ततः उपकुलपति गिरीका लागि प्रत्युत्पादक बन्ने दिशामा अग्रसर भएको छ।
अनियमितताविरूद्ध बोल्ने चिकित्सकलाई धम्क्याएर प्रष्टीकरण लिने कदम सच्याउन उपकुलपतिलाई दबाब दिन सुरू भएको आन्दोलन उपकुलपतिको शैक्षिक योग्यताको खोजी गर्ने तहमा उक्लिसकेको छ। उनको नियुक्तिकै बेला पनि प्रतिष्ठानमा यसबारे कुरा उठेको थियो। तर, आन्दोलनको माग बनिसकेको थिएन।
उपकुलपति गिरी प्रतिष्ठानका चिकित्सक तथा शिक्षकको माग पूरा गर्ने सवालमा पूर्णतः गैरजिम्मेवार बनेको आरोप आन्दोलनकारीहरूको छ।
यहाँ गएको फागुनमा पनि आन्दोलन भएको थियो। त्यस बेला उनीहरूले पदाधिकारीको कार्यकक्षमा ताला लगाएपछि माग सम्बोधन गर्न पदाधिकारी राजी भएका थिए।
तीन वर्षदेखि रोकिएको फ्याकल्टी शिक्षकको बढुवा प्रक्रिया एक महिनाभित्र सुरू गर्ने, कोभिड भत्ता उपलब्ध गराउने, शिक्षकलाई तालिम दिने तथा आवास, इन्टरनेट लगायत सुविधा उपलब्ध गराउने प्रतिबद्धतामा उपकुलपतिसहित सबै पदाधिकारीले हस्ताक्षर गरेका थिए।
फागुन ९ मा भएको उक्त सहमतिको चार महिना बित्न लाग्दासम्म कुनै बुँदा कार्यान्वयनमा गएको छैन।
‘चार महिना भयो सहमति भएको, कुनै पनि बुँदा कार्यान्वयन गर्न पदाधिकारीले पहल गर्नुभएको छैन,’ महासचिव रिमालले भने।
यसलाई आन्दोलनकारीहरूले उपकुलपतिको गैरजिम्मेवार र जवाफदेहीताविहीन कार्यशैली भन्दै आएका छन्।
‘पारदर्शी, जिम्मेवार र जवाफदेही बन्न पदाधिकारीहरूले अस्वीकार गरेपछि आन्दोलन चर्काउनुको विकल्प हामीसँग भएन,’ उपकुलपतिबाट स्पष्टीकरण मागिएका डा. विष्णु पोखरेलले सेतोपाटीसँग भने, ‘अब आन्दोलन बिपीका सारा अनियमितता रोक्ने र यसलाई बचाउने मूल्यमा अघि बढ्नेछ।’
उनका अनुसार यो आन्दोलन दुई वर्षभन्दा अघिदेखि जारी थियो। विभिन्न सम्झौता हुँदै पदाधिकारीले त्यसलाई अल्झाउँदै ल्याएका थिए।
प्रतिष्ठानको फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्षसमेत रहेका डा. पोखरेल नै पछिल्लो आन्दोलनका सर्जक हुन्, जसको एउटा एसएमएसले त्यसको आधारभूमि खडा गरेको थियो।
जुन ९ तारिखका दिन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एउटा एसएमएस गरेका थिए। जसमा उनले लेखेका थिए, ‘सर नमस्कार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीको प्राथमिकतासाथ छानबिन तथा कारबाही गर्नुहोला। एउटा राष्ट्रिय गौरवको प्रतिष्ठान धराशायी बन्दैछ, केही गर्नुहोस्।’
उनले यस्तो एसएमएस गरेको सामाजिक सञ्जालभरि छरियो। त्यो थाहा पाएर उपकुलपति आक्रोशित बनेका थिए। त्यही आक्रोशमा उनले डा. पोखरेललाई प्रष्टीकरण सोधेका थिए।
‘एक जना शिक्षक चिकित्सकले हामीलाई चुनौती दिने भन्दै उहाँ ज्यादै आक्रोशित हुनुहुन्थ्यो,’ बिपीकै एक पदाधिकारीले सुनाए, ‘प्रष्टीकरण त्यही आक्रोशको परिणाम थियो। त्यो बेला यो ढंगले चिकित्सक, विद्यार्थी आन्दोलित हुने कल्पना उहाँमा थिएन।’
प्रतिष्ठानभित्रका अनियमितताबारे खुलेर लेख्ने–बोल्ने गरेकै कारण डा. पोखरेल उपकुलपति गिरीको तारोमा परेको अधिकांश चिकित्सक र विद्यार्थी बताउँछन्।
उनलाई त्यसरी लेख्ने र बोल्ने गरेकै आधारमा स्पष्टीकरण सोधिएको उनीहरूको भनाइ छ। उनलाई ‘तह लगाउन खोज्ने’ उपकुलपतिको कदमविरूद्ध विद्यार्थी मात्रै नभई उनकै सहकर्मी चिकित्सक पनि एकजुट भएका छन्। कर्मचारीहरू पनि समर्थनमा ओर्लिएका छन्। गएको मंगलबारयता उनीहरू निरन्तर आन्दोलनमा छन्।
तत्कालीन स्वाथ्यमन्त्री भानुभक्त ढकालको चुनाव प्रचारमा कार्यकर्ता बनेरै होमिएका डा. गिरीलाई त्यसको बदलामा उपकुलपति उपहार दिइएको मान्नेहरू धेरै छन्।
एकातिर उनले लेख्दै आएको प्राध्यापक पद जाली भएकाले त्यसबारे डा. गिरीले प्रमाण पेस गर्नुपर्ने आवाज उठेको छ भने अर्कातिर अख्तियारले छापा मारेर खरिदसँग सम्बद्ध कागजातहरू लगेको छ।
प्रतिष्ठानमा यी सबै गतिविधि भइरहँदा उपकुलपति गिरी भने काठमाडौं गएर बसेका छन्।
‘उहाँमा हामी कसैलाई गन्दै नगन्ने प्रवृत्ति छ,’ प्रतिष्ठानका एक वरिष्ठ प्राध्यापक भन्छन्, ‘त्यही भएर यो आन्दोलनलाई उहाँले चासो नदिएको हो। तर, अब आन्दोलन उहाँका लागि गलपासो बन्दैछ।’
आन्दोलनरत पक्षसँग सहजीकरण थाल्ने प्रयास भइरहेको ती पदाधिकारी बताउँछन्। आन्दोलनरत पक्षले भने अहिलेसम्म पदाधिकारीबाट औपचारिक रूपमा कुनै खबर नपाएको जनाएको छ। आन्दोलनरत पक्ष सम्झौता गर्ने पक्षमा पनि देखिन्न।
‘बिपीलाई भ्रष्टाचारले गाँजेको छ, यो संस्था लगातार धराशायी बन्दैछ,’ आन्दोलनको अगुवाइ गरिरहेका डा. पोखरेल भन्छन्, ‘अबको आन्दोलन ती सबै अनियमितताविरूद्ध केन्द्रित हुनेछ।’
उपकुलपतिले सोधेको स्पष्टीकरणको जवाफ बुझाइसकेका उनी त्यसबाट आफू र आन्दोलनकारी रत्तिभर विचलित नभएको बताउँछन्।
‘अब जवाफ दिनुपर्ने पालो डा. गिरीको हो,’ उनले भने।