नेकपा एमालेका सचिव भीम आचार्यले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन कुनै शर्त लागू नहुने स्पष्ट पारेका छन्।
सेतोपाटीसँग शुक्रबार भिडिओ कुराकानी गर्दै सचिव आचार्यले पार्टी महाधिवशेनले चुनेको केन्द्रीय कमिटी मान्न कसैका शर्त स्वीकार्न जरूरी नभएको जिकिर गरे।
‘हामीले यहीँ भनिरेका छौं उहाँले मान्नुभएको छैन। उहाँले आफ्नो गुटको मिटिङलाई एमालेको भन्नुभयो त्यसलाई सर्वोच्च अदालतले अवैध भन्यो। यसको दोष पार्टी अध्यक्ष र महासचिवको हो,’ उनले भने, ‘अब खुरूक्क केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक बोलाउनुपर्छ। कुनै शर्त त्यसमा मान्य हुँदैन। निः शर्त एमालेका कमिटीहरू सक्रिय हुनुपर्छ।’
उनले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पार्टी एकता नचाहेको भनेर गलत हल्ला फैलाइएको समेत बताए।
उपचारका लागि भारत जाने क्रममा पार्टीका वरिष्ठ नेता खनालले विभाजनले सकिने भनेर दिएको वक्तव्य प्रधानमन्त्री ओलीतर्फ लक्षित रहेको आचार्यले दाबी गरे। ‘फुटको वातावरण प्रधानमन्त्रीले बनाएको हो। पार्टी विभाजनको आधार उतैबाट तयार भएकाले उतैतिर लक्षित हो’, उनले भने, ‘जो फुटिहाल्नुपर्छ भनिरहेका छन् उनीहरुलाई पनि हो। फुट विघटनको बाटो हो र एकता विजयको बाटो हो भन्नुभएको हो।’
अहिलेसम्म फुटका कारण मार मात्रै खाएको भन्दै उनले एकताबाटै सबै जित निकालेकाले खनालले अलर्ट गराएको बताए।
खनालको वक्तव्य, एमालेभित्रको एकता प्रक्रियालगायतका विषयमा हामीले एमाले सचिव भीम आचार्यसँग भिडिओ कुराकानी गरेका छौं।
कुराकानीका मुख्य अंश- वरिष्ठ नेता खनालले बाहिर जादा आफ्नो अनुपस्थितिमा पार्टीमा दुर्घटना नहोस्, सबै मिलेर पार्टीलाई एकताबद्ध पार्ने काम होस्, पार्टी विभाजन हुँदा लोकतन्त्र कमजोर हुन्छ भनेर एकताको आह्वान गर्नुभएको हो।
- सिंगो पार्टी एक नबनाउने अनि एक दुई नेता तान्दैमा पार्टीको समस्या समाधान हुँदैन।
- नेकपा एमाले भनेकै २०७५ जेठ २ को कमिटी हो। त्यो भन्दा बाहिर जाने प्रश्न हुँदैन। अहिले जसलाई एमाले भनिएको छ त्यो त गुट मात्र हो।
- पार्टीभित्र झगडा परिरहेका बेलामा प्रधानमन्त्रीले एकतर्फी रूपमा प्रतिनिधि सभा विघटन गरेको हो। त्यसविरूद्ध गरिएको हस्ताक्षर फिर्ता लिने कुरै हुँदैन। मुद्दा फिर्ता लिने हो भने विघटन फिर्ता हुनुपर्छ। अथवा यो सबै विषय अदालतले जे गर्छ त्यही मान्ने भनेर छोड्न सकिन्छ।
- एमाले भनेको त्यसको निश्चित सिद्धान्त आकार र संगठनात्मक संरचना हो। एमालेको कार्यकारी कमिटी नवौं महाधिवेशनले चुनेको केन्द्रीय कमिटी हो। त्यसको सचिव म छु। हामीलाई अहिलेसम्मको बैठकमा बोलाइएको छैन।
- एमालेका नाममा जे भए भनेर चर्चा चलाइएको छ। त्यसलाई सर्वोच्च अदालतले समेत खारेज गरेको छ। त्यो गुटबाहेक केही होइन। उहाँले यो जबरजस्ती गरेँ भनेको कुरालाई अदालतले अवैधानिक भन्दिसकेको छ।
- सहमतिका लागि वार्ता टोली बनाएलगत्तै नयाँ नयाँ घटना घटे। उहाँले पार्टीमा कुनै छलफल नगरी विश्वासको मत लिनुभयो। पार्टीमा धम्क्याएर तर्साएर स्पष्टिकरण सोधेर विश्वासको मत लिन खोज्नुभयो। त्यो सम्भव भएन। एमालेका नेतालाई गुटले कारबाही गर्यो। त्यसले तनाव उत्पन्न भएर बार्ता टोली भंग जस्तो भयो। एकता संकटमा परेजस्तो भयो। वार्ता प्रक्रिया अवरुद्ध भएर फुटमा जाने जस्तो देखियो। त्यसपछि औपचारिक वार्ता सुरु गरेको हो।
- अहिले प्रधानमन्त्रीले भनेको कुरालाई आधार मान्ने हो भने उहाँको कुराभित्र यदि छलछाम छैन भने वार्तालाई सकारात्मक सकिन्छ।
- पार्टीको यहीँ हालत भयो भने संसद पुनर्स्थापना भयो भने पनि भोलि कोही पक्ष कोही बिपक्षमा हुन सक्छन्। तर पार्टी मिल्यो भने यसको अनुशासन विधि पद्दति हुन्छ।
- देउवालाई दिएको समर्थनबारे जे गर्छ अदातले नै गर्छ भन्ने हाम्रो स्पष्ट अडान हो।
- अब यो विवाद सक्ने छिट्टै हाम्रो कोशिस छ। हप्ता-दश दिनमा सकिन्छ तर दाउपेच गर्ने हो भने अब यो मिल्दैन। मिल्छ भन्नेमा म ९९ प्रतिशत ढुक्क छु।