जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूलाई पार्टीको प्रथम अध्यक्ष दाबी गर्दै कार्यकारिणी समिती सदस्यको व्यापक हेरफेर गरेका छन्।
जसपा अध्यक्ष ठाकुरले २० जना कार्यकारिणी समिति सदस्यलाई हटाएर आफू निकट नयाँ मनोनित समेत गरेका छन्।
मनोनित हुनेहरुमा पूर्व समाजवादी पार्टीका १४ जना छन् भने पूर्व राजपाका ६ जना छन्। ठाकुरले जेठ ३ गते कार्यकारिणी समिती सदस्यको हेरफेर गरेका हुन्। हेरफेरको पत्र ठाकुरले असार १ गते निर्वाचन आयोगलाई पठाएका छन्।
२०७७ पुस १० गते बसेको जसपा कार्यकारिणी समितीको बैठकले ठाकुरलाई प्रथम अध्यक्षको हैसियतमा कार्यकारिणी समितीको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार दिएको ठाकुर पक्षको दाबी छ।
ठाकुर पक्षले निर्वाचन आयोगमा पुस ५ गतेको कार्यकारिणी समितीले गरेको निर्णयको प्रतिलिपी समेत पेश गरेको छ।
ठाकुर आफूले हेरफेर गरेका कार्यकारिणी समिती सदस्यको बैठक जेठ ६ गते बोलाएका थिए। बैठकले संसदीय दलको नेता चयन गर्ने संसदीय दलको बैठकको निर्णय, संसदीय दलको विधानलगायत अनुमोदन गराएको बताइएको छ। त्यहीँ दिन बसेको ठाकुर पक्षको कार्यकारिणी समिती बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय समेत गरेको थियो।
वैशाख २९ गते ठाकुर पक्षीय सांसदको बैठकले संसदीय दलको विधान पारित गरेको थियो। २० गतेको बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो। विघटीत प्रतिनिधि सभामा जसपाका ३२ सांसद मध्ये २० जना ठाकुर-महतोको पक्षमा थिए।
जसपामा यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित ४ जनालाई पार्टीबाट निष्कासन गरेको छ भने ठाकुर पक्षले यादवलाई पार्टीबाट निष्कासन गरेको थियो।
दुवै पक्षको दावीलई निर्वाचन आयोगले नमानेपछि यादव पक्षले आधिकारीकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।
यादव पक्षले कार्यकारिणीको बहुमत सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा ठाकुर पक्षका ४ नेतालाई कारबाही गरेको पत्र बुझाएको थियो भने। ठाकुर पक्षले यादवलाई कारबाही गरेको पत्र मात्रै बुझाएको छ। तर अब भने ठाकुर पक्षले २०७७ पुस ५ गतेको बैठकको निर्णय भन्दै आफ्ना पक्षमा कार्याकारिणीको बहुमत हुने गरि हेरफेर गरेको छ।
यसैबीच ठाकुरलाई प्रथम अध्यक्ष मान्नेगरि कुनै निर्णय नभएको जसपाका कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादवले सेतोपाटीलाई बताए।
‘हाम्रो पार्टीले ठाकुरजीलाई प्रथम अध्यक्ष मान्ने र उहाँले कार्यकारिणी हेरफेर गर्न सक्ने भनेर कुनै निर्णय गरेको छैन,’ उनले भने।
जसपाका अर्का कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले ठाकुर पक्षले किर्ते काम गरेको बताए।
'उनीहरूका डकुमेन्ट हेर्ने हो भने सत्यता छैन भनेर जसले पनि भन्न सक्छ। बैठकले गर्दै नगरेका निर्णयलाई निर्णय भनेर दावी गरिएको छ,’ उनले भने, ‘उनीहरुका त्यस्ता झुठा विवरणले केही हुनेवाला छैन। निर्णयको माइन्यूटमै रेजर लगाएर आफ्नो तरिकाले डकुमेन्ट बनाइएको छ।'
जेठ ४ गते पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति समेत निकालेका थिए। ठाकुर र यादवले सामुहिक हस्ताक्षर गरेर जेठ ८ र ९ गते कार्यकारिणी समितिको बैठक समेत बोलाएका थिए। यस्तो अवस्थामा जेठ ३ गतेकै मितीमा बैठक राखेर कार्यकारिणी सदस्य हेरफेर गरेको भनेर ठाकुर पक्षले किर्तेमाथि किर्ते काम गरेको यादव पक्षको आरोप छ।