नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट फेरि सभापति चुनिन घनिभूत छलफल थालेका छन्।
भदौ १६-१९ मा काठमाडौंमा हुने महाधिवेशनबाट आफू सर्वसम्मत सभापति चुनिनु पर्ने देउवाको दाबी छ। तर उनलाई उनकै समूहका उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन्।
शनिबार देउवाले प्रदेश नम्बर २ का केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेका थिए। उक्त छलफलमा निधिले आफू सभापति उठ्ने बताएका थिए।
निधिले सभापतिमा दाबी गरेपछि कांग्रेसमा देउवा समूहभित्र तरंग आएको छ।
देउवाले आइतबार बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यलाई निवासमै बोलाएर छलफल गरेका छन्।
आजको छलफलमा देउवाले सुरूमै आफू फेरि पनि सभापति उठ्ने विषय राखेका थिए। सर्वसम्मत रूपमा फेरि सभापति हुन चाहेको र कांग्रेसलाई देशकै एक नम्बरको पार्टी बनाइछाड्ने देउवाको भनाइ थियो।
‘म सर्वसम्मत रूपमा सभापति हुन चाहन्छु, तपाईंहरूको सहयोग चाहियो,’ देउवाका कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘बरू पार्टीलाई सुधार गर्नुपर्ने छ भने बुँदागत रूपमा सुझाव दिन सक्नुहुन्छ।’
सबैको सहयोग भएमा आगामी ४ वर्ष आफू नै सभापति बन्ने देउवाको भनाइ थियो। गाउँ जान र महाधिवेशन प्रतिनिधि ल्याउनदेखि नै भूमिका खेलिदिन देउवाले केन्द्रीय सदस्यहरूलाई आग्रह पनि गरेका थिए।
सभापति भएर काम गरेको र प्रधानमन्त्री भएर राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने एकमात्र व्यक्ति पार्टीमा आफू रहेकाले फेरि सभापति उठ्ने तयारी गरेको देउवाको भनाइ थियो।
देउवाले २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्दा प्राविधिक कारणले कांग्रेसले कम सिट जितेको बताएका थिए।
‘समानुपातिक भोट त हाम्रै धेरै थियो, हामी लोकप्रिय नै थियौं। कांग्रेसको संगठन केही भएको छैन,’ देउवाको भनाइ थियो, ‘अब कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरूले सहयोग गरिदिनुपर्छ।’
कांग्रेसले २०७४ सालमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ मध्ये २३ सिट जितेको थियो। समानुपातिक पनि थप गरेर प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद थिए। देउवाले अझै पनि त्यसबेला कांग्रेसले पराजय भोगेको भन्ने स्वीकार गरेका छैनन्।
देउवाले फेरि सभापतिमा दाबी गरिरहँदा उनकै समूहका केन्द्रीय सदस्यले निधिले के गर्ने हुन् पहिला त्यो टुंगो लगाउनु पर्ने बताएका छन्।
निधिले शनिबार आफू सभापतिमा उठ्ने कुरा देउवालाई प्रष्ट राखिसकेका छन्। यसअघि २०७२ सालमा १३ औं महाधिवेशन हुँदा निधिले देउवालाई सघाएका थिए। त्यसबेला देउवाले १४ औं महाधिवेशनमा आफूलाई सघाउने वचन दिएको निधिले बताउने गरेका छन्।
‘निधिसँग हिजोमात्र कुराकानी भएको छ। उहाँले म उठ्छु भन्नुभयो मैले मलाई सहयोग गर्नुपर्छ भनेको हुँ,’ देउवाले आइतबार केन्द्रीय सदस्यहरूसँग भने, ‘उहाँसँग फेरि कुरा गर्छु, चिन्ता नलिनुहोला।’
आजको छलफलमा सहभागी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले अबको सभापति देउवा नै हुने बताए।
‘आज हामी बागमती र गण्डकी प्रदेशका गरी १४ केन्द्रीय सदस्य छलफलमा थियौं। हामीले एकमत रूपमा सभापतिमा देउवा नै अगाडि बढ्नु पर्ने भनेका छौं,’ बस्नेतले भने।
देउवाले कांग्रेसमात्र होइन देश नै चलाउनु पर्ने अवस्था सिर्जना भएकोले सभापतिमा अरू विकल्प खोज्न नहुनेमा आफूले जोड दिएको उनले बताए।
‘देउवाले सभापतिमात्रै चलाएर पुग्दैन, मुलुक नै हाँक्नुपर्ने अवस्था छ,’ बस्नेतले भने, ‘तपाईं अगाडि बढ्नुस्, हामी पूर्ण रूपमा साथ र सहयोग गर्छौं भनेका छौं।’
उपसभापति निधि सभापति उठ्ने विषय पनि आज छलफलमा उठेको उनले बताए।
‘उहाँ (निधि) पनि सभापतिमा उठ्ने कुरा केही साथीले राख्नुभएको थियो,’ उनले भने, ‘निधिजीले सभापतिमा उठ्ने भन्नुभएको छ, सभापतिजीले पनि उहाँसँग कुरा गर्नुपर्यो, हामी पनि कुरा गर्छौं भन्ने ढंगले कुरा उठेको हो।’
निधिलाई पनि समेटेर जानुपर्ने कुरा केन्द्रीय सदस्यहरूले राखेका थिए।
‘उहाँ (निधि) लाई पनि समेटेर जानुपर्छ। कसरी र के भूमिकामा समेट्ने हो भन्ने कुरा गरौं र टुंग्याऔं,’ उनले भने, ‘सभापतिचाहिँ देउवा नै हुनुपर्छ, निधिजीलाई पनि सँगसँगै लैजाने हो।’
अर्का एक केन्द्रीय सदस्यका अनुसार देउवाले राखेको छलफलमा आज सहमहामन्त्री प्रकाशशरण महत, चीनकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय डिना, बिष्णुविक्रम थापालगायत उपस्थित थिए।
‘सभापतिजीले सुरूमै म फेरि सभापति उठ्ने हो सहयोग गर्नुपर्यो भन्नुभयो,’ उनले भने, ‘केही साथीहरूले तपाईं सभापति उठ्ने भए के छन् एजेन्डा भनेर सोध्नुभयो, निधिलाई कसरी मिलाउनुहुन्छ भन्नुभयो।’
केन्द्रीय सदस्यहरूलाई जवाफ दिँदै देउवाले आफ्नो नेतृत्वमा कांग्रेस कमजोर नभएको दाबी गरेका थिए।
‘कांग्रेसको संगठन बिग्रेको छैन। संसदीय क्षेत्रमा झिनो मतले गत चुनावमा हारेका कारण कांग्रेस कमजोर देखिएको हो,’ देउवाका भनाइ उद्धृत गर्दै उनले भने, ‘केन्द्रीय राजनीति पनि तरल छ। यस्तो बेला राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुभव हासिल गरेको मैले नै पार्टी नेतृत्व गर्दा राम्रो हुन्छ।’
देउवाले सर्वस्वीकार्य सभापति हुन्छु भन्ने लागेकोले फेरि सभापति उठ्न खोजेको पनि बताएका थिए।
‘पार्टीलाई एक नम्बरको बनाउने र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो,’ देउवाका कुरा उद्धृत गर्दै उनले भने, ‘मैले भर्खरै छलफल थालेको छु। सबैसँग सल्लाह गर्छु अनि मात्रै औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्छु।’
देउवाले शनिबार प्रदेश नम्बर १ र २ का आफूनिकट केन्द्रीय सदस्यसँग पनि कुराकानी गरेका थिए। आफू सभापति उठ्ने भएकोले सहयोग गरिदिन उनको आग्रह थियो।