स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले खोप उत्पादक राष्ट्रहरूसँग निरन्तर कुराकानी भइरहेकाले खोप छिट्टै आउने दाबी गरेका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै उनले केही दिनभित्र खोपसम्बन्धी सकारात्मक समाचारहरू आउने जिकिर गरे। तर कति मात्रामा कहिलेसम्म आउँछ भन्नेमा भने उनले खुलाउन सकेनन्।
'छिट्टै खोप आउँदैछ। क्रमश: सबै नेपाली जनतालाई खोप लगाउने हो। खोप उत्पादक राष्ट्रसँग पत्राचार र वार्ता गरेका छौं। केही दिनभित्र खोपसम्बन्धी सकारात्मक समाचार प्राप्त हुन्छन्,' उनले भने,'खोप सरकारले नै ल्याउँछ। निजी कम्पनीले ल्याउँदा केही जटिलता छन्। यसका लागि केही गाइडलाइन्स बनाउन जरूरी छ। जनतालाई निःशुल्क खोप लगाउने हो। निजी कम्पनीले ल्याउँदा खोपको खर्च लाग्ने भएकाले गाइडलाइन्स नबनाई हुँदैन।'
यति-उति दिनमा खोप आउँछ नभन्ने भन्दै उनले एकै पटकमा सबै जनतालाई पुग्ने गरी ल्याउन नसक्नेसमेत स्पष्ट पारे।
उनले निषेधाज्ञामात्रै समाधान नरहेको भन्दै अब स्मार्ट निषेधाज्ञाको मोडालिटीमा जानुपर्ने बताए।
'असार १ गतेबाटै अलिकति खुकुलो गरेका छौं। स्मार्ट निषेधाज्ञाको अवधारणाका साथ छलफल पनि गरिरहेका छौं। स्मार्ट निषेधाज्ञा भनेको मूलत: नागरिक स्वंय सचेत हुने हो,' उनले भने,'राज्यले प्रहरी लगाएरमात्रै नहुने रहेछ। सहजताका साथ काम गर्ने हो। लकडाउन भनेको सेफ डाउन पनि हुनसक्छ।'
व्यक्ति स्वयम सचेत हुनु पर्ने भन्दै मन्त्री तामाङले आफूले आफैंलाई सबै जनतालाई खोप लगाएपछि मात्रै जनजीवन सामान्य हुने बताए।
दैनिक सक्रिय हुनेलाई पहिला खोप लगाइने उनले बताए।
'संक्रमणको दर सबै अध्ययन गरेर संक्रमण नहुने सुनिश्चित भएमा शैक्षिक संस्था खोल्न सकिन्छ। संक्रमण दर घट्दो छ तर ढुक्क हुने अवस्था छैन। हामी सबै सचेत भएर सुरक्षित हुनुपर्छ,' उनले भने,'तत्कालै सबै नेपालीलाई खोप लगाउन सकिँदैन। त्यही भएर मापदण्ड बनाएको हो। यद्यपी खोप केन्द्रमा पहुँचका आधारमा लगाइएको भन्ने पनि सुनिएको छ। त्यस्तो बदमासीलाई रोक्नुपर्छ।'
हेर्नुस् भिडिओ