कर्णाली प्रदेशका चार सांसदहरूलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरूद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष भ्याकेटमा गएसँगै एमालेमा बन्नै लागेको सहमति संकटमा परेको छ।
ओली पक्ष भ्याकेटमा गएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले यसलाई पार्टी एकता नगर्ने षड्यन्त्र भनेको छ।
जेठ २७ गते सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो।
पार्टीको ह्विपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई वैशाख ३ गते फ्लोर क्रस गरेर भोट दिएको आरोपमा नेकपा एमाले महाधिवेशन आयोजक कमिटीले उनीहरूलाई बर्खास्त गरेको थियो।
महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्दै चार संसदले अदालतमा उजुरी दिएका थिए। सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गर्दै उनीहरूको पुनर्बहाली हुने अन्तरिम आदेश दिएको थियो।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि महाधिवेशन आयोजक कमिटीलाई अवैध भन्दै आएको थियो। सर्वोच्चको आदेशपछि खनाल-नेपाल पक्ष २०७५ जेठ २ मा पार्टी फर्किने भनेर उत्साही बनेका थिए।
पार्टी एकताका लागि दुई पक्षका बीचमा अनौपचारिक छलफलहरू बाक्लो हुन थालेका थिए। ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रवक्ता प्रदीप ज्ञवालीलगायत सक्रिय छन्। खनाल-नेपाल समूहबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराईलगायत सक्रिय थिए।
एकताको वातावरण बनिरहेको बेला ओली पक्ष भ्याकेटमा गएपछि भने खनाल-नेपाल पक्ष सशंकित बनेको छ।
'सहमतिको वातावरण बिथोलिएको छ। उनीहरूले आफ्ना कुरामात्रै घुमाइरहेका छन्। अदालतको हस्ताक्षर फिर्ता लिनुपर्ने एक पक्षको माग र प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिनुपर्ने अर्को पक्षको मागको विषयमा बीचको बाटो खोज्ने प्रयास भएको थियो,' खनाल-नेपाल पक्षका तर्फबाट वार्तामा सहभागी एक नेताले भने,'हाम्रातर्फबाट गरिएका हस्ताक्षर फिर्ता हुने भनेर बालुवाटारले हल्ला फैलाएको छ। त्यसको सम्भावना शून्य छ। हिजोको कदमले सहमतिको सम्भावना बिग्रियो। केही समय खेर जाने भयो।'
ओली पक्षीय नेता सुवास नेम्वाङले भ्याकेटमा गएकै आधारमा सहमतिको वातावरण नबिग्रिने दाबी गरे।
'हाम्रो छलफल जारी छ। भ्याकेटमा जाने भनेर हामीले यसअघि नै भनेको हो। हामीले तयारी गरिरहेको सबैलाई थाहा थियो,' उनले भने,'भ्याकेटमा गइसकेपछि कसले के सोच्छ थाहा भएन। तर हामीले जाने भनेर पहिला नै भनेको हो। यसले असर पार्छ कि पर्दैन भनेर सोच्ने होइन। यो छुट्टै कुरा हो।'
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले ओलीले पार्टी एकता गर्न नचाहेको बताए। ओलीले एकताको नाममा अनेक प्रपञ्च गरेकोसमेत बताए।
'केपीजी सकेसम्म पार्टी एकता गर्न चाहनुहुन्न भन्ने कुरा प्रत्येक घटनाक्रमबाट पुष्टि हुँदै आएको छ। उहाँले एकताको नाममा अनेक प्रपञ्च गर्ने अनि त्यसबाट अलिकति भए पनि केही फाइदा पाउन सकिन्छ कि भनेकोमात्रै देखिन्छ,' उनले भने,'एमाले र माओवादी विभाजन हुँदा देशव्यापी खुसीयाली मनाउनुभयो। एमाले एकता भए त चुनावमा राम्रो नतिजा आउँछ। त्यसैले त्यस्तो नहोस् भन्ने उहाँको चाहना छ।'
ओली पक्षमा रहेका कार्यकर्ताको ठूलो पंक्ति एकताको पक्षमा रहे पनि ओलीसँग विवाद गर्ने क्षमता कसैको नरहेको उनले बताए।
एकता भइहाले स्वीकारे पनि ओलीले एकता नचाहेको ज्ञवालीको आरोप छ। एकताको कुरा गरेर भ्याकेटमा जानुले सहमतिको वातावरणलाई बिगारेर उल्टो दिशामा लैजान खोजेको पुष्टि भएको उनको भनाइ छ। भ्याकेट खारेज गरेमा मात्रै ओली पक्ष अलि गम्भीर हुने उनले बताए।
'आयोजक कमिटी नै मूल कमिटी भन्ने स्थिति रह्यो भने आउने मान्छे आऊ जाने मान्छे जाऊ भन्ने हुनसक्छ। त्यसले हामीमा एकता गर्ने भावना कमजोर हुनसक्छ। उहाँहरूले केहीलाई विभाजन गर्न खोज्नुभएको देखिन्छ,' उनले भने,'मूल नेतृत्व निमिलिकन पार्टीको एकता हुँदैन। एकजुट नगरी एकताको सन्देश जाँदैन। जुन शक्तिले उहाँलाई चलाएको छ, उसले एकता हुन दिँदैन।'