नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले छलफल तीव्र पारेका छन्।
केही दिनअघि सभापति शेरबहादुर देउवासँग आफू पनि सभापति उठ्ने बताएका उपसभापति विमलेन्द्र निधिले सभापतिका दुई अरू दाबेदार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका छन्।
सभापति देउवाले महाधिवेशनका लागि प्रदेश-प्रदेश अनुसार आफूनिकटका केन्द्रीय सदस्यहरूसँग बुढानिलकण्ठमा छलफल गरिरहेका बेला निधिले अर्को खेमामा रहेका दुई प्रभावशाली नेताहरूलाई सोमबार आफ्नो निवासमा लञ्चका लागि बोलाएका हुन्।
कांग्रेसका कार्यकर्ताले निधि, कोइराला र सिंहलाई प्रेमपूर्वक 'राजकुमार' भन्ने गरेका छन्।
उपसभापति निधि महेन्द्रनारायण निधिका छोरा हुन्। महामन्त्री कोइराला बीपीका छोरा हुन् भने पूर्वमहामन्त्री सिंह गणेशमान सिंहका छोरा हुन्। तीनै जनाका बाबुहरूले कांग्रेसको स्थापना र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
देउवालाई चुनौती दिने यी तीन 'राजकुमार' एकै ठाउँमा बसेर कुराकानी गरेपछि कांग्रेसमा अहिले नयाँ तरंग आएको छ।
सभापति शेरबहादुर देउवालाई गत शनिबार भेटेर सभापतिमा उठ्ने जानकारी गराएर फर्केका निधिले आज छलफलका लागि महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई बानेश्वरस्थित निवास निम्त्याएका थिए।
कतिपयले आगामी महाधिवेशनमा पुराना गुट भत्कने र नयाँ गुट बन्ने बताइरहेका छन्। उक्त कुरालाई सहयोग पुग्ने गरी आज निधि, कोइराला र सिंहबीच भेटवार्ता भएको छ।
संस्थापन पक्षबाट सभापतिमा फेरि देउवाले दोहोर्याउने तयारी गरेपछि उनलाई लामो समयदेखि साथ दिँदै आएका निधि असन्तुष्ट छन्। देउवाले अब आफूलाई सभापति नछोड्ने हो भने आफू अरूसँग सहकार्य गरेर अघि बढ्ने निधिले बताइसकेका छन्।
दुई घन्टासम्म चलेको निधि, कोइराला र सिंहको लन्च मिटिङमा मुख्यगरी पाँच विषयमा छलफल भएको थियो।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण, सिन्धुपाल्चोकलगायत क्षेत्रमा गएको बाढी-पहिरो पीडितलाई राहत र पुनर्स्थापना गर्नुपर्ने, महामारीबीच नै पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्ने, आगामी निर्वाचनमा कांग्रेसलाई देशकै पहिलो पार्टी बनाउने र देउवालाई प्रधानमन्त्री बनाउने विषयबारे उनीहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ।
‘तीन प्रभावशाली नेताबीच भेटघाट र कुराकानी मुख्यत: महाधिवेशनमै केन्द्रित रह्यो। अब भेटघाटलाई बाक्लो बनाउने र निरन्तर संवाद गरी सहकार्य गर्दै अगाडि बढ्ने कुरा भएका छन्,’ स्रोतले भन्यो।
साथै उनीहरूले विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा देउवालाई अगाडि सारेकोले प्रधानमन्त्री बनाउनका लागि सहयोग गर्ने पनि समझदारी गरेका छन्।
‘महाधिवेशनलगायत सबै विषयमा अब साझा धारणा बनाउने तीनै नेताहरूबीच सहमति भएको छ,’ स्रोतले भन्यो, ‘यसबारे सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि कुराकानी गर्नेजस्ता कुरा भएका छन्।’
महाधिवेशनसम्मै तीन नेताबीच भेटघाटलाई तीव्रता दिनेबारे पनि कुराकानी भएको छ।