आगामी आर्थिक वर्षदेखि इलामको फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई स्थानीय सरकारी कामकाजको भाषामा लागू गर्ने भएको छ।
लिम्बू जातिको बाहुल्यता रहेको यस क्षेत्रका लिम्बू समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस् भन्ने उद्धेश्यले लिम्बू भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने घोषणा गरेको हो।
साथै पालिकाभित्र बोलिने अन्य भाषालाई समेत अगामी दिनमा कामकाजको भाषाको रूपमा मान्यता दिइने कार्यक्रममा उल्लेख भएको छ ।
पालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष वीर बहादुर कुरूम्बाङले यस्तो घोषणा गरेका हुन्। ‘गाउँसभाबाट ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम पारित गरिएको हो,’ उनले सेतोपाटीसँग भने।
यसअघिदेखि नै पालिकामा मातृभाषाको रूपमा लिम्बू भाषा पढाइ हुँदै आएको छ। पालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै शिक्षा ऐन २०७८ जारी गरि कार्यान्वयनमा ल्याउने र मातृभाषाको पठनपाठनलाई संरक्षण र सम्बर्द्धन गर्दै स्थानीय भाषाको पाठ्यक्रमलाई समय सापेक्ष व्यावहारिक रूपमा परिमार्जन गरि प्रयोगमा ल्याउने भएको छ।
१६ औं राष्ट्रिय विभूती तथा समाज सुधारक महागुरू फाल्गुनन्दको नामबाट नामाकरण गरिएको यो पालिका भित्र उहाँको कर्म क्षेत्र तथा समाधीस्थल रहेको हुँदा धार्मिक पर्यटकीयस्थलको रूपमा समेत विकास, प्रवर्द्धन तथा संरक्षण गरिने भएको छ ।
यसअगाडि इलामको माङ्सेबुङ् गाउँपालिकाको ५ नम्बर वडाले पनि लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा सञ्चालन गरिसकेको छ ।