नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील छानविन समितिले विभिन्न ८ जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली आज प्रिन्ट गर्ने भएको छ।
करिब पाँच हजार उजुरीबारे छानविन गरिरहेको समितिले आज बेलुकीसम्म ८ जिल्लाका क्रियाशीलको नाम प्रिन्ट गर्नेछ।
‘आज बेलुकीसम्म ८ जिल्लाको क्रियाशील सदस्यको अन्तिम नामावली प्रिन्ट गरिसक्छौं,’ छानविन समितिका एक सदस्यले भने, ‘जिल्लाबाट आएका उजुरी हेर्दै विवाद समाधान गरेर अन्तिम नामावली प्रिन्ट थालेका हौं।’
कुन-कुन जिल्लाको अन्तिम नामावली प्रिन्ट हुन लागेको भन्नेबारे ती सदस्यले खुलाउन चाहेनन्। ‘अहिले नै कुन-कुन जिल्लाका क्रियाशील सदस्यको नाम प्रिन्ट गरियो भन्ने सार्वजनिक गर्ने हो भने मेरो नाम छ कि छैन भनेर फोन आएर हैरान हुन्छ,’ ती सदस्यले भने, ‘पछि एकैपटक नाम सार्वजनिक हुन्छ।’
देशभरका ६ हजार ७ सय ४३ वडामध्ये करिब तीन सय वडाबाट क्रियाशील सदस्यताबारे उजुरी आएका छन् भने अन्यत्र विवाद देखा परेको छैन।
समितिका सदस्य सचिव केशव रिजालका अनुसार अहिलेसम्म ८ लाख ३० हजार क्रियाशील सदस्य पार्टीको सफ्टवेयरमा इन्ट्री भइसकेका छन्।
बारा, सप्तरी, सिन्धुपाल्चोक र रूकुम पश्चिमका केही क्षेत्रबाट इन्ट्री गर्ने काम जारी छ।
‘यी चार जिल्लालाई असार २० गतेसम्म क्रियाशीलको विवरण इन्ट्री गर्न समय दिइएको छ,’ सचिव रिजालले भने।
यी जिल्लाबाट क्रियाशीलको विवरण इन्ट्री भएपछि उक्त नाम वेवसाइटबाट सार्वजनिक गरिन्छ। ती नामबारे उजुरी गर्न निश्चित समय दिने र उजुरी परेमा छानविन गरी नामावली प्रिन्ट गरिने उनले बताए।
‘जुन गतिमा छानविन हुनुपर्ने हो त्यो हुन सकेको छैन तर हामीले कामलाई जारी राखेका छौं,’ उनले भने, ‘एकै किसिमका उजुरी छैनन्। ३५ खालका उजुरी छन्। कतै वडाले क्रियाशील फारम नै दिएन भन्ने छ भने कतै पालिका र क्षेत्रले नाम थपघट गरे भन्ने उजुरी परेका छन्, समितले मसिनो गरी छानविन गर्दैछ।’
कांग्रेस विधानअनुसार क्रियाशील सदस्यता पाउन वडादेखि चार तहबाट सिफारिस भएर आउनुपर्ने हुन्छ। तर वडाबाट सिफारिस नभएकाहरू पनि क्रियाशील सदस्य भएको भन्दै नामावली आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरिरहेका छन्।
कतिपय उजुरी भने वडाबाट नाम सिफारिस भए पनि पालिका, क्षेत्र र जिल्लाबाट नाम काटिएको तथा वडाले नाम नै सिफारिस नगरे पनि क्षेत्रबाट आफैँ नाम पठाइएकोजस्ता उजुरी छन्।
यस्ता उजुरी कसरी समाधान गर्ने भन्नेबारे सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक गरी राय लिएका थिए। तर पदाधिकारीबीच कुरा नमिल्दा क्रियाशील छानविनमा समस्या भइरहेको एक सदस्य दाबी गर्छन्।
क्रियाशील सदस्यता छानविनका लागि केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समिति छ। उक्त समितिले काठमाडौंको एक होटलमा बसेर क्रियाशीलबारे परेका उजुरी अध्ययन गरी निर्णय गरिरहेको छ।
उक्त समितिले सभापति देउवालाई क्रियाशीलको नामावली दिने र देउवाले अध्ययनपछि अन्तिम नाम केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने हुन्छ।
कांग्रेसले साउन १२ गते वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन तय भएको छ।
कांग्रेसमा क्रियाशील सदस्य भनेको अधिवेशनका मतदाता हुन्। क्रियाशील मध्येबाट नै वडा कार्यसमिति चयन हुन्छ भने क्षेत्रीय प्रतिनिधि पनि तय गरिन्छन्। कांग्रेसको टोल, वडादेखि केन्द्रसम्म आठ तहमा संगठन संरचना छ।