महाधिवेशन आएपछि नेपाली कांग्रेसमा जहिले पनि क्रियाशील सदस्यता विषय पेचिलो बन्छ।
क्रियाशील सदस्यता पाउन धेरैले फारम भरेका हुन्छन् तर गुटगत प्रभावलगायत कारणले क्रियाशील सदस्य बन्नै रोकिन्छन्।
कांग्रेसमा वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्। उनीहरू मध्येबाटै वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चुनिन्छन्। क्षेत्रीय प्रतिनिधिहरू नै महाधिवेशनका लागि प्रतिनिधि बन्छन् र केन्द्रीय कार्यसमिति चयन गर्छन्।
यसपटक कांग्रेसमा क्रियाशील सदस्यता वितरण, नवीकरण र अन्तिम नामावली टुंग्याउन सकस पर्यो। त्यसमध्ये प्रमुख समस्या अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई क्रियाशील दिने बारेको छ।
कांग्रेसले भदौमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्य १० लाख पुर्याउने गरी क्रियाशील सदस्यता वितरण र नवीकरण गरेको थियो।
विदेशस्थित जनसम्पर्क समितिबाहेक नेपालका ७७ जिल्लाबाटै क्रियाशील सदस्यको विवरण शनिबार राति १२ बजेभित्र इन्ट्री भइसकेको छ। आठ लाख ५० हजार हाराहारीमा क्रियाशील सदस्य पुगेका छन् भने जनसम्पर्क समितिबाट करिब ५० हजार क्रियाशील सदस्य थपिन्छन्।
अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरूलाई वडा तहमा समायोजन गर्ननै समस्या देखिँदा क्रियाशील सदस्यता वितरणमै ढिलाइ हुन गएको थियो।
२०७४ सालको चुनावअगाडि कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र गत वर्ष राप्रपा छाडेर प्रवेश गरेका सुनिलबहादुर थापा समूहलाई कति क्रियाशील सदस्य दिने भन्नेबारे कांग्रेसमा देखिएको विवाद समाधानतर्फ गएको छ।
कांग्रेस उपसभापति भइसकेका गच्छदारले आफ्नो समूहबाट २५ हजारभन्दा बढी क्रियाशील सदस्य हुनुपर्ने भन्दै विवरण पेश गरेका थिए।
कांग्रेस सहमहामन्त्री सुनिलबहादुर थापाले ९ हजारभन्दा बढी क्रियाशील सदस्य पाउनुपर्ने विवरण पेश गरेका छन्।
उनीहरूलाई यो संख्यामा क्रियाशील दिन कांग्रेस नेतृत्व तयार देखिएको छैन। कांग्रेसले वडादेखि चार तहबाट सिफारिस भईआएकाहरूलाई मात्रै क्रियाशील सदस्यता दिने मापदण्ड नै बनाएको छ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो मापदण्ड बनाएको हो। यो मापदण्ड केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको केन्द्रीय क्रियाशील छानविन समितिमा पुगेको छ।
क्रियाशील वितरणबारे अहिलेसम्म करिब ३ सय वडाबाट पाँच हजार हाराहारीमा उजुरी परेका छन्। ती उजुरीबारे नेताहरूले तयार पारेका मापदण्डमा रहेर लेखक संयोजक रहेको समितिले छानविन गरिरहेको छ।
‘उपसभापति गच्छदार चार वर्षपहिले नै कांग्रेसमा प्रवेश गर्नुभएको हो। उहाँसँगै उहाँका नेता तथा कार्यकर्ता त्यसबेलै कांग्रेसको पार्टी सदस्य भइसक्नुभएको थियो,’ कांग्रेसका एक जना केन्द्रीय सदस्यले भने, ‘लोकतान्त्रिक फोरमबाट गच्छदारसँगै कांग्रेस प्रवेश गर्दा जति सदस्य पार्टीमा पेश गर्नुभएको थियो सोही संख्यामा क्रियाशील सदस्यता दिने सहमति भएको छ।’
यो सहमतिअनुसार गच्छदार समूहलाई २१ हजार सात सय क्रियाशील सदस्यता दिइने कांग्रेसले जनाएको छ।
‘गच्छदारले सुरूमा कांग्रेसलाई बुझाएको नेता/कार्यकर्ताको सूची र अहिले जिल्लाहरूबाट आएका क्रियाशीलको विवरण रूजु गरेर मापदण्डभित्र परेकालाई क्रियाशील सदस्यता दिइन्छ,’ उनले भने।
पहिले फोरम लोकतान्त्रिकले बुझाएको नाम र अहिले जिल्लाहरूबाट आएका नाम रूजु गरेर पहिले पेश गरेका नाम अहिले आएका छन् भने मात्रै क्रियाशील नवीकरण गर्ने सहमति नेताहरूबीचमा भएको छ।
राप्रपालगायत अन्य दल छाडेर प्रवेश गरेकाहरूका हकमा पनि विधानअनुसार मापदण्ड पुगेकालाई मात्रै क्रियाशील सदस्यता दिने तयारीमा कांग्रेस छ।
‘राप्रपा छाडेर सुनिल थापालगायत कांग्रेसमा आउनुभएको हो। उहाँहरू कांग्रेसमा प्रवेश गर्दा जे सहमति भएको हो त्योअनुसार मात्रै क्रियाशील दिने सहमति छ,’ केन्द्रीय क्रियाशील छानविन समितिका एक सदस्य भन्छन्, ‘गत पुस ११ मा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यसबारे टुंग्याएको थियो। जसअनुसार थापा समूहलाई सात हजार पाँच सय क्रियाशील सदस्यता दिने सहमति छ।’
कांग्रेसमा क्रियाशील सदस्य हुन चार ठाउँबाट नाम सिफारिस भई आउनुपर्ने हुन्छ। वडा, पालिका, क्षेत्र र जिल्लाले भनेपछि क्रियाशील दिने गरिन्छ।
यस्तै विवाद देखिएका क्रियाशीलबारे निर्णय गर्न कांग्रेसले गठन गरेको केन्द्रीय क्रियाशील छानविन समितिले आज केन्द्रीय कार्यसमितिलाई क्रियाशीलको अन्तिम नामावली दिने कार्यसूची थियो।
समितिका सदस्य प्रदीप पौडेलका अनुसार छानविन नै सकिएको छैन। ‘अहिलेसम्म ३६ जिल्लाको सूची अन्तिम रूप दिइएको छ,’ उनले भने, ‘कार्यतालिकाअनुसार आज क्रियाशीलको सूची बुझाउनुपर्ने हो तर समय थप हुन्छ। असारभित्र हामी सूची बुझाउँछौं।’
उनकाअनुसार सबै जिल्लाबाट क्रियाशीलको विवरण केन्द्रीय सफ्टवेयरमा इन्ट्री भइसकेको छ। शनिबार राति १२ बजेभित्र बारा कार्यसमितिबाट पनि क्रियाशीलको विवरण इन्ट्री भइसकेको छ। ढिला इन्ट्री भएका केही जिल्लाका विवरण पार्टीको वेवसाइटबाट सार्वजनिक गरेर त्यसउपर उजुरी माग गरेपछि छिटै क्रियाशीलको अन्तिम सूची निकालेर पार्टीलाई बुझाइने उनले बताए।
अन्तिम नामावली सभापति शेरबहादुर देउवाले हेरेपछि उनले पार्टीको केन्द्रीय निर्वाचन समितिलाई पेश गर्छन्। अन्तिम नामावली प्रकाशनपछि मात्रै कांग्रेसको अधिवेशन सुरू हुन्छ। कांग्रेसले साउन १२ देखि वडा अधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशन गरेको छ।