नेकपा एमालेका सचिव गोकर्ण बिष्टले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रूपमा बैठक राखेका कारण पार्टी एकतामा समस्या आएको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै एमाले सचिव बिष्टले धेरै एजेन्डामा सहमति भएको भए पनि आफ्नै ढंगले बैठक राखेका कारण एकता कमजोर अवस्थामा पुगेको बताए। आफूहरूले प्रयत्न जारी राखिरहेकाले अझै पनि आशा गर्ने ठाउँ रहेको उनको भनाइ छ।
'हामीले लगभग अन्तिम अवस्थामा पुर्याएका थियौं। केही शब्दमा परिमार्जन गरेर सहमति गर्ने विषयबाहेक धेरै एजेन्डामा लगभग अन्तिम अवस्थामा पुगेको थियो। तर एकाएक कमजोर अवस्थामा पुगेको छ,' उनले भने, 'एकपक्षीय बैठक बसेर एक ढंगका निर्णय जसरी सार्वजनिक भएका छन् त्यसले एकतामाथि शंका उत्पन्न गरेको छ। कतै एकताका लागि भएको यो संवाद इमान्दारपूर्ण प्रयत्नको रूपमा नभएको त होइन भन्ने आशंका विभिन्न ठाउँबाट देखा परेको छ। प्रयत्न जारी छ, छलफल जारी छ, म अहिले पनि आशावादी छु।'
बिष्टले आफूहरू नथाकिकन एकताको लागि इमान्दार प्रयत्न गर्ने बताए।
'केही समय लग्ला। पार्टी एकता सय मिटर दौडको विषयमात्र होइन। केही मेहनत र धैर्यता गर्नुपर्ने र केही समय अलि प्रतीक्षा गर्नुपर्ने हुनसक्छ,' उनले भने,'हामी नथाकिकन एकताको लागि प्रयास गर्छौं। अन्तिम समयसम्म इमान्दार प्रयत्न गर्छौं। अर्को पक्षका साथीबाट एकताको प्रयत्न दाउपेचको रूपमा नहोस् इमान्दारपूर्वक अघि बढाउन जरूरी छ।'
एमाले एकताका लागि अनौपचारिक वार्तामा सहभागी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता गोकर्ण बिष्टसँग हामीले भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंश:
-सर्वोच्च अदालतमा परेको प्रतिनिधि सभासम्बन्धी मुद्दालाई फिर्ता लिने सन्दर्भमा अध्यक्ष कमरेडको पक्षबाट लगातार त्यो प्रकारको जोड भइरहेको छ। दुबै पक्षलाई सहमति हुने गरी बीचको एउटा भाषा बोलौं भन्ने भएको छ। पार्टीको एकतालाई सम्पन्न गरिसकेपछि अदालतले जे फैसला गर्छ एकतावद्ध भएर त्यसलाई सामना गर्ने सन्दर्भमा सहमति गरौं भन्ने हाम्रो निरन्तर प्रयत्न छ। यही विषयमा जोड र कोणमा मिलिरहेको छैन।
-उहाँहरू पनि प्रयत्नशील नै हुनुहुन्छ। म उहाँहरूमाथि आशंका गर्दिनँ। हामी पनि प्रयत्न गरिरहेका छौं। तर जब उहाँहरूले एकपक्षीय बैठक राख्दै विभिन्न प्रकारका निर्णय भनेर सार्वजनिक गर्दै जानुभयो, यसले केही समस्या उत्पन्न गरेको छ।
-सर्वोच्च अदालतमा एमाले सांसदहरूले गरेका हस्ताक्षर फिर्ता लिनुपर्छ भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्षले निरन्तर भनिरहनुभएको छ। एकातिर प्रतिनिधि सभा विघटन प्रतिगमन भन्ने हाम्रो पक्षबाट सार्वजनिक भएकै छ। अर्कोतिर अदालतमा परेको मुद्दा फिर्ता नलिने एमाले हुन सक्दैन भन्ने कुरा अध्यक्षबाट आएका छन्। दुबैतर्फबाट आफ्ना अडान आएका छन्। यसका बीचमा पनि सहमति खोज्नैपर्छ।
-हस्ताक्षर फिर्ता सम्भव छैन भनेर त पटक-पटक हस्ताक्षरकर्ता सांसद साथीहरूले राखिरहनुभएको छ। हस्ताक्षर गर्ने साथीहरूले नै सम्भव छैन भनेको सन्दर्भमा पार्टी एकताको लागि बीचको बाटो खोज्न जरूरी छ।
-हस्ताक्षरको प्रसंगबाहेक अरू धेरै कुरा मिलेका छन्। यद्यपी जेठ २ मा फर्काउने सन्दर्भमा केही अझै मिल्न बाँकी छ। हस्ताक्षर फिर्ता हुने वा नहुने महत्वपूर्ण भन्दा पनि एमाले विभाजन गर्न चाहने शक्ति सक्रिय छन्। पार्टी एकतालाई बिथोल्न चाहने कुनै पात्रको प्रभावमा नपरेमात्रै कम्युनिष्ट आन्दोलन र लोकतन्त्रका लागि हित हुन्छ।
-व्यक्तिका पद र स्वार्थ हाम्रा लागि गौण हो। चर्चा के आउँछ, त्यो महत्वपूर्ण होइन। हामीले आफ्नो व्यक्तिगत स्वार्थ र आग्रहभन्दा माथि उठेर नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन जरूरी छ। एमाले एकतावद्ध गर्न जरूरी छ।
-हामीले अनौपचारिक हिसाबले कार्यदलमा रहेका साथीहरूले विषयलाई अन्तिम निष्कर्षमा पुर्याइसकेका छौं। बैठक स्थगित गर्नुस् अध्यक्ष कमरेड एक- दुई दिनभित्र सहमति हुने सम्भावना छ भनेर भनेका हौं। एक-दुई दिनभित्र पार्टी अध्यक्ष र माधव नेपाल बीचको भेटघाट अनि कार्यदललाई औपचारिक हिसाबले क्रियाशील बनाउने काम पनि गरौं। यो ढंगले अगाडि बढियो भने बढीमा तीन दिनभित्र एकता सम्भव हुनसक्छ भनेर म सुरेन्द्र पाण्डे र भीम आचार्य हामी तीन जना गएर अनुरोध गरेका थियौं। उहाँले साथीहरूसँग बसेर सल्लाह गर्छु भन्नुभएको थियो तर बैठक जारी राख्नुभयो। एकपछि अर्को निर्णय गर्नुभयो। यसले एकतामा अविश्वास पैदा गर्यो वा विश्वासको संकटलाई अझै थप्ने काम गर्यो।
- एक-दुई दिन बैठक ढिला गरेर धेरै गुम्नेवाला केही थिएन। धेरै समस्या केही थिएन। तर के कारणले उहाँले बैठकलाई जारी राख्नुभयो त्यो अहिले म भन्न सकिरहेको छैन। हाम्रो आग्रह थियो- बैठक स्थगित गरेको अवस्थामा एकताको वातावरण बन्छ। दुई-तीन दिनभित्र हाम्रा प्रयत्नले सार्थक परिणाम प्राप्त गर्छन् भन्ने हामीलाई लागेको थियो। तर त्यसो हुन सकेन। हाम्रो प्रयत्न अझै पनि संवादलाई जारी राखौं भन्ने हो।
-उहाँहरू बीचमा केही टकराव र इगो देखिएको छ। कतिपय अवस्थामा यो इगो र टकरावले पार्टी एकता नहुन महत्वपूर्ण कारक बनिरहेको छ। तर जसले समस्या समाधान खोज्ने सन्दर्भमा तत्परता देखाउन सकेन उसकै दोष देखिन्छ। उहाँहरू वार्ता र संवादमै बस्ने अवस्था छैन भनेर म भन्दिनँ। सबैभन्दा बढी भूमिका अध्यक्ष र प्रधानमन्त्रीकै हो। उहाँ अझै बढी गम्भीर हुन जरूरी छ।
-एउटा समय संवादहीनताको थियो। आज हामी संवादमा छौं। एउटा समय अध्यक्षले जेठ २ सुन्नै चाहनुभएको थिएन। तर अदालतको आदेशपछि उहाँले आदेशलाई स्वीकार्ने भन्नुभएको छ। नयाँ पार्टी निर्माण एकमात्र विकल्प भन्ने माधव नेपाल संवाद र एकताको लागि तयार हुनुभएको छ। उहाँहरूको टकराव र अन्तरविरोध सतहमा देखिएको छ। यसका बाबजुद् पनि एकताको विकल्प छैन।