नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ। २०७६ फागुनपछि हुनुपर्ने महाधिवेशन विभिन्न कारण सर्दै आएको छ।
पछिल्लो समय क्रियाशील सदस्यतामा देखिएको विवादले फेरि महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ।
यसपालि कांग्रेसले क्रियाशील सदस्य संख्या १० लाख पुर्याउने भनेको थियो। अहिलेसम्म ९ लाखभन्दा बढी क्रियाशील सदस्य पुगेका छन्, विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशीलको विवरण आइपुगेको छैन।
धेरै जिल्लामा समाधान भइसकेको क्रियाशील सदस्यता विवादको विषय केही जिल्ला झन्डै २ सय जति वडामा पेचिलो बनेको छ। क्रियाशील सदस्यताको विवाद समाधान नगरे महाधिवेशनको अरू कार्यतालिका अघि बढ्दैन्। कांग्रेसले वडा अधिवेशन साउन १२ गतेलाई तोकेको छ।
त्यसअघि नै विवाद टुंग्याएर सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यको अन्तिम नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउनु पर्नेछ।
क्रियाशील सदस्यता वितरण/नवीकरणमा देखिएका विवाद समाधान गर्न कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति बनाएको छ। उक्त समितिमा केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सदस्य छन्।
पौडेलका अनुसार यसपटक चार लाख युवाले कांग्रेसको क्रियाशील सदस्यता लिएका छन्। २०७२ को १३ औं महाधिवेशनमा यति धेरै संख्यामा युवाले क्रियाशील लिएका थिएनन्।
‘अहिले खुसीको कुरा के छ भने क्रियाशील सदस्यहरूमा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको प्रतिशत ३५ प्रतिशत छ। यो उत्साहजनक स्थिति हो,’ पौडेलले भने,‘तर विधानले ३३ प्रतिशत महिला हुनुपर्छ भनेको छ। त्योअनुसार पुगेको छैन। अरू हिसाबले पनि समावेशी बनाउनु पर्नेछ।’
यसैका आधारमा कांग्रेसमा युवाको आकर्षण देखिएको पौडेलको दाबी छ। १३ औं महाधिवेशनका करिब ५० हजार क्रियाशील सदस्यले भने यसपटक सदस्यता नवीकरण नै गरेनन्।
कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार असार २० मै क्रियाशीलको विवाद टुंग्याएर सूची केन्द्रीय समितिमा बुझाइसक्नुपर्ने हो तर हिजो-आज गौशालास्थित धर्मशालामा बसेर समितिले अझै विवादबारे छानविन जारी राखेको छ।
पौडेलका अनुसार असारभित्र क्रियाशीलको विवाद टुंगिन्छ। विवाद नटुंगिएका वडामा पुरानै क्रियाशीलबाट अधिवेशन गर्न सकिने उनले बताए।
क्रियाशील सदस्यताबारे कस्ता विवाद छन्? कहिलेसम्म समाधान हुन्छ र कांग्रेसमा युवाको आकर्षण भएको हो? भन्ने सन्दर्भमा पौडेलसँग सेतोपाटीले कुराकानी गरेको छ।
हेर्नुस् भिडिओ: