डोटीको सिलगढीस्थित शैलेश्वरी मन्दिर वरिपरि नै दुर्गा सोबको जन्म भएको हो। उनी यही मन्दिर वरिपरि खेल्दै हुर्किइन्। मन्दिरभित्र भने उनलाई जान दिइन्नथ्यो। आफूले धेरै ठाउँमा छुन हुन्न भनेर सुन्दै हुर्केकाले दुर्गालाई मन्दिर छिर्न नपाएकोमा खासै मतलब पनि भएन।
जब ठूली हुँदै गइन् बल्ल उनले बुझिन्, शैलेश्वरी मन्दिरमा अरू जातका मान्छेको जति हक छ, उनको उत्तिकै हक लाग्छ। उनले बुझिन्, आफू कुनै हालतले अरूभन्दा सानो जातको होइन।
उनलाई धेरै वर्षअघि शैलेश्वरी मन्दिरमा एक जना दलित प्रवेश गरिसकेका थिए भन्ने पनि थाहा थिएन।
त्यो २०१७ सालको घटना हो। सिलगढीकै टिकाराम पार्की साधुको भेषमा सिलगढी आए। साधुहरू त मन्दिरमा बस्छन्। उनी पनि त्यहीँ बसे।
मन्दिरमा उनले पूजापाठ गरे। अरू धार्मिक गतिविधि पनि चलाए।
यी पार्की उनै हुन् जसले विक्रम सम्बत् २००८ सालअघि नै दलितहरूले पनि पढ्न पाउनुपर्ने माग राख्दै सिलगढीमा संघर्ष गरेका थिए। उनकै नेतृत्वमा चलेको संघर्षपछि सरकारले २००८ सालमा दलितहरूलाई पढ्न हरिजन स्कुल खोल्ने अनुमति दिएको थियो।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माका अनुसार त्यति बेला गैरदलितहरू मन्दिरभित्रको स्कुलमा पढाइ गर्थे। दलितलाई भने मन्दिर परिसरमा प्रवेश निषेध थियो।
छुट्टै स्कुल खुलेपछि पार्कीले सोचे, दलितहरूले पढ्न मात्र होइन, मन्दिर पनि जान पाउनुपर्छ। त्यसैले स्कुल खोलेको झन्डै नौ वर्षपछि २०१७ वैशाख १ गते पार्की साधुको भेषमा शेलेश्वरी मन्दिर पसे।
केही दिनपछि गाउँमा गाइँगुइँ चल्यो। सुरूमा पार्कीलाई कुनै ब्राह्मण परिवारका होलान् भन्ठानेका गैरदलितहरूले उनी दलित हुन् भन्ने पत्तो पाएपछि ठूलै खैलाबैला गरेको स्थानीय दलित अगुवा बताउँछन्।
गैरदलितहरूको दबाबपछि पार्कीलाई प्रहरीले पक्राउ गर्यो। उनी पक्राउ परेपछि घटना पनि त्यत्तिकै सेलायो।
यता दलितहरूका लागि भनेर खोलिएको हरिजन स्कुलको नाम पनि २०१८ सालपछि परिवर्तन गरिएको स्थानीय सच्चिनान्द जोशी बताउँछन्।
'हरिजन स्कुल त धेरै अगाडिको कुरा हो। पछि नाम परिवर्तन भयो,' उनले भने, 'पहिले जहाँ हरिजन स्कुल थियो, त्यसैको छेउमा अहिले ठूलो हाइस्कुल छ।'
त्यो घटनाको चालीस वर्षपछि डोटी सिलगढीकै दुर्गा सोब मन्दिर प्रवेश गरिन्।
मन्दिर वरिपरि खेल्दै हुर्किएकी उनी ठूली भएपछि विभिन्न संस्थाहरूमा काम गर्न थालेकी थिइन्। उच्च शिक्षा हासिल गरेपछि उनले दलितमाथि भइरहेको विभेदबारे प्रस्ट बुझिन्। यस्तो विभेद अन्त्य हुनुपर्छ भन्ने आफूलाई लाग्दै गएको उनी बताउँछिन्।
२०५७ सालको कुरा हो। उनी काम गर्ने संस्थाले पूर्वसभामुख दमननाथ ढुंगानालाई एउटा कार्यक्रममा प्रमुख अतिथि बोलाएको थियो। कार्यक्रम दिउँसो हुँदै थियो। बिहान सोबले ढुंगानालाई मन्दिर लिएर गइन्।
त्यस दिन आफू र सोब दुवै जना मन्दिर गएर दर्शन गरेको ढुंगाना सम्झिन्छन्।
'बिहान दुर्गाजी र म दुवै जना गएका थियौं,' उनले सेतोपाटीसँग भने, 'पुजारीले दुर्गाजीलाई पनि टीका, चन्दन लगाइदिए।'
सायद सोब कुन जातका हुन् भन्ने पुजारीले चिनेनन्, वा ढुंगाना सँगै भएकाले याद गरेनन्।
मन्दिरपछि उनीहरू कार्यक्रम स्थल गए। कार्यक्रम पनि दलितसम्बन्धी नै थियो। त्यहाँ ढुंगानाले दलितहरूलाई मन्दिर प्रवेशमा रोक लगाइएको गुनासो र रोष सुने।
त्यसपछि दुर्गा सोब लगायत दलित समुदायसँग सामूहिक रूपले मन्दिर प्रवेश गर्नेबारे छलफल भएको उनी बताउँछन्। 'कार्यक्रम सकेर दलितहरूसँग सामूहिक रूपमा मन्दिर प्रवेशको योजना बनायौं,' उनले भने।
उक्त समूहको नेतृत्व दुर्गा सोबले नै गरेकी थिइन्।
त्यो दिन पाहुनाघरको कार्यक्रममा ढुंगानाले दलित समुदायलाई सम्बोधन गरेको पनि सोब सम्झन्छिन्। ढुंगानाले २०४६ सालपछि देशमा प्रजातन्त्र आएको र अब समाजमा पहिलेजस्तो जातीय विभेद र छुवाछुत हुन नहुने भनेर सम्झाएका थिए।
'समाज हामीले पनि फेर्नुपर्छ, ल अब सबै मन्दिर प्रवेश गरौं भनेर उहाँले भन्नुभयो,' सोबले सम्झिइन्, 'त्यसरी मन्दिर प्रवेशको योजना बनेको थियो।'
कार्यक्रम सकिएपछि सोब लगायतले दलित समुदायलाई एकठाउँ भेला पारे। त्यो दिन तत्कालीन युवराज दीपेन्द्र पनि मन्दिर दर्शन गर्न आएका थिए। त्यसैले पुजारीले मन्दिर बन्द गरेर हिँड्न पाएनन्।
दलितहरूको जुलुस नारा लगाउँदै मन्दिरतर्फ बढ्यो। ढुंगानाका अनुसार उनीहरू पुग्दा युवराज दीपेन्द्र पूजा गरेर हिँडिसकेका थिए। उनीहरू मन्दिर परिसर पुगेपछि भने पुजारीले हतपत मन्दिरको ताला लगाए।
'मैले दौडिँदै गएर पुजारीको हातबाट चाबी खोसेँ। उनी भागे। हामी दलित समुदायसहित मन्दिर घुम्यौं र भित्र पसेर पूजा गर्यौं,' ढुंगानाले भने।
यसरी दलितहरूले मन्दिर प्रवेश गरेको थाहा पाएपछि गैरदलितले आफूलाई मार्नेसम्मको धम्की दिएको सोब सम्झिन्छिन्। मार्ने नै धम्की आएपछि रातारात संस्थाको गाडीमा उनी धनगढी आइन्। धनगढीमा पत्रकार सम्मेलन गरेर उनले उक्त घटनाबारे बताएकी थिइन्।
'त्यसपछि मैले लामो समय डोटीमा काम गर्न सकिनँ। उक्त संघर्षलाई स्थानीय दलित अगुवाहरूले अघि बढाउनुभयो,' सोबले भनिन्।
मन्दिर प्रवेशको उक्त घटनापछि पनि दलितले सजिलै पूजा गर्न नपाएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष विश्वकर्मा बताउँछन्।
विश्वकर्मा आफैं पनि सिलगढी नजिकको एक निजी स्कुलमा पढाउँथे। उनी भलिबल पनि खेल्थे। मन्दिर तल चउरमा खेल हुन्थ्यो। खेल्नुअघि टिमका सदस्यहरू शैलेश्वरी दर्शन गर्न जान्थे।
'गैरदलितहरूले भित्रै गएर पूजा गर्थे। म लगायत दलितहरूले भने बाहिरबाटै दर्शन गर्थ्यौं,’ उनले भने।
२०६३ सालसम्म यही चलन थियो। तर दलित समुदायले यो चलनलाई यत्तिकै छाडेनन्।
शैलेश्वरी मन्दिरमा हरेक दस वर्षमा महायज्ञ लाग्थ्यो। यही अवसरमा फेरि मन्दिर प्रवेश गर्ने योजना त्यस बेलाको दलित संघर्ष समितिले बनायो।
२०६३ कात्तिकमा केन्द्रदेखि जिल्लासम्मका सबैजसो दलित संगठन, गैरसरकारी संस्था, राष्ट्रिय दलित आयोग, मानव अधिकार आयोग सबैको प्रत्यक्ष-अप्रत्यक्ष सहयोग र दलितहरूको जागरणसहितको संघर्ष सुरू भयो।
विश्वकर्माका अनुसार सुरूमा त तत्कालीन सिडिओले भनेका थिए, 'त्यही मन्दिरमा किन पूजा गर्ने? अर्को बनाउनुस्, बजेट दिन्छु।'
'हामीले मन्दिर छुट्टै हुने भए सिडिओ पनि छुट्टै बनाऊँ न त भनेर जवाफ दियौं। तपाईंलाई नै किन साझा सिडिओ मान्ने भनेर प्रश्न गर्यौं,' विश्वकर्माले भने।
त्यसपछि संघर्ष समिति ५०/६० जनाको र्याली लिएर मन्दिर प्रवेश गर्न गएको थियो।
मन्दिर प्रवेशपछि दलितमाथि ढुंगामुढा भयो। दलित समुदायका मान्छेले गैरदलितहरूको कुटाइ खाए। दलित अगुवाहरू कोही पिपल्ला, कोही डडेल्धुरा पुगी लुकेर बसेको विश्वकर्माले बताए।
'त्यसपछि २५ जिल्लामा आन्दोलन भयो। काठमाडौंमा सिंहदरबार घेराउ गरियो। दबाबपछि स्थानीय प्रशासनले मन्दिर सबैका लागि खुला गर्न सहमति जनाएको थियो,' विश्वकर्माले भने।
यसरी पहिलोपटक टिकाराम पार्कीले सुरू गरेको मन्दिर प्रवेशको संघर्षले झन्डै पचास वर्षपछि सफलता पायो। अहिले स्थानीय दलित समुदायले पनि मन्दिरमा बोका काट्ने, पूजा गर्ने परम्परा सुरू भएको छ। पहिले पहिले गैरदलितहरूले भित्र गएर मूर्ति छोएरै पूजा गर्थे। दलित प्रवेशपछि भने कसैले पनि मूर्ति छुन नपाउने विश्वकर्मा बताउँछन्।
संघर्ष कार्यक्रमअन्तर्गत त्यसै बेला सुदूपश्चिमका ३२ मन्दिरमा दलितहरूले प्रवेश गरेका थिए।
शैलेश्वरी मन्दिर प्रवेशको संघर्षले यतिसम्म उपलब्धि दिए पनि दलितहरूले सहजै मन्दिर प्रवेश पाउनुपर्ने भन्दै कानुनी व्यवस्था गरिदिन अदालतमा मुद्दासमेत हालिएको विश्वर्माले बताए।
'अदालतले मन्दिर साझा हो, सबैले प्रवेश पाउनुपर्छ भन्यो। यसलाई कानुन बनाउनुपर्छ भनेर हामी लागिरह्यौं,' उनले भने।
मन्दिर प्रवेश अभियानलाई सिंहदरबार प्रवेशको अभियान बनाएका दलित अगुवाहरू अहिले विभिन्न राजनीतिक पार्टीका माध्यमबाट नीति निर्माण तहमा पुग्ने लक्ष्यमा छन्।
'अब राज्यको कानुनमा जातीय विभेद अन्त्य हुने गरी प्रस्ट कानुनी व्यवस्था गर्ने ठाउँमा पुग्ने अभियानमा छौं,' विश्वकर्माले भने ।
दलितहरूले पचास वर्ष लामो संघर्ष गरेर डोटीको शैलेश्वरी मन्दिर प्रवेश गर्न पाए। तर, अहिले पनि उनीहरू मूर्ति भएको मुख्य शक्तिपिठ नजिक जान पाउँदैनन्। केही गैरदलितहरू भने मौका छोपेर मूर्तिसम्मै पुगेर पूजा गर्छन्। सर्वसाधारण गैरदलित र दलितलाई मन्दिरभित्र मूर्ति वरिपरि बनाइएको रेलिङसम्म जान मिल्छ। त्यहीँबाट पुजारीले पूजाका थाली, सामग्री लिएर मूर्तिमा चढाइदिन्छन्।
तर अझै पनि छुवाछुत पूर्ण रूपमा वर्जित छैन। दिपायल सिलगढी नगरपालिका–६ की वडा सदस्य शशि सोबले चिनेका दलित मन्दिरमा प्रवेश गरे गैरदलितले घुरेर हेर्ने, केहीलाई त परै बस भन्ने गरेको बताइन्।
'हामी राजनीतिमा लागेका, पढे-लेखेकालाई त कसैले केही भन्दैनन्, तर गाउँका साधारण दलितलाई भने हेरिराख्ने, केहीलाई परै बस भन्ने गरेको अवस्था छ,' उनले भनिन्।
दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नरबहादुर विश्वकर्माले अहिले पनि मन्दिरमा सहज रूपमा दलितले जाने वातावरण नरहेको बताए।
'अहिले पनि टाढाबाट दर्शन गर्न, पूजा चढाउन पाइन्छ, मूर्ति नजिक जान पाइँदैन,' उनले भने, 'मन्दिर मात्र होइन, हाम्रो माग त गैरदलितको घरमा पनि हामीमाथि छुवाछुत हुन हुँदैन भन्ने हो। हाम्रो मागअनुसार नै अहिले कानुन बनेको छ। यो कानुन कार्यान्वयन गर्न राज्य गम्भीर भएर लाग्नुपर्यो।'
२०५७ सालमा शैलेश्वरी मन्दिर प्रवेशको योजना बनाउने ढुंगानाले पनि आजको दुनियाँमा जातका आधारमा छुवाछुत हुनु लज्जाको विषय भएको बताए।
'छुवाछुतलाई दण्डनीय अपराध भनेर २०६८ सालमा कानुन पनि आएको छ। तर दलितको अवस्था अहिले पनि सन्तोषजनक छैन,' उनले भने, 'कानुन मात्र आएर भएन, यसको कार्यान्वयन गर्न सरकार र राजनीतिक दलले अभियान नै चलाउनुपर्यो। दलित उत्थानको अभियान चलाउनुपर्छ भन्ने मलाई लाग्छ।'
मन्दिर प्रवेशको त्यो घटनापछि त्यस्तै अरू कार्यक्रममा आफू संलग्न नभएकोमा ढुंगानालाई अहिले पछुतो लाग्छ।
'त्यसपछि पनि अरू ठाउँमा मैले दलितहरूलाई सहयोग गर्नुपर्थ्यो। गरिनछु। मलाई त्यस्तो काम छोड्न हुने रहेनछ भन्ने लागेको छ,' उनले भने।