नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका नेताहरू माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका छन्।
आयोगमा बुधबार माओवादीको दल दर्ता खारेजीको निवेदन परेको थियो। त्यसको दुई दिनमा शुक्रबार पूर्वमाओवादीका नेताहरू मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी आयोगमा पुगे।
नेता मणि थापाले सेतोपाटीसँगको कुराकानीमा आफूहरू आयोगमा पुग्नु पर्नाका कारण खोलेका छन्।
‘नेपालका पार्टीहरूले समयमै महाधिवेशन गरेनन्। त्यसमा पनि माओवादी केन्द्रले विगत ९ वर्षदेखि महाधिवेशन गरेको छैन,’ थापा भन्छन्, ‘पार्टीहरू अस्थिर भए। संक्रमणकालमै छन्। समयमै महाधिवेशन नगर्ने र आयोगमा अद्यावधिक छैनन्।’
उनले यस्तो हुनमा निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। ‘निर्वाचन आयोगले समयमै अद्यावधिक गर्नुपर्यो,’ उनले भने, ‘पार्टीलाई महाधिवेशन गर्न तदारूकता देखाउन भन्नुपर्यो।’
महाधिवेशन नहुने समस्या माओवादीमा मात्र नभई एमाले र कांग्रेसमा पनि छ।
‘सबै पार्टीमा यस्ताखाले समस्या छन्। केन्द्रीय कमिटीहरू अद्यावधिक गरे पनि आयोगमा जानकारी गराइएका छैनन्। माओवादी केन्द्रले त ९ वर्षदेखि महाधिवेशन गरेको छैन र केन्द्रीय कमिटीबारे आयोगमा अद्यावधिक पनि गराएको छैन,’ उनले भने।
सबै पार्टीमा प्रजातान्त्रिक अभ्यास हुनुपर्छ भन्नेमा आफूहरू रहेको उनी बताउँछन्। माओवादीले लामो समयदेखि महाधिवेशन नगरेकोले उक्त पार्टी वैधानिक नभएको तर्क उनीहरूको छ।
‘माओवादीले महाधिवेशन गरेको छैन। आयोगमा केन्द्रीय कमिटीको विवरण पनि जानकारी गराइएको छैन। यस्तो पार्टीले सांसदहरूलाई कारबाही गर्न मिल्छ र?,’ उनले भने।
माओवादी छाडेर एमाले गएका सांसदहरूलाई माओवादीले कारबाही गर्दै सांसदबाट निकालेको थियो। अद्यावधिक नभएका पार्टीलाई आयोगले पनि कदम चाल्नुपर्ने भएकोले सचेत गराइएको उनको भनाइ छ।
माओवादी छाडेर एमालेमा क्रियाशील रामबहादुर थापा बादल निकटका नेताहरूले संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेको भन्दै आयोगमा निवेदन दिएका थिए।
उक्त निवेदनबारे आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सचिवालयमा छलफल हुने बताएका थिए।