नेपाली कांग्रेस नेतृत्वको गण्डकी सरकार भ्रष्टाचारको अभियानबाट सुरू भएको पूर्वमुख्यमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरूङले आरोप लगाएका छन्।
सरकारले कार्यकर्ता पोस्न १६ करोड रूपैयाँ गैरबजेटरी विनियोजन गरेर १० दिनमा सक्न खोजेको भन्दै उनले नीतिगत भ्रष्टाचारको सुरूआत भएको टिप्पणी गरे।
गण्डकी सरकारले रातो किताबमा उल्लेख नरहेका डेढ सय योजनामा असार दोस्रो साता बजेट विनियोजन गरेको थियो।
‘योजनामा बजेट विनियोजन गरेर मात्र हुँदैन, टेण्डर गर्नुपर्यो, नभए उपभोक्ता समिति गठन गर्नुपर्ने होला’, गुरूङले भने, ‘१० दिनमा यो सम्भव हुँदैन, जिल्लाका सभापति बोलाएर जथाभावी विनियोजन गरेका हुन्।’
गण्डकीमा सरकार फेरिएपछि आर्थिक वर्ष सकिन १० दिन मात्र बाँकी छँदा गठबन्धन सरकारका सांसदहरूका मागका आधारमा गैरबजेटरी विनियोजन गरेको समाचार सेतोपाटीले प्रकाशन गरेको थियो। त्यसपश्चात सरकारका प्रवक्ता एवं सामाजिक विकास मन्त्री कुमार खड्काले सरकार छाड्ने बेला गुरूङ नेतृत्वको सरकारले साढे ४ अर्बको ठेक्का लगाएको आरोप लगाएका थिए।
एमाले संसदीय दलका नेता गुरूङले मन्त्री खड्काले लगाएको आरोप मिथ्या भएको दाबी गरे।
मन्त्री खड्काले देखाएका १० वटा योजना सरकारको रातो किताबमा भएको र नियमित रूपमा बजेट विनियाोजन गर्दै आएको दाबी गर्दै गुरूङले चैतमै ती योजनाहरू टेण्डरमा गएको बताए।
‘नेपाल सरकारले दिने समपुरक अनुदानबाट आधा–आधा खर्च व्यहोर्ने गरी ती १० वटा योजना अघि बढाएका हौं,’ गुरूङले भने, ‘यी योजना अघि बढेन भने नेपाल सरकारबाट आउने समपूरक अनुदान पनि काटिन्छ।’
सरकारसँग सम्झौता भएर स्रोत सुनिश्चित गरेरमात्र ठेक्का प्रक्रिया अघि बढाएको उनले बताए।
सरकारले भ्रष्टाचारको सुरूवात गरेको भन्दै त्यसलाई ढाकछोप गर्न झ्याली पिटेको गुरूङले आरोप लगाए।
गण्डकी सरकारले यसअघि पञ्चबर्षीय योजना, मध्यकालीन योजना र दिगो विकासका लक्ष्यलाई ध्यान दिएर विकासका अभियान अघि बढाएको भन्दै त्यसलाई तलमाथि गर्न नदिने उनले बताए।
नेकपा एमाले गण्डकी संसदीय दलको कार्यालयमा पत्रकार भेटघाटमा बोल्दै नेता गुरूङले सरकारमा जोसुकै आए पनि अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्ने बताए।
‘पृथ्वीसुब्बा गुरूङको सरकार होस् कि कृष्णचन्द्र नेपालीको सरकार ठूलो कुरा होइन, प्रदेशको कुरा छ’, उनले भने, ‘अघिल्ला सरकारले गरेका राम्रा काम अघि बढाउनुपर्छ।’
प्रदेश सरकारले अघि बढाएको एक घर एक धारा, उज्यालो प्रदेश, निर्वाचन क्षेत्र सडक लगायतका योजना अघि नबढे आफूहरू चुप लागेर नबस्ने उनले चेतावनी दिए।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले असार १ गते संसदमा बजेट पेश गरेपछि अहिलेसम्म छलफल हुन सकेको छैन।
बजेटमाथि छलफल गर्न सरकारले भोलि आइतबार संसद बैठक बोलाएको छ। सरकारले ल्याउने रातो किताब हेरेर बजेटमाथि समर्थन वा विरोधको नीति लिने गुरूङले बताए।
कांग्रेस नेतृत्वमा सरकार बन्दा नेपालमा धेरै भ्रष्टाचार भएको भन्दै उनले फेरि त्यही युग ल्याउन खोजेको आरोप लगाए।
उनले भने, ‘१५ सालमा सरकार चलाउँदादेखि उहाँहरूको बानी बसेको छ। २०४८ देखि २०५९ सालसम्म नेपालमा भ्रष्टाचारको युग थियो। फेरि भ्रष्टाचारको त्यही युग ल्याउने हो भने यस्ता काम गर्नुहोला।’
आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट र आवधिक योजनाहरू कांग्रेससहित दलहरूको सहमतिमा ल्याएको भन्दै उनले उक्त योजनाहरूले निरन्तरता पाए राजीखुसीले स्वागत गर्ने बताए।
गण्डकी सरकारले ल्याएका राम्रा योजना अरू प्रदेश र संघीय सरकारले पनि पछि अनुकरण गरेको भन्दै उनले ती योजनाले निरन्तरता नपाए कठोर रूपमा उभिने चेतावनी दिए।
‘गण्डकीमा रहेका ६० जना सांसदमध्ये एमालेका २७ जनाको ‘डल्लो’ एकै ठाउँमा रहेको बसेको छ भन्ने सरकारले बुझ्नुपर्छ,’ उनले भने, ‘सुशासनका लागि कुनै कसर राख्दैनौं, कुनै तलमाथि हुन दिँदैनौं।’
प्रदेश सरकारले अहिले अनेक दाउ हेरिरहेको समेत उनले दाबी गरे।
‘विश्वासको मत लिन एउटा दलसँग गरेको सहमतिमा मत पाएपछि धोका दिए’, उनले भने, ‘अब दोस्रो ठूलो दललाई पनि बजेट पास भएपछि धोका दिनेछन्।’
प्रदेश सरकारले विश्वासको मत लिन लाग्दा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनता समाजवादी पार्टीलाई अर्थ मन्त्रालय दिने समझदारी गरेको थियो। विश्वासको मत लिएपछि अर्थ मन्त्रालय जसपालाई नसक्ने बताएको थियो। अब सरकारका दोस्रो ठूलो दल माओवादी केन्द्रलाई पनि धोका हुनसक्ने गुरूङले संकेत गरेका हुन्।
मन्त्रिपरिषद विस्तारमा भइरहेको ढिलाइप्रति संकेत गर्दै उनले मुख्यमन्त्री कहाँ छन् कतै नदेखिएको उनले टिप्पणी गरे।
उनले भने, ‘अँध्यारो कोठामा बसेर एउटा व्यक्तिले शासन चलाइरहेका छन्। कुखुराको बानी रछ्यानको फोहोर खोस्रने हुन्छ। बाजको बानी माथिबाट हेर्छ दुरदर्शी हुन्छ। उहाँहरू कुखुराले झैं रछ्यान खोस्रनुभएको छ।’