प्राध्यापक डा. मोहनचन्द्र रेग्मी २०७७ साउन ४ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार नियुक्त हुँदा उपकुलपति डा. ज्ञानेन्द्र गिरी औधि खुसी थिए।
रेग्मीलाई दुबोको माला पहिर्याइदिएर रजिष्ट्रारको कुर्सीमा स्वागत गर्दै डा. गिरीले भनेका थिए, 'उहाँजस्तो डाइनामिक मान्छेलाई रजिष्ट्रारका रूपमा पाउँदा म ज्यादै खुसी छु।'
तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमक्ष रेग्मीको पक्षमा 'लबिङ' गर्न गिरी स्वयं लागेका थिए। तर आफैंले भनेको मान्छे रजिष्ट्रार नियुक्त हुँदाको खुसी उपकुलपति गिरीले लामो समय साँच्न पाएनन्।
करिब चार महिना मिलेरै काम गरेका यी दुईबीच जब जिम्मेवारी बाँडफाँटको कुरा आयो, मनमुटाव सुरू हुन थाल्यो। खासगरी गिरीले प्रतिष्ठानका सबै आर्थिक अधिकार आफैंमा केन्द्रित गरेपछि रेग्मी बिच्किएका थिए।
बिपी प्रतिष्ठानमै कार्यरत उच्च अधिकारीहरूका अनुसार रेग्मीले उपकुलपति गिरीसँग आफूलाई केही आर्थिक अधिकार हुनुपर्ने माग गरेका थिए। उपकुलपति गिरी भने आर्थिक अधिकार कसैसँग भागबन्डा गर्न चाहन्थेनन्।
यसले दुईबीचको सम्बन्ध तिक्ततापूर्ण बन्दै गयो। उनीहरू खुलेरै एकअर्काविरूद्ध उभिए।
'करिब चार महिना राम्रो ट्युनिङ थियो,' बिपी प्रतिष्ठानका एक उच्च अधिकारी भन्छन्, 'जब रेग्मीले आर्थिक अधिकार माग गरे, दुई जनाको सम्बन्ध बिग्रियो। उपकुलपति सबै अधिकार आफैंमा केन्द्रित गर्न चाहन्थे।'
आर्थिक अनियमितता र भ्रष्टाचारको आरोप खेप्दै आएका प्रतिष्ठानका पदाधिकारीबीच 'आर्थिक लेनदेन' नै आपसी कटुताको कारक बनेको बिपी प्रतिष्ठानका चिकित्सकहरूको भनाइ छ।
उपकुलपति गिरी र रजिष्ट्रार रेग्मीबीच सम्बन्धमा आएको दरारले पछिल्लो समय बिपी प्रतिष्ठानको अनियमितता शृंखला बाहिर आएको हो।
एकअर्काविरूद्ध पोल खोल्ने क्रम उपकुलपति गिरीले सुरू गरेका थिए। उनले यो काममा आफ्ना प्रशासनिक सल्लाहकार दिलीप भट्टराईलाई प्रयोग गरे।
को हुन् भट्टराई?
दिलीप भट्टराई तिनै व्यक्ति हुन् जसले पछिल्लो समय उपकुलपति गिरीको सहमतिमा रजिष्ट्रार रेग्मीलाई विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा लेख्दै आएका छन्।
अर्घाखाँचीका भट्टराई एमाले अखिलका केन्द्रीय सदस्य थिए। अहिले दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको सल्लाहकार छन्। उनी २०७७ वैशाख २८ देखि कात्तिक अन्तिमसम्म बिपी प्रतिष्ठानमा उपकुलपति डा. गिरीका प्रशासनिक सल्लाहकार थिए।
उनले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दबाबका कारण बिपी प्रतिष्ठान छाड्नुपरेको बताउँदै आएका छन्।
जागिर छाड्नेबित्तिकै उनले 'रेग्मीले रजिष्ट्रार बन्न सात करोड रूपैयाँ मन्त्री ढकाललाई बुझाएको' आरोप लगाएका थिए।
सामाजिक सञ्जाल फेसबुकमा उनले 'तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा मोहनचन्द्र रेग्मीलाई नियुक्त गर्न करिब ७ करोड रूपैयाँ लिएको' लेखेका थिए।
उक्त रकम 'कुनै कम्पनीले बेहोरेको र विभिन्न शक्तिकेन्द्रलाई दिइएको' भन्दै उनले 'अमुक स्वास्थ्य सामग्री आयात गर्ने कम्पनीका सामानहरू किन्नुपर्ने सर्त राखेर त्यो रकम मन्त्रीसम्म पुर्याइएको' बताएका थिए। (हेर्नुहोस् स्क्रिनसट)
उनले रेग्मीलाई आरोप लगाउँदै '(स्वास्थ्य) मन्त्रीको श्रीमतीबाट मन्त्रीलाई प्रेसर गर्ने, रक्सी व्यापारीबाट उपकुलपति, रजिष्ट्रार छनौट कार्यदललाई दबाब दिने, आर्थिक प्रलोभनसमेत अफर गर्ने, सम्माननीय प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिहरूलाई श्रीमतीमार्फत् र उनीसमेत संलग्न व्यापारलाई बिपी प्रतिष्ठानमा ठाउँ दिने बाचा गरेको' फेसबुकमा लेखेका छन्। (हेर्नुहोस् स्क्रिनसट)
रजिष्ट्रार रेग्मीले यस्तो आरोपको सार्वजनिक रूपमा खण्डन गर्दै आएका छन्। भट्टराईको आरोपलाई हावादारी बताउँदै उनले कानुनी कारबाहीको चेतावनी पनि दिएका थिए।
यस्तो चेतावनीपछि भट्टराईले आफू र रेग्मीबीच भएको एउटा लिखित कुराकानी सार्वजनिक गरिदिएका छन्।
रजिष्ट्रार नियुक्तिका लागि कुरा गर्न उपकुलपति गिरी बालुवाटार गएका बेला रेग्मी र भट्टराईबीच ह्वाटसएपमा भएको कुराकानीको स्क्रिनसट सेतोपाटीले फेला पारेको छ। त्यसमा रेग्मी र भट्टराईबीच केही प्रश्नोत्तर भएका छन्।
रेग्मीले प्रयोग गर्ने नेपाल टेलिकम कोशीको पोस्टपेड नम्बरबाट भएको उक्त कुराकानीमा उनले आफूलाई भर्खरै बालुवाटारबाट उपकुलपतिले फोन गरेको र रजिष्ट्रारमा आफ्नो सम्भावना धेरै भएको बताएका छन्।
उपकुलपतिले आफ्नो र पन्जियारको मात्र नाम सिफारिस गरेको पनि उनले भट्टराईलाई जानकारी दिएका छन्।
त्यस क्रममा भट्टराईले रेग्मीलाई सोधेका छन्, 'तपाईंको बालुवाटारसम्मको पहुँच के छ?'
जवाफमा रेग्मीले तत्कालीन स्वास्थ्यमन्त्री ढकालकी पत्नी इन्दिरा फुयालको नाम लिएका छन्। फुयालले आफूलाई भर्खरै फोन गरेको पनि रेग्मीले उक्त कुराकानीमा बताएका छन्। (हेर्नुहोस् उक्त कुराकानीको स्क्रिनसट)
बिपीका चिकित्सकहरूका अनुसार रेग्मीलाई रजिष्ट्रार बनाउँदा अखिलका पूर्वनेता भट्टराईले पनि बालुवाटारमा आफ्नो पार्टीको सम्बन्ध प्रयोग गरेका थिए। उपकुलपतिकै इच्छाबमोजिम उनी लागेका थिए।
आफ्नो नियुक्तिकै पक्षमा काम गरिरहेका कारण रेग्मीले पनि भट्टराईसँग खुलेरै कुरा गरेको देखिन्छ। त्यसैले नियुक्तिको केही महिनासम्म उनीहरूबीच दरार आएन।
आर्थिक कारणले बिग्रेको सम्बन्ध
उपकुलपतिले आफ्नोभन्दा भट्टराईको कुरा बढी सुनेको र आफूलाई आर्थिक अधिकार केही नदिएको भन्दै रजिष्ट्रार रेग्मीले आफू वा भट्टराईमध्ये एक जना रोज्न उपकुलपतिलाई चेतावनी दिएका थिए।
'त्यस क्रममा उपकुलपतिले भट्टराईलाई विदा गरेर रेग्मीलाई साथ लिने प्रयास गरेका थिए तर त्यो सम्भव भएन,' बिपी प्रतिष्ठान स्रोतले भन्यो, 'एचडियू खरिदमा उपकुलपति हाबी भएपछि रेग्मी चिढिए।'
स्रोतका अनुसार रजिष्ट्रार रेग्मी प्रतिष्ठानको एचडियूका सामान खरिदको जिम्मा आफूनिकट व्यापारिक फर्मलाई दिन चाहन्थे। उपकुलपति गिरी भने धरानकै चेतन अग्रवालको फर्मलाई दिन चाहन्थे। गएको जेठमा भएको उक्त खरिद प्रकरणमा उपकुलपति जे चाहन्थे त्यही भयो। खरिदको जिम्मा अग्रवालले नै पाए।
यो निर्णयबाट चिढिएका रेग्मीले सञ्चारमाध्यमलाई फोन गरेर 'उपकुलपतिले आफ्नो स्वार्थमा प्रक्रिया मिचेर स्वास्थ्य सामग्री खरिद गरेको' आरोप लगाएका छन्। (रेग्मीले एक सञ्चारकर्मीसँग गरेको संवादको अडिओ सुन्नुहोस्)
एचडियूका सामान खरिद क्रममा चेतन अग्रवालको फर्मले प्रतिस्पर्धीको दाँजोमा केही सामानको मूल्य कम र केहीको बढी प्रस्ताव गरेका थिए। बढी मूल्य प्रस्ताव गरिएका सामानको हकमा पनि नियमविपरीत चेतन अग्रवालकै फर्मबाट खरिद गरिएको रेग्मीले बताएका छन्। उक्त फर्मलाई कालोसूचीमा राख्न प्रस्ताव गर्दा पनि नराखिएको उनले उल्लेख गरेका छन्।
भट्टराईले भने रजिष्ट्रार नियुक्त हुनुअघि र पछि रेग्मीमा आफूले ठूलो अन्तर देखेको बताएका छन्।
'उपकुलपति केही गर्न भनेर अझै प्रयासरत हुनुहुन्छ,' भट्टराईले सेतोपाटीसँग भने, 'तर रजिष्ट्रारसहितको एउटा टिमले उहाँलाई पूरै असहयोग गरेको छ।'
गएको असार १५ गते प्रतिष्ठानमा भएको उपकुलपतिको मदिराकाण्ड बाहिर ल्याउन पनि रजिष्ट्रार रेग्मीले नै भूमिका खेलेको आन्दोलनकारीहरूले बताएका थिए।
'उहाँहरूबीच एकअर्कालाई खुइल्याउने होड थियो,' एक आन्दोलनकारी चिकित्सकले भने, 'त्यही भएर उहाँ मदिरामा लठ्ठ भए पनि हामीलाई वार्तामा बोलाइयो। वार्ता सुरू नै नभई भाँडियो।'
त्यस दिन आन्दोलनकारीहरूमध्ये केहीलाई उपकुलपतिले मदिरा सेवन गरेको रेग्मीले जानकारी दिएका थिए।
पदाधिकारीहरूको राजीनामा मागपछि गिरी र रेग्मी एकै ठाउँ
एकअर्काका 'कर्तुत' सार्वजनिक गर्ने होडमा लागेका उपकुलपति गिरी र रजिष्ट्रार रेग्मी अहिले भने एकठाउँ उभिएका छन्।
प्रतिष्ठानमा जारी चिकित्सक, विद्यार्थी र कर्मचारी आन्दोलनले चारै जना पदाधिकारीको राजीनामालाई न्यूनतम माग बनाएपछि उपकुलपति र रजिष्ट्रार एकैठाउँ उभिन आइपुगेका हुन्। केही समयअघिसम्म एकअर्काविरूद्ध सूचना चुहाउँदै आएका उनीहरू अहिले एकअर्काको बचाउमा उभिन्छन्।
सबै पदाधिकारीको राजीनामा मागपछि रजिष्ट्रार रेग्मीले आफैं विज्ञप्ति जारी गरेर 'उपकुलपतिले मदिरा सेवन नगरेको' दाबी गरेका थिए।
आन्दोलनकारीहरू भन्छन्, 'हामीले सबै पदाधिकारीको राजीनामा मागेपछि उनीहरू एक भएका हुन्।'
यसबीच धरानमा आन्दोलनकारीले पदाधिकारीहरूको राजीनामा मागेपछि काठमाडौंमा पूर्वस्वास्थ्यमन्त्री ढकालले प्रधानमन्त्रीलाई 'मिलाउने' जिम्मा लिएको कुरा बाहिरिएको थियो।
'आन्दोलनकारी मिलाउने काममा तपाईंहरू लाग्नुहोस्,' एक सिनेट सदस्यले ढकालको भनाइ उद्धृत गर्दै सेतोपाटीसँग भनेका थिए, 'म प्रधानमन्त्रीसँग कुरा मिलाउँछु।'
ढकालको सक्रियताकै कारण प्रधानमन्त्रीले बिपी प्रतिष्ठानमा जारी आन्दोलनका माग बेवास्ता गरेको आन्दोलनकारी बताउँछन्।
'ढकालले उपकुलपतिदेखि रजिष्ट्रारसम्म आफूअनुकूल नियुक्त गर्दा अनेक आरोप लागेका थिए,' आन्दोलनकारी चिकित्सकहरू भन्छन्, 'अहिलेका गतिविधिले ती आरोप सत्य रहेको प्रमाणित हुँदैछ। कार्यकर्ता जोगाउन प्रधानमन्त्री बिपी प्रतिष्ठानका मुद्दा बेवास्ता गर्दैछन्।'
संयुक्त संघर्ष समितिका संयोजक एसपी रिमाल प्रतिष्ठानका पदाधिकारी संस्था सुधारमा भन्दा व्यक्तिगत शक्ति आर्जनमा लागेको बताउँछन्।
'त्यसैले हामी यस्तो प्राज्ञिक संस्थामा दलीय प्रभावबाट होइन, प्राज्ञिक आधार र क्षमतामा पदाधिकारी नियुक्त हुनुपर्ने माग लिएर आन्दोलनमा छौं,' रिमालले भने, 'हामी बिना उपलब्धि आन्दोलन छाड्नेवाला छैनौं। यो आउँदो पुस्ताको हितको लडाइँ हो।'
यी पनि हेर्नुहोस्ः