सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा एघार दिन बहस सुनेर १६७ पृष्ठ लामो फैसला गरेको छ।
प्रतिनिधिसभा पुर्स्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने उक्त फैसला न्यायाधीश ईश्वर खतिवडाले लेखेका हुन्।
फैसला मस्यौदा गरेको उनैले भए पनि यसको विषयवस्तुमा भने अरू सबै न्यायाधीशको राय उत्तिकै महत्वपूर्ण हुन्छ। उनले लेखेको भएर फैसलाको अन्त्यमा उनको हस्ताक्षर सबभन्दा पहिले छ। त्यसपछि संवैधानिक इजलासका अरू न्यायाधीश आनन्दमोहन भट्टराई, दीपककुमार कार्की, मिरा खड्का र अन्त्यमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको हस्ताक्षर छ।
मस्यौदा गर्ने न्यायाधीश खतिवडाले नै सोमबार इजलासमा फैसला पढेर सुनाएका थिए। अहिले सर्वोच्चमा बहाल मध्ये राम्रो फैसला लेख्ने न्यायाधीशमा उनको नाम अग्रपंक्तिमा आउँछ। उनले लेख्ने फैसलाहरूको न्यायक्षेत्रमा तारिफ हुने गरेको छ।
आजको फैसलालाई वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले 'ल्यान्डमार्क' फैसला भनेका छन्।
फैसला आएपछि सर्वोच्च अदालत परिसरमा भेटिएका कार्कीले सेतोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'आजको फैसला ल्यान्डमार्क फैसला हो।'
यो पनि पढ्नुस्: